तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकामा मंगलबारदेखि नि:शुल्क भिडियो एक्सरे सेवा सुरु भएको छ । नगरपालिकाभित्रका गर्भवती महिलाले गर्भ रहेदेखि चारपटकसम्म र सुत्केरीपश्चात् आवश्यक परेमा नि:शुल्क रूपमा भिडियो एक्सरे सेवा लिन पाउने सुविधाको थालनी भएको हो ।
चिकित्सकको सिफारिसअनुसार चारपटकबाहेक पनि जाँच गर्नु परेमा शुल्क नलाग्ने पालिकाका स्वास्थ्य शाखा प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिए । ‘यो सेवाको सुरुवात अहिलेलाई तिलोत्तमा-६ स्थित आनन्दवन स्वास्थ्य चौकी र वडा नं. १० स्थित सेमराबजार स्वास्थ्य चौकीबाट सुरु गरेका छौं,’ उनले भने, ‘क्रमश: सबै वडामा यो लागू हुनेछ ।’
नि:शुल्क भिडियो एक्सरे सेवा शुभारम्भ कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले आमा बन्नु महिलाका लागि सहज अवस्था नभएकाले स्वास्थ्यको ख्याल गर्न जरुरी रहेको बताए । पालिका आफ्ना नागरिकको स्वास्थ्यप्रति जिम्मेवार रहेको भन्दै उनले हरेक पटक नवीनतम् काम गर्दै नागरिकसँग आफूहरू सँगसँगै रहेको अनुभूति दिलाइरहेको बताए ।
उपप्रमुख जगेश्वरदेवी चौधरीले यो कार्यक्रमबारे छलफल गर्दा नै कार्यपालिकाका हरेक सदस्यले गर्नैपर्ने कार्यक्रम ठानी बजेट विनियोजन गर्न स्वीकृत भएको बताइन् । गत साउनबाट नै यो सेवा सुरु गर्ने भनिए पनि कार्यविधि तयार गर्दा समय लम्बिएको उनले जनाइन् । ‘यस्ता सेवाले हुँदा खाने वर्गलाई अति नै सहयोग गर्नेछ,’ उनले भनिन्, ‘यो जाँचमा लाग्ने पैसा अब महिलाले स्वस्थकर खानेकुरा किन्नमा खर्च गर्न सक्नेछन् ।’
प्रकाशित मिति : बुधबार, माघ ३० २०८१
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्