बुटवल,
नेपाल मगर महिला संघ रुपन्देहीले यही मंसिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय भएको छ । महोत्सव मूल आयोजक समितिको सचिवालय बैठकले तयारीलाई तीव्रता दिन कार्यतालिका तय गरेको हो ।
सचिवालय सदस्य तथा प्रचार प्रसार समितिका संयोजक यम रानाका अनुसार मंसिर ५ गते प्यानल डिस्कशनको विषय छनोट तथा पात्रका बारेमा तयारी बैठक, ८ गते स्वयंसेवकका लागि अभिमुखीकरण, मंसिर १२ गते आयोजक समितिको पूर्ण बैठक तथा मंसिर १६ गते पत्रकार सम्मेलन लगायतका कार्यतालिका तय गरिएको हो ।
मगर समुदायको भाषा, साहित्य, इतिहास र परम्पराको संक्षणमा टेवा पुग्ने गरी आयोजना गरिने सम्मेलनमा कविता वाचन प्रतियोगिता, चित्रकला प्रदर्शनी, पुस्तक प्रदर्शनी, प्राचिन सामग्रीहरुको प्रदर्शन तथा विभिन्न विषयका कार्यपत्र प्रस्तुत गरिनुका साथै प्यानल डिस्कसनको आयोजना गरिने महोत्सव प्रचार समितिका संयोजक रानाले जानकारी दिए ।
देशभरका मगर साहित्यकार, कलाकार तथा फरक–फरक विधाका व्यक्तित्वहरुको सहभागीता रहने सम्मेलन आयोजनाका लागि १०१ सदस्यीय मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सफल बनाउन प्रवासमा रहेका नेपालीहरुलाई जोड्न १ दर्जन बढी देशहरुमा उप समिति गठन गरी तयारीलाई अघि बढाइएको प्रचार संयोजक रानाले जानकारी दिए ।
महोत्सवमा मगर समुदायले बोल्ने ढूट, खाम तथा काईके गरी ३ वटै भाषामा कविता वाचन प्रतियोगिता हुने महोत्सव मूल आयोजक समितिका प्रवक्ता शंकर गाहाले जानकारी दिए । उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीयलाई क्रमशः रु। १० हजार, रु। ५ हजार र रु। ३ हजार नगद राशीले सम्मान गरिने छ । त्यसै गरी सान्त्वना हुने दुई जनालाई पनि नगद पुरस्कारको व्यवस्था गरिनुका साथै सम्पूर्ण सहभागीलाई प्रोत्साहनस्वरुप नगद राशीले सम्मान गरिने गाहाले जानकारी दिए ।
सम्मेलनमा आदि कवि जितबहादुर सिंजाली मगर साहित्य पुरस्कार र गोरे बहादुर खपाङ्गी मगर सामाजिक पुरस्कार स्थापना गरी सम्मान गरिने महोत्सव मूल आयोजक समिति संयोजक तथा नेपाल मगर महिला संघ रुपन्देही अध्यक्ष निर्मला थापाले जानकारी दिइन् ।
सम्मेलन सम्पन्न गर्न २० लाख खर्च अनुमान गरिएको छ भने उक्त रकम दान दातव्य, मगर चलचित्र च्यारिटी शो, विदेशमा रहेका नेपालीहरुबाट सहयोग संकलन, क्यूआर कोटबाट न्यूनतम १० रुपैयाँ दान अभियान तथा स्थानीय सरकारसँग सहकार्य गरी संकलन गरिने थापाले जानकारी दिइन् ।
प्रकाशित मिति : सोमबार, मंसिर ३ २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्