बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारण सभा

बुटवल उद्योग वाणिज्य संघको ७१ औं वार्षिक साधारण सभा

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

बुटवल -सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दावी गर्नुभएको छ । उहाँले वर्तमान सरकार बनेसंगै नागरिकमा आशाको सञ्चार भएको पनि बताउनुभयो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१ औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजश्व परिचालन, पुँजीगत खर्च लगायतका आर्थिक ईण्डिकेटरहरु सकारात्मक देखिएको बताउनु भएको हो । मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसदका दुई ठूला दलहरु काँग्रेस र एमाले एक ठाउँमा आएको बताउनु भयो ।
उहाँले दुई दल बिचको सत्ता सहकार्यले आम नागरिकमा आशाको सञ्चार गरेको पनि भनाई राख्नुभयो । स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारा सहित बनेको यो सरकार संसदको बाँकी अवधिको पुरा कार्यकाल जाने पनि दावी गर्नुभयो । उहाँले बुटवल पूर्वपश्चिम र उत्तर दक्षिणको समेत ट्रान्जिक्ट भएकाले राम्रो सम्भावना रहेको दावी गर्नुभयो । उहाँले यहाँका उद्योगी व्यवसायीलाई तत्कालै केही भएन भनेर मन साँघुरो नबनाउन समेत आग्रह गर्नुभयो ।
मन्त्री पौडेलले राष्ट्रिय अभिभार पुरा गर्न र आफू निर्वाचित भएको क्षेत्रको विकास र समृद्धिका लागि समेत आफू प्रतिवद्ध रहेको बताउँदै निर्माणाधिन बुटवल–नारायणगढ सडक चाडो पुरा हुने विश्वास व्यक्त गर्नुभयो । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–पाल्पा सडकको सिद्धबाबामा निर्माण हुँदै गरेको सुरुङमार्ग छिटै ब्रेक थ्रु हुने बताउँदै पूर्वपश्चिम राजमार्गको तिनाउमा सिग्नेचर ब्रिज, बुटवल–दाङ सडकको स्तरोन्नती, बुटवलको चौराहा गोलपार्क सडकको निर्माण पुरा हुँदा बुटवलको रौनक अर्कै हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत गर्दै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले शिलान्यास भएर रोकिएको मोतिपुर औद्योगिक क्षेत्रको निर्माण कार्यलाई अगाडी बढाउन, खुला सिमाका कारण नेपाली उद्योगी व्यवसायीलाई मार पर्नुको साथै राजश्वमा समेत प्रत्यक्ष प्रभाव गरेको बताउँदै सिमा नाकालाई व्यवस्थित र कडाई गराउन माग गर्नुभयो । त्यसैगरी विमाको दावी भुक्तानीमा समस्या रहेको बताउँदै सहज भुक्तानीको वातावरण बनाईदिन समेत उहाँले मन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसावले सात प्रदेश मध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताउनु भएको छ । उहाँले मुलुकमा नीतिगत स्थायित्व नभएका कारण लगानीकर्तामा कन्फिडेन्स विल्डप नभएको पनि बताउनु भयो । ‘नीतिगत स्थायित्व भएन भने कन्फिडेन्स विल्डप गर्न सकिँदैन ।’ उहाँले भन्नुभयो–‘अहिले नीतिगत अस्थिरता छ, म अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, अर्थमन्त्रीका रुपमा तपाईलाई पाएपछि केही भएपनि आशा जाग्रित भएको छ, लगानीकर्तालाई कन्फिडेन्स विल्डप गराउनु होला ।’
सरकार र नीजि क्षेत्रको सहकार्यमा भएका लगानी सम्मेलनपछि लगानी डिस्करेज गरेका आठवटा कानुन सुधार भएको बताउँदै उहाँले लगानी निरुत्साहित गरेका अझै धेरै कानुन सुधार गर्न आवश्यक रहेकाले त्यसमा ध्यान दिन पनि मन्त्री पौडेललाई आग्रह गर्नुभयो । पछिल्लो वर्ष नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनुपर्नेमा त्यसको उल्टो भाष्य बनेको बताउनुभयो । नेपालमा लगानीको सम्भावना छ भनेर सन्देश दिनको लागि नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा ‘नेपाल पब्लिक एण्ड डेभलपमेन्ट आयोजना सञ्चालन गरिएको जानकारी गराउनु भयो ।
त्यसैगरी बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाले यो वर्ष विशेष गरेर बुटवलमा रात्रीकालिन बजार सञ्चालन, मोतिपुर औद्योगिक क्षेत्र निर्माण र समेलारमा यस क्षेत्रकै ठूलो कृषि उपज केन्द्र स्थापनालाई विशेष प्राथमिकता दिईएको जानकारी गराउनु भयो । उहाँले बुटवललाई पर्यटकीय विश्रामस्थलको रुपमा विकास गर्ने र भारतीय पर्यटकलाई बुटवल हुँदै मुक्तिनाथ पु¥याउनको लागि बुटवल–मुक्तिनाथ, बुटवल–गोरखपुर रुटको विकास गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले आगलागिको घटनाहरुबाट धेरै पाठ सिकाएको बताउँदै सुविधा सम्पन्न दमकलको आवश्यकता महसुस गरिएको बताउँदै त्यसको व्यवस्थापनको लागि अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभयो ।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका पूर्वअध्यक्ष ज्ञानेन्द्र कसजू, वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायतले यस क्षेत्रका आर्थिक तथा व्यवसायिक समस्या औल्याउँदै समाधानका लागि पहल गरिदिन अर्थमन्त्री पौडेललाई आग्रह गर्नुभएको थियो । त्यसै अवसरमा सहयोगी संघसंस्था तथा उद्योगी व्यवसायीलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : सोमबार, भाद्र ३१ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij