चर्को प्रदर्शनबीच रास्वपा सभापति रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

चर्को प्रदर्शनबीच रास्वपा सभापति रवि लामिछानेलाई पर्सा पुर्‍याइयो

file

काठमाडौँ : सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि पर्सामा पुर्‍याइएको छ।

 

 

वीरगञ्जको सानो पाइला सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानका लागि आज लामिछानेलाई पोखराबाट हवाई उडानमार्फत पर्सामा पुर्‍याइएको हो।

प्रहरीले सभापति लामिछानेलाई आज पोखरा विमानस्थलबाट त्रिभुवन विमानस्थल काठमाडौँ हुँदै सिमरा विमानस्थलसम्म हवाई उडानमार्फत पुर्‍याइएको थियो।

पर्सा प्रहरीले लामिछानेलाई सिमराबाट भने सवारीसाधनमा राखेर पर्सा लगेको हो। गत मङ्सिर १९ गते पर्सा जिल्ला अदालतले सानो पाइला सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसहित १४ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको थियो। सो पक्राउ पुर्जीका आधारमा थप अनुसन्धानका लागि लामिछानेलाई पर्सा पुर्‍याइएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले आज बेलुकीपख लामिछानेलाई थप अनुसन्धानका लागि पर्सा ल्याइएको जानकारी दिए। उनले भने, “आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारी वकिलको कार्यालयमा बयानका लागि लैजाने छौँ।”

यसैबीचमा रास्वपाका सभापति लामिछानेलाई वीरगञ्ज ल्याउने क्रममा रास्वपाका कार्यकर्ताले सिमरा र वीरगञ्जमा विरोध प्रदर्शन गरेका थिए।

पर्सा प्रहरीले सानो पाइला सहकारी प्रकरणमा जोडिएका गोर्खा मिडिया तत्कालीन उपाध्यक्ष छविलाल जोशी र रामबहादुर खनाललाई स्थलमार्गबाट आइतवार मध्यरातमा पर्सा लगेको थियो।

सरकारी वकिलको कार्यालयमा आज  जोशी र खनालको बयान लिइएको थियो। पर्सा जिल्ला अदालतले गत मङ्सिर १९ गते रास्वपाका सभापति लामिछाने, गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसहित १४ जनालाई पक्राउ गरेर अनुसन्धान गर्नका जिल्ला प्रहरी कार्यालय पर्सालाई अनुमति दिएको थियो।

तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको समयमा सानो पाइला सहकारीबाट करिब आठ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ।

कास्की, रूपन्देही, काठमाडौँ र चितवन जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिएका उनीमाथि ती जिल्लामा बयान लिइसकिएको छ। उनी  हाल कास्की प्रहरी हिरासतमा छन्।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij