बुटवल- बुटवल उपमहानगरपालिका–१७, रानीगञ्जस्थित नमस्ते टोल विकास संस्थाको चौथो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुनिता भुजेल रास्कोटीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशनले आगामी कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा हरिलाल भुसाल, सचिवमा रबिना घिमिरे, कोषाध्यक्षमा झरना सूर्यवंशी तथा सहसचिवमा सावित्रा खत्री चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा मुना थापा, नानुमाया थापा, सन्तोषी थारू, गोपाल गिरी, नारायणी कार्की, मनिषा श्रेष्ठ, ओमबहादुर श्रीस र रीता बुढाथोकी चयन हुनुभएको छ। नयाँ कार्यसमितिले टोलको विकास, सामाजिक सद्भाव तथा समुदायको हितका लागि सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता जनाएको छ।

यसअघि कार्यक्रमको उदघाटन सत्रमा संस्थाकी अध्यक्ष सुनिता रास्कोटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले टोल विकास संस्थाहरू स्थानीय सरकारका महत्वपूर्ण सहकार्यकर्ता भएको बताउनुभयो। उहाँले समाजको विकास, सरसफाइ, सामाजिक एकता तथा नागरिक सहभागिता अभिवृद्धिमा यस्ता संस्थाको भूमिका उल्लेखनीय रहेको धारणा राख्नुभयो। साथै नगरप्रमुख खेलराज पाण्डेले रानीगञ्जवासीलाई विस्थापित हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नगरप्रमुख र उपप्रमुख सधैँ स्थानीयवासीको पक्षमा उभिने बताउँदै कसैको धम्की वा दबाबका आधारमा नागरिकलाई घरबारविहीन बनाउन नदिइने स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “रानीगञ्जका बासिन्दालाई विस्थापित हुन दिइने छैन। नगरप्रमुख र उपप्रमुख सधैँ तपाईँहरूको साथमा छौँ। यहाँ कसैले आएर धम्काएर घरबारविहीन गराउन पाउँदैन, यो हाम्रो प्रतिबद्धता हो।”
नगरप्रमुख पाण्डेले स्थानीयवासीको आवास अधिकार र सम्मानजनक बसोबासको सुनिश्चितताका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो।कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा देवी अर्याल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

संस्थाका उपाध्यक्ष हरिलाल भुसालले स्वागत मन्तव्य व्यक्त गर्दै टोल विकास संस्थाले समुदायमा एकता, सहकार्य तथा सामाजिक विकासका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो। कार्यक्रममा संस्थाकी अध्यक्ष रास्कोटीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगत एक वर्षमा सञ्चालन गरिएका सामाजिक, विकास निर्माण, सरसफाइ तथा जनचेतनामूलक गतिविधिबारे जानकारी गराउनुभयो। उहाँले आगामी दिनमा पनि टोलको समग्र विकास र सामाजिक एकताको लागि संस्थाले सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा कोषाध्यक्ष झरना सूर्यवंशीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्य रामप्रसाद न्यौपाने, संस्थाका सल्लाहकार टंकप्रसाद न्यौपाने, विभिन्न टोल विकास संस्थाका अध्यक्ष, समाजसेवी, बुद्धिजीवी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन कृष्णकुमारी पाण्डेले गर्नुभएको थियो।सो अवसरमा एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो भने २० जना ज्येष्ठ नागरिकलाई सम्मानस्वरूप मायाको कोशेली वितरण गरिएको संस्थाले जनाएको छ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्