बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री भुमिश्वर ढकालले जनप्रतिनिधिहरुको कार्यशैलिका कारण नागरिकमा असन्तुष्टि सृजना भएको बताएका छन् ।
सोमबार सामाजिक परिवर्तन केन्द्रले बुटवलमा आयोजना गरेको संघीय शासनका अवसर र चुनौती विषयक प्रदेशस्तरीय संवाद कार्यक्रममा बोल्दै उनले जनप्रतिनिधिहरुले कार्यशैली सुधार गर्न आवश्यक रहेको बताए ।
साथै मन्त्री ढकालले वित्तिय र प्रशासनीक संघीयता कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको उल्लेख गरे । ‘राजनीतिक संघीयता त कार्यान्वयन भइसकेको अवस्था छ , तर वित्तिय संघीयता कार्यान्वयनमा आएको छैन् । प्रदेश पुरै संघमा निर्भर हुनु परेको छ, यसले गर्दा पनि जनस्तरबाट प्रश्न उठेको हो,’– मन्त्री ढकालले भने
सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी प्रमुख सचेतक जमुना ढकालले संघीयता आएपछि नागरिकले आफ्ना गुनासाहरु सहज रुपमा राख्ने अवसर पाएको बताइन् । संघीयता नेपाली जनताको बलिदानीबाट आएकाले संघीयता माथि खेलवाड नगर्न आग्रह गर्दै कमजोरी भए सुधार गर्नु पर्ने बताइन् ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवि अर्यालले संघीयता आए पछि स्थानीय क्षेत्रको विकासमा आमुल परिवर्तन आएको बताइन् । पुरा अधिकार नपाउँदा केही काम गर्न नसकेको बताउँदै उनले संघ सरकारले अधिकार दिनमा कन्जुसाई गर्न नहुने बताइन् ।
शुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले कानुनी जटिलताका कारणले जनताले चाहे जस्तो काम गर्न नसकिएको बताउदै तीन तहका सरकारबीचको समन्वय र सहकार्य आवश्यक रहेको बताए ।
नेकपा माओवादी केन्द्र बुटवल उपमहानगरपालिकाका इन्चार्ज पुस्पराज ढकालले कानुनी अडचनका कारण तीन तहका सरकार विच विकास निर्माणको क्रममा द्वन्द्व देखिएकाले यसको समाधान गर्न आवश्यक रहेको बताए ।
लेखक ऋषि आजादले जनप्रतिनिधिहरु विकासका कार्यमा भन्दा पनि तामझाममा रमाउँदा र सुविधा भोगि हुँदा प्रदेश सरकार माथि प्रश्न चिन्ह खडा भएको बताए । नेपाली कांग्रेस बुटवल ११ का सभापति जितबहादुर मल्लले स्थानीय सरकारले समस्याको सहजिकरण गर्न सकस मान्नु अनौठो रहेको बताए ।
नेपाल बार एसोसियसन तुल्सीपुर बुटवल इजलास इकाई अध्यक्ष गोविन्द मरासीनीले कानून निर्माण गरेर मात्र नहुने भन्दै यसको उपलव्धता र स्वीकार्यता आवश्यक रहेको बताए ।
कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष चन्द्रभान चौधरी,बुटवल ८ का वडाध्यक्ष यज्ञ प्रसाद पंगेनी , बुटवल ३ का वडा सदस्य अमृत खड्का , सामूदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आचार्य , लेखक तथा अध्यता युवराज कंडेल, टोल विकास संस्थाको तर्फबाट आशा भण्डारी लगायतले बोल्दै जन अपेक्षा अनुसार तीन तहका सरकार चल्न नसक्दा नागरिकमा नैराश्यता बढेको भन्दै त्यसको निशानामा प्रदेश सरकार परिरहेको बताएका थिए ।
कार्यक्रममा सामाजिक परितर्वत केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रकास भट्टराईले अनुसन्धानात्मक प्रतिवेदन प्रस्तुत गर्दै संघीयतामा शक्ति स्थानीय र प्रदेश सरकार हुनुपर्ने भएता पनि पुरा अधिकार संघ सरकारमै हुँदा तीन तहका सरकार विच द्वन्द्व उत्पन्न हुने गरेको बताए । पत्रकार भवानीप्रसाद पाण्डेले सहजीकरण गरेको उक्त कार्यक्रमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रकाशित मिति : सोमबार, असार २ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्