कांग्रेस युवा नेताहरूको एक स्वर : पार्टी जोगाएरै छाड्छौँ

कांग्रेस युवा नेताहरूको एक स्वर : पार्टी जोगाएरै छाड्छौँ

काठमाडौँ : नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक मतभेद र विभाजनले औपचारिकता पाउनु मात्र बाँकी रहेका बेला युवा नेताहरू एकै मञ्चमा उभिएर पार्टीलाई जोगाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले नेतृत्वलाई संवाद, सहमति र एकताको बाटो रोज्न आग्रह गर्दै पार्टीलाई फुट्न नदिने उद्घोष गरेका हुन्।

बुधबार काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा आयोजित ‘देश र कांग्रेस जोड्ने : एकता–सद्भाव विमर्श’ कार्यक्रममा राष्ट्रियसभा सदस्य समेत रहेका रञ्जित कर्ण, निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरलगायतका नेताहरूले पार्टीभित्रको विवाद समाधान गरेर संगठनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए।

राष्ट्रियसभा सदस्य रञ्जित कर्णले अहिले कांग्रेस फुटउन्मुख अवस्थातर्फ धकेलिन खोजेको भन्दै सबै पक्षले लचकता देखाउनुपर्ने बताए।

‘कांग्रेसभित्र अहिले देखिएको परिस्थिति फुटउन्मुख छ। फुटबाट जोगाएर कसरी एक ढिक्का कांग्रेस बनाउन सकिन्छ भन्ने मूल उद्देश्य लिएर ‘देश र कांग्रेस जोड्ने’ अभियान अघि बढाइएकाे हो,’ कर्णले भने।

नेता कर्णले संस्थापन र संस्थापनइतर दुवै पक्षले एक–एक कदम पछि हटेर सहमतिमा पुग्नुपर्ने धारणा राखे। उनले भने,  ‘दुवै पक्ष एक–एक कदम पछि हटेर भए पनि सहमतिमा आउनुपर्छ। कांग्रेस कमजोर भए देशकै लोकतन्त्र कमजोर हुन्छ।’

निवर्तमान केन्द्रीय सदस्य महरले पनि पार्टी अन्ततः एक हुने विश्वास व्यक्त गर्दै आवश्यक परे आफूहरू पद त्याग्नसमेत तयार रहेको समेत बताए। ‘पार्टी मिल्छ भने म लगायत ३५ जना केन्द्रीय सदस्य बस्दैनौँ। ६–७ जना सिनियर नेताहरू पनि केन्द्रीय समितिमा बस्नुहुन्न। बाँकी रहेका मानिसलाई विधानभित्रै रहेर सभापतिजीले मिलाउनुपर्छ,’ उनले भने।

नेता महरले आगामी केन्द्रीय समिति बैठकबाट समाधान निस्कने अपेक्षा पनि व्यक्त गरे।

कार्यक्रममा नेता राजेन्द्र तिवारी, विश्लेषक अरूण सुवेदी तथा नेताहरू आनन्द त्रिपाठी, लीला दाहाल, मनहरि श्रेष्ठ, आनन्द सन्तोषी राई, यज्ञप्रसाद न्यौपानेलगायतले पनि पार्टी एकताको पक्षमा धारणा राखेका थिए। उनीहरूले पनि पार्टी जाेगाइछाड्ने दृढ्ता व्यक्त गरे।

अभियानले जारी गरेको विज्ञप्तिमा अहिले कसैको जित–हारभन्दा विश्वास पुनःस्थापना र संवादको आवश्यकता रहेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘आजको आवश्यकता कसैको विजयको मात्र होइन, विश्वासको पुनर्जन्म हो। संवादको पुनःस्थापना हो। कांग्रेसलाई फेरि जनताको आशाको केन्द्र बनाउनु हो। प्रतिपक्ष हुनु भनेको केवल विरोध गर्नु होइन, सरकारलाई प्रश्न गर्ने साहस, राष्ट्रलाई समाधान दिने र जनताको आवाज बन्ने जिम्मेवारी पनि हो।’

युवा नेताहरूले प्रतिशोधभन्दा उत्तरदायित्व, विभाजनभन्दा भविष्य निर्माणको राजनीति आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसलाई कुनै पनि हालतमा फुट्न नदिने सामूहिक संकल्प गरेका छन्।

विज्ञप्तिको निष्कर्षमा भनिएको छ, ‘हामी कांग्रेस फुट्न दिने छैनौँ। हामी लोकतन्त्र कमजोर हुन दिने छैनौँ। हामी युवाको आशा मर्न दिने छैनौँ। हामी जनताको विश्वास टुट्न दिने छैनौँ। हामी संवाद गर्नेछौँ, सुन्नेछौँ, मिल्नेछौँ। व्यक्तिभन्दा विचार र विचारभन्दा संगठनलाई बलियो बनाउनेछौँ।’

प्रकाशित मिति : बुधबार, साउन २० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij