भैरहवा – शनिबार बिहान ९ बज्नै लाग्दा नेपाल भारत दसगजा नजिकै नेपाल प्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपाल तर्फ जान आउन हतारिनेहरु केहिबेर रोकिदै यताउता गरिरहेको देखिए । बिहानैदेखि प्रवेशद्वारमा निरन्तर नेपाली राष्ट्रिय गीत बजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमा मात्रै नभएर नेपाल घुम्न आएका विदेशी मानिसहरु अनुहारमा समेत उल्लास छाईरहेको थियो ।
नेपाल प्रवेशद्वारसँगै टासिएर निर्माण भएको एउटा सानो टेन्टमा जब पर्यटन ब्यवसायी मन्जु गिरीले बोल्न थालिन् तब यत्रतत्र छरिएकाहरु त्यहाँ राखिएका कुर्चिमा बस्न थाले । केहिबेरमै लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारी र नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीका अध्यक्ष चन्द्र बहादुर थापाले चार जना विदेशी पर्यटकलाई खादा, माला र बुद्ध अंकित मायाको चिनो दिएर सम्मान गरेपछि माहौलमा झनै रौनकता सृजना भयो ।
विश्वभरीका पर्यटन व्यवसायीले मनाउने विश्व पर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७ अर्थात असोज ११ गते शनिबार बेलहियामा पनि नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले नेपाल प्रवेश गर्ने पहिलो चार जना विदेशीलाई सम्मान गर्दाको क्षण गज्जब देखियो ।
अप्रत्याशित सम्मान पाउँदा विदेशी पर्यटकहरु खुसीले गदगद भए, हर्ष विभोर हुदै सबै नेपालीप्रति कृतज्ञता ब्यक्त गरे ।
सम्मानपछि बोल्दै अष्ट्रेलियादेखि नेपाल घुम्न आएकी बारबरा डोराले भनिन, ‘नेपाल जस्तो सुन्दर देश घुम्न आउने क्रममा बोर्डरमै गरिएको सम्मानले म अत्यन्तै खुसी छु । नेपाली र नेपालप्रतिको माया अझै बढेर गएको छ । ’
डोरा जस्तै नेदरल्याण्डदेखि नेपाल घुम्न आएका मार्सल कैयवरले नेपाल प्रवेश गर्दासाथ यसरी स्वागत गरेको देखेर दङग परेको बताए । कैयवरले भने, ‘ म त आश्चर्यमा परेको छु, नेपाल प्रवेशद्वार यसरी सम्मान गरेपछि मलाई नेपालका गाउँठाउँमा झनै कति स्वागत र सम्मान होला भनि कौतुहलता जागेको छ । ’
उनले नेपालीहरुको अतिथीहरुलाई गर्ने सत्कार संसारकै उदाहरणीय रहेको पनि बताए । यसैगरी सो अवसरमा २ जना भारतीय पर्यटकलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेमा भारतीय पर्यटकहरु डा. संजय सिंह र बिनोद मिश्रा रहेका छन् । भारतीय पर्यटकद्वय सिंह र मिश्रा बुटवल हुदै पाल्पा तर्फ गएका छन् । सम्मानपछि डा. सिंहले नेपालीहरुले गर्ने ब्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताए ।
नेपाल एशोसियन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले अष्ट्रेलियन नागरिक डोरा, नेदल्यान्डबाट आएका कैयबर र भारतीय दुईजना पर्यटकोलागि नाट्टा लुम्बिनीले पर्यटकको पहिलो गन्तब्य सम्मको एकदिनको यातयात यातयात ब्यवस्था र एकरातको होटल खर्चको ब्यवस्थापन गरेको छ ।
पर्यटकलाई स्वागत गर्दै लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रको विकासकोलागि विदेशी पर्यटकको स्वागतमा सबैले विशेष ध्यान दिनुपर्ने बताए । उनले प्रदेश सरकारले पर्यटन प्रबद्र्धनकोलागि विशेष ढंगले काम गरिरहेको पनि बताए ।
सो अवसरमा नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्र बहादुर थापाले नाट्टा लुम्बिनीले निस्वार्थ भावले नेपालको पर्यटनको विकासमा काम गरिहेको बताए । उनले भने, ‘हामी पर्यटन व्यवसायीहरु र सरकारी निकाय एकताबद्ध भई विदेशी पर्यटकको सहजताकोलागि आ–आफ्नो क्षेत्रबाट सहकार्य गरि काम गर्नुपर्दछ । ’
कार्यक्रममा बौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासीक, सास्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षति गरिरहेको बेला सबै नेपालीहरु समता भावको साथ एकताबद्ध भई पर्यटन प्रबद्र्धनमा लागेमा देश विकास हुने बताए ।
सो अवसरमा पर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटकको नेपाल बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताए । उनले भने, ‘नेपालको समृद्धिको आधार भनेको पर्यटन हो । सरकारले पर्यटनकोलागि विशेष योजनासाथ काम गर्नु पर्दछ । विदेशी त्यसमा पनि भारतीय पर्यटक लक्षित योजना बनाउनु पर्दछ । ’
हवाई मार्ग हुदैँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल विदेशीहरु नेपाल आउने गर्दछन् । यसैगरी स्थलमार्ग हुदै पूर्वि नाका पशुपतिनगर, काकडभिट्टा, विराटनगर, बिरगन्ज, जनकपुर, कृष्णनगर, बेलहिया, नेपालगन्ज, महेन्द्रनगर लगायत प्रवेश गर्ने गर्दछन् । ती नाका मध्ये सबैभन्दा बढी पर्यटकहरु बेलहिया स्थित नाकाबाट नेपाल प्रवेश गर्दछन् ।
बेलहिया नाका हुदै चालु अङ्ग्रेजी वर्षको सेप्टेम्बर २५ तारिख सम्म ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपाल प्रवेश गरेका छन् । सन् २०२५ को अगस्त महिना सम्ममा पनि श्रीलङ्काली पर्यटक नै बढी देखिएका छन् । अध्यागमन कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार श्रीलङ्काका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जना पर्यटक नेपाल भित्रिएका छन् ।
यसैबीच होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ बुटवलले पर्यटन दिवसको अवसरमा मोटरसाईकल रयाली गरेको छ ।
प्रकाशित मिति : शनिबार, असोज ११ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्