लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

लुम्बिनी बौद्ध विश्वविद्यालयको ४९ करोड ५९ लाख बजेट स्वीकृत

काठमाडौं,  लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको १८ औं बैठकले आगामी आर्थिक वर्षका लागि रु। ४९ करोड ५९ लाखको बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार भएको बैठकमा विश्वविद्यालयका रजिष्टार डा। तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो ।

बैठकले वार्षिक नीति तथा कार्यक्रम समेत स्वीकृत गरेको छ । सो अवसरमा विश्वविद्यालयको हालको बेरुजु शून्य दशमलव ५ मात्रै भएको बैठकलाई अवगत गराइएको थियो ।

 

त्यस्तै सभाको बैठकले एकेडेमिक क्रेडिट बैंक स्थापना गर्ने निर्णय गरेको छ । जुनसुकै विश्वविद्यालयमा अध्ययन गरी बीचमै छाडेका विद्यार्थीहरुले आफूले ग्रहण गरेको क्रेडिट बैंकमा जम्मा गरी उपाधिका लागि अपुग रहेको क्रेडिट आवर अध्ययन गरी उपाधि पाउन सक्नेछन् । विश्वविद्यालय यससम्बन्धी विनियम बनाई कार्यान्वयनमा लगिने जनाएको छ ।

सभाको बैठकले स्कुल अफ ल स्थापना, देवदह शिक्षा विकास परियोजनाको गुरुयोजना कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकमा पेश भएका नियमावली संशोधन गर्ने निर्णयहरु स्वीकृत भएको सदस्य सचिव एवं रजिष्टार आचार्यले जानकारी दिनुभयो ।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बौद्ध दर्शनलाई अन्य विषयहरुमा राखेर प्राध्यापन गराउनु महत्वपूर्ण विषय रहेको बताउनुभयो । उहाँले विश्वविद्यालयका हरेक कार्यक्रमहरु बौद्ध दर्शनलाई समेट्ने गरी हुनुपर्ने बताउनुभयो ।

त्यस्तै सह(कुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लुम्बिनीलाई बौद्ध अध्ययनको केन्द्रका रुपमा लैजाने गरी शैक्षिक कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो । उहाँले अन्य विश्वविद्यालयभन्दा लुम्बिनी बौद्ध विश्वविद्यालय फरक हुनुपर्ने भन्दै विश्वभरका अध्येताहरु बौद्ध दर्शनको अध्ययनका लागि लुम्बिनी आउने अवस्था बनाउनुपर्ने बताउनुभयो ।

बैठकमा उपकुलपति प्रा।डा। सुवर्णलाल बज्राचार्यले विदेशी विद्यार्थीलाई आकर्षण गर्ने गरी शैक्षिक कार्यक्रमको उपाधि स्थापना, सञ्चालन तथा विद्यार्थी केन्द्रीत शैक्षिक पूर्वाधार निर्माणमा जोड नीति कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो । एकेडेमिक क्रेडिट बैंक, ड्युल डिग्रीसहितको मोडलमा शैक्षिक कार्यक्रम सञ्चालन गरिने तथा बौद्ध दर्शन केन्द्रित अध्ययन अनुसन्धानलाई जोड दिने उहाँले बताउनुभयो । उहाँले देवदहमा २० हजार विदेशी विद्यार्थी भर्ना गर्ने गरी पूर्वाधार निर्माणको थालनी गरिएको भन्दै यो पूर्वाधारले ५० वर्षको आवश्यकता पूरा गर्ने बताउनुभयो । सभाको बैठकले पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाउने स्वीकृति दिएको भन्दै उहाँले दातृ निकायलाइ आह्वान गरिने बताउनुभयो ।

दुई संकाय, एक स्कुल, दुई आंगिक क्याम्पस र १४ वटा सम्बन्ध तथा सहकार्य क्याम्पस रहेको विश्वविद्यालयमा हाल २९ सय २२ जना विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रकाशित मिति : बिहिबार, साउन १ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij