बुटवल औद्योगिक व्यापार मेला

सकियो बुटवलको औद्योगिक व्यापार मेला

सकियो बुटवलको औद्योगिक व्यापार मेला

४ लाख बढी दर्शकले अवलोकन गरेको र २५ करोड रुपैंया बराबरको कारोवार भएको आकलन

बुटवल-बुटवलमा सञ्चालित औद्योगिक व्यापार मेला सकिएको छ । ‘लगानी लुम्बिनीमा ः समृद्धि देशमा’ भन्ने नारा सहित बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा अन्तर्राष्ट्रिय प्रदर्शनीस्थल बुटवल मण्डपमा यहि पुसको ३ गतेदेखि सञ्चालन गरिएको औद्योगिक व्यापार मेला बिहिबार सकिएको हो ।
१६ दिनसम्म सञ्चालन गरिएको मेलामा ४ लाख भन्दा बढी दर्शकले अवलोकन गरेको र मेला भित्रका स्टलमा सरदर २५ करोड रुपैंया बराबरको कारोवार भएको आकलन गरिएको बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले जानकारी गराउनु भयो । ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने मुल नारा सहित आयोजना गरिएको मेलामा ५ सय स्टल सहभागि थिए ।
मेलाको समापन कार्यक्रममा बोल्दै पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले मुलुकको विकासको लागि औद्योगिक विकास र पलायन भईरहेको युवा जनशक्तिलाई स्वदेशमै रोक्ने गरी कार्यक्रम ल्याउन सरकारलाई आग्रह गर्नुभयो । उहाँले युवा जनशक्तिको पलायनसंगै सीप र दक्षता पनि पलायन भईरहेको बताउँदै युवा जनशक्तिलाई रोक्न सकिएन भने देश पछाडी पर्ने भएकाले विदेशमा जस्तै काम गर्दै पढ्दै गर्ने परम्परा विकास गर्नुपर्ने भनाई राख्नुभयो ।
बुटवलको मोतिपुर औद्योगिक क्षेत्र बुटवल उद्योग वाणिज्य संघको पहलमा अगाडि बढेको बताउँदै जतिसक्दो चाँडो निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । यसको निर्माणले यस क्षेत्रको औद्योगिक विकास र प्रदेशको आर्थिक राजधानी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यसैगरी प्रदेशको राजधानी सार्दा बुटवलाई आर्थिक राजधानी बनाउने प्रदेश सरकारको योजना योजनामै सिमित रहेको बताउँदै त्यस अनुसारका कार्यक्रम ल्याउन पनि प्रदेश सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशको राजधानी बुटवलमा राख्दा आफ्ना भौतिक पूर्वाधार सहयोग गरेको बुटवल उद्योग वाणिज्य संघको भवन राजधानी छोड्दा अस्तव्यस्त छाडेको कुराले आफूलाई दुःख लागेको बताउँदै उहाँले तत्कालै उक्त भवनको मर्मतसम्भारको भुक्तानी दिनका लागि पनि प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।
मेला समापन कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष उमाकान्त चपाई, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेय, मेला मुल्यांकन समितिका संयोजक, बुटवल उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझा, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, नेपाल चेम्बर अफ कमर्सका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पोखरेल, राष्ट्रिय वाणिज्य बैंकका गणेशप्रसाद पौडेल, संघका वरिष्ठ उपाध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक टंकप्रसाद गैरे, महासचिव तथा मेलाका सदस्य सचिव मुक्तिप्रसाद अधिकारी लगायतले मेलामा दर्शकको उत्साहपूर्ण सहभागिताले स्टल धनीहरुलाई सन्तुष्टी मिलेको बताउँदै यसले आयोजकलाई पनि आत्मसम्मान प्राप्त हुने भनाई राख्नुभएको थियो ।
२०४१ सालमा उपत्यका बाहिर पहिलो पटक बुटवलमा औद्योगिक प्रदर्शनी गरेको बुटवल उद्योग वाणिज्य संघले गरेको यो मेला २४ औं संस्करणको औद्योगिक व्यापार मेला हो । बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरुको खोजी गरी रोजगारीका अवसरहरु सिर्जना गर्न अझ परिस्कृत रुपमा मेला आयोजना गरिएको आयोजक बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरिप्रसाद अर्यालले बताउनु भयो । उहाँले सिथिल अर्थतन्त्रका कारण ठूलो चुनौतीका बिच गरिएको मेलाको सफलताले धेरै खुसी मिलेको भनाई राख्नुभयो ।
औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि, पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशष्ो महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलामा कृषि, सेवा, हस्तकला, ईलेक्ट्रिक एण्ड ईलेक्ट्रोनिक्स, व्यूटि, गार्मेन्ट, जुत्ता, एफएमसिजी (फूड एण्ड वेभरेज), अटोमोवाईल्स र होटलको छुट्टा छुट्टै १० वटा पेभिलिनमा ५ सय स्टल थिए ।
त्यसैगरी मेला अवधिमा छुट्टाछुट्टै शिर्षकमा दुईवटा गोष्ठि तथा सेमिनार गरिएको थियो । जीतगढी किल्लाको आकृतिमा निर्माण गरिएको स्टेज, स्टलको आकर्षक लेआउट र बालउद्यानमा राखिएको फिस टनेल मेलाका आकर्षकको रुपमा रहेका थिए । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी तथा विक्रि वितरण, विभिन्न विधामा प्रतियोगितात्मक कार्यक्रम सहित सांस्कृतिक सांगितिक कार्यक्रम भएका थिए । मेलामा विविध सांस्कृतिक कार्यक्रम सहित लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, व्यटि फियर, टिकटक लगायतका प्रतियोगिता गरिएको मेला कार्यसम्पादन समितिका सदस्य तथा प्रचारप्रसार उपसमितिका संयोजक दीपकप्रसाद चापागाईले जानकारी दिनुभयो ।
मेलामा उत्कृष्ट स्टललाई नगद पुरस्कार सहित सम्मान
मेलामा उत्कृष्ट स्टललाई सम्मान सहित नगद पुरस्कार गरिएको छ । संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजूको संयोजकत्वमा गठन गरिएको मुल्यांकन समितिले गरेको मुल्यांकनका आधारमा उनीहरुलाई सम्मान सहित पुरस्कृत गरिएको हो ।
मेलामा सहभागि स्टलमध्येबाट नेपाल सेरामिक इण्डष्ट्रिज प्रालि. प्रथम भएको छ । त्यस्तैगरी कोशेली मुर्तिकला उद्योग द्वितीय, कानुङ बचत तथा ऋण सहकारी संस्था तृतीय र दुर्गा नर्सरी एण्ड कृषि फर्म सान्त्वना भएका छन् । उनीहरुलाई क्रमश ः २१ हजार १, १५ हजार १, १० हजार १ र ५ हजार १ रुपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
त्यसैगरी प्रविधि तर्फ सुर्यछाप ढाका कपडा उद्योग, कृषि तर्फ जैविक कफि तथा मसला प्रशोधन उद्योग अर्घाखाँची र हस्तकला तर्फ नेपाल क्राफ्ट उद्योग प्रथम भएका छन् । उनीहरुलाई संघका अध्यक्ष हरिप्रसाद अर्याल तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण लगायतले सम्मान पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभएको हो । उनीहरुलाई जनही २१ हजार १ रुपैंया नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको मेला कार्यसम्पादन समितिका सदस्य सचिव मुक्तप्रसाद अधिकारीले जानकारी गराउनु भयो ।
त्यसैगरी मेला समापन कार्यक्रममा मेलाका प्रायोजक, सहयोगीहरुलाई पनि सम्मान गरिएको छ भने मेलामा सहभागी स्टलहरुलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रदर्शक पुस्तिका विमोचन
मेलाको समापनमा संघले औद्योगिक व्यापार मेला बुटवल २०८१ को अवसरमा प्रकाशन गरेको मेला प्रदर्शक पुस्तिका विमोचन गरिएको छ । उक्त पुस्तिकाको कार्यक्रमका प्रमुख अतिथी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणले विमोचन गर्नुभएको हो । संघले २०४१ सादेखि गरेका प्रदर्शनी तथा मेलाको बारेमा संक्षिप्त जानकारी सहित औद्योगिक व्यापार मेला २०८१ मा सहभागि स्टलको तथ्यांक समेटेर उक्त पुस्तिका प्रकाशन गरिएको हो । 

प्रकाशित मिति : बिहिबार, पुष १८ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij