लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

लुम्बिनीमा पर्यटकलाई स्वागत गरी मनाइयो पर्यटन दिवस

विश्व पर्यटन दिवसमा अवसरमा शुक्रबार बुद्धजन्मस्थल लुम्बिनीमा पर्यटकलाई स्वागत गरिएको छ । लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले पर्यटकलाई खादा र नेपाली ढाका टोपी लगाइदिएर स्वागत गरेका हुन् । जापनीज नागरिक यूकु शान, भारतीय विद्या बाग्दी र सुनिल बाग्दीलाई स्वागत गरिएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले लुम्बिनी देशकै गौरव भएकाले यसको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार साथमा रहने प्रतिबद्धता जनाए । उनले लुम्बिनी विकास कोषसँग मिलेर अगाडि बढने गरी योजना बनाउने समेत बताए ।

यस्तै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमे) ले ३६५ दिन नै पर्यटकहरुलाई स्वागत सत्कार गर्ने वातावरण बनाउनुपर्ने बताए । उनले विदेशीसँगै स्वदेशी पर्यटकहरुलाई समेत लुम्बिनी स्वागत गर्दै यसको प्रवद्र्धनमा सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले  बुद्धजन्मस्थल लुम्बिनी नेपालसँगै विश्वका बौद्ध सम्प्रदायको समेत आस्थाको केन्द्र भएकाले आफू आएपछि लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गरेको बताए ।

पर्यटन दिवस कार्यक्रममा लुम्बिनी होटल संघ नेपालका बरिष्ठ उपाध्यक्ष लिलामणि शर्माले लुम्बिनीको पर्यटनबाट देशलाई नै समृद्ध बनाउन सकिने बताए । उनले पर्यटन दिवससँगै लुम्बिनीमा पर्यटनहरुको आवागमन बृद्धि गर्ने कार्ययोजना ल्याउन पर्यटनमन्त्रीसँग आग्रह गरे ।

“पर्यटन र शान्ति“ भन्ने नारा सहित मनाइएको पर्यटन दिवसमा लुम्बिनीमा भने यात्रा, अध्यात्म र चिन्तन मार्फत शान्तिको प्रवर्द्धन गरौं नारा तय गरी मनाइएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए । निरन्तर वर्षात भएकाले शान्तिदीप स्थित थाई भिजिटर सेन्टरमा स्वागत गरिएको हो । कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, बरिष्ठ निर्देशक ज्ञानिन राई, सूचना अधिकारी राजन बस्नेत लगायतको उपस्थिती रहेको थियो । लुम्बिनीमा स्वागत गरिएका पर्यटकहरुलाई लुम्बिनी होटल संघ नेपालले तिलौराकोट, रामग्राम लगायतका क्षेत्रमा एक दिन भ्रमण र बासको व्यवस्था गरेको अध्यक्ष गोविन्द ज्ञवालीले बताए ।

लुम्बिनी विकास कोषको आयोजनामा भएको कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी होटल एशोसियसन, लुम्बिनी पर्यटन व्यावसायी संघ, महामाया रिक्सा चालक संघ, लुम्बिनी स्थानीय पथ प्रदर्शक संघ, लुम्बिनी अन्तरराष्ट्रिय विहारहरुको सहभागिता रहेको थियो । लुम्बिनीमा सन् २०२४ को अगस्ट महिनासम्म आन्तरीक र बाह्य गरी ६ लाख १२ हजार ४७७ जना पर्यटकले भ्रमण गरेका छन् । अघिल्लो बर्ष करिव १० लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । यो वर्ष सिजन शुरु भएकाले पर्यटक संख्या बढ्ने अनुमान गरिएको छ । प्रत्येक वर्ष सेप्टेम्बर २७ तारिखका दिन विश्व पर्यटन दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : शुक्रबार, असोज ११ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij