हुथी र साउदीबीच द्वन्द्व बढ्दा पौने चार लाख नेपाली तनावमा

हुथी र साउदीबीच द्वन्द्व बढ्दा पौने चार लाख नेपाली तनावमा

काठमाडौं । यमनको विद्रोही लडाकु हुथी समूहले यही कात्तिक ४ गते साउदी अरेबियाको अरामको तेल उत्पादन क्षेत्रमा गरेको ड्रोन आक्रमणमा परी एक नेपालीसहित दुई विदेशी नागरिकको मृत्यु भयो ।

उक्त घटनामा अर्का एक जना नेपाली घाइते छन् । घटना भएको पाँच दिन बित्दा पनि मृत्यु र घाइते हुने नेपाली को हुन् भन्ने खुलेको छैन ।

“हामीले साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासमार्फत मृत्यु हुने नेपालीको पहिचान खोजेका छौं,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “स्थानीय प्रहरीबाट रिपोर्ट आउन ढिला हुँदा मृत्यु हुने नेपालीको पहिचान खुल्न सकेको छैन ।”

हुथीले कात्तिक ४ गते साउदीको किङ फहद अन्तर्राष्ट्रिय विमानस्थल र अरामको तेल उत्पादन क्षेत्रमा आक्रमण गरेको थियो । उक्त आक्रमणमा एक जना नेपाली, एक जना भारतीय, एक जना साउदी र एक पिलिपिनो नागरिकको मृत्यु भएको थियो ।

पछिल्ला महिना पश्चिम एसियामा हुथी समूह र साउदी अरेबियाबीच द्वन्द्व बढ्दो छ । इरान समर्थित हुथीले पछिल्लो एक महिनामा साउदीमाथि ८ ठूला आक्रमण गरेको छ । साउदी मिडियाहरूका अनुसार हुथीले ड्रोन र मिसाइल आक्रमण गर्दा बितेको एक महिनामा साउदीमा २३ जनाको मृत्यु भइसकेको छ ।

“हुथी र साउदीबीच द्वन्द्व बढ्दा साउदीमा कार्यरत पौने चार लाख नेपाली र नेपालमा रहेका उनका घर–परिवार मात्र होइन नेपाल सरकारको तनाव बढेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, “द्वन्द्व चर्किदै गए साउदीमा कार्यरत नेपालीको रोजगारीमा समस्या आउने मात्र होइन, उनीहरूलाई कसरी उद्धार गर्नेमा समस्या पनि थपिन्छ ।”

२०८२ फागुन १६ गतेदेखि पश्चिम एसियामा द्वन्द्व सुरु भएको थियो । अमेरिका र इजरायलले अचानक इरानमाथि आक्रमण गरेपछि उक्त द्वन्द्व पश्चिम एसियामा फैलिएको थियो । पश्चिम एसिया अशान्त बनेको ६ महिनाभन्दा बढी भएको छ ।

पछिल्ला दिन हुथी र साउदीबीच एक अर्काविरुद्ध आक्रमण र प्रत्याक्रमण बढिरहेको छ । यसले साउदीमा कार्यरत नेपालीलाई त्रसित बनाएको छ । परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार साउदी अरबमा ३ लाख ८४ हजार ८६५ नेपाली वैध रुपमा कार्यरत छन् ।

“रियादस्थित हाम्रो दूतावासको रिपोर्ट अनुसार साउदीमा जनजीवन सामान्य नै छ । तर विस्फोटका आवाज भने सुनिने गरेका छन्, जसका कारण त्यहाँ कार्यरत नेपालीमा डर पैदा भएको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

डर तथा त्रास पैदा किन नहोस्, हुथी विद्रोहीहरूले साउदीका ठूला विमानस्थल र तेल पूर्वाधारलक्षित गरी शृङ्खलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरिरहेका छन् ।

गत असोज २४ गते हुथीले साउदीको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण गर्दा १३ जनाको मृत्यु भएको थियो ।

उक्त आक्रमणमा ३०० भन्दा बढी घाइते भएका थिए । मृत्यु हुनेमा ९ जना विदेशी नागरिक थिए । हुथीले असोज २५ गते साउदीको विमानस्थलमा आक्रमण गर्दा एक जनाको मृत्यु भएको थियो ।

हुथीका आक्रमणमा परी साउदीमा एक जना नेपालीको मृत्यु भएपछि नेपाल सरकारले गत साता एक विज्ञप्ति जारी गर्दैै सो आक्रमणको कडा शब्दमा भत्र्सना गरेको थियो ।

“नेपाली नागरिक र संवेदनशील पूर्वाधारहरूलक्षित गरी गरिने सबै आक्रमणहरूको घोर भर्ना गर्दछ,” परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको थियो । परराष्ट्रले संवाद, वार्ता र कूटनीति माध्यमबाट विवादको शान्तिपूर्ण समाधान खोज्न दुवै पक्षलाई अनुरोध गरेको थियो ।

२०८२ फागुन १६ गतेबाट पश्चिम एसियामा सुरु भएको द्वन्द्व र त्यसले नेपालमा पारेको र पार्नसक्ने प्रभावका विषयमा नेपाल सरकारले यसअघि अध्ययन गरेको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालको संयोजकत्वमा गठित उच्चस्तरीय अन्तर–मन्त्रालय अध्ययन कार्यदलले सरकारलाई प्रतिवेदनसमेत बुझाएको थियो ।

अमेरिका–इजरायल र इरानबीचको युद्ध पश्चिम एसियामा विस्तार हुँदा यसले नेपालका धेरै क्षेत्रलाई असर गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा युद्ध लम्बिए विद्यालय जाने उमेरका बालबालिका शिक्षाको अवसरबाट बञ्चित हुनसक्ने अवस्थासमेत आउने अनुमान प्रतिवेदनमा गरिएको थियो । कतिपय परिवार ‘ऋणको पासो’मा पर्नसक्ने जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ ।

युद्धले नेपालीको रोजगारी र नेपाल भित्रने रेमिट्यान्स, वैदेशिक लगानी र व्यापार, औद्योगिक उत्पादन र बजारलगायतका क्षेत्रमा व्यापाक प्रभाव पारेको प्रतिवेदनमा जनाएको थियो ।

प्रतिवेदनमा युद्धले नेपालको अर्थतन्त्रमा प्रत्यक्ष पारेका प्रभावहरू, वैदेशिक रोजगारी र विप्रेषण, पर्यटन र हवाई यातायात, कृषि र उद्योग, ऊर्जा, इन्धन, खाद्यान्न र औषधि क्षेत्रमा परेको प्रभाव विश्लेषण गरिएको थियो ।

प्रतिवेदनअनुसार, पश्चिम एसियामा चलेको युद्धका कारण नेपाललगायत दक्षिण एसियाली राष्ट्रहरूमा औद्योगिक उत्पादन घटेको, नागरिकको रोजगारी न्यून भएको, आम्दानी घट्दा उपभोक्ता मागमा गिरावट आएको छ ।

त्यसअतिरिक्त जीवनस्तरमा गिरावट आएको, विदेशी लगानीमा कमी आएको, सार्वजनिक ऋणमा वृद्धि भएको, न्यून आर्थिक वृद्धि, श्रम बजार घटेको, उच्चदरमा मूल्यवृद्धि भएको र लगानीकर्ताको विश्वासमा कमी आएको छ ।

युद्धका कारण नेपाललगायत दक्षिण एसियाली राष्ट्रमा इन्धन, ग्यास, हवाइ इन्धनको मूल्य अत्यधिक वृद्घि भएको अध्ययनले देखाएको थियो ।

प्रतिवेदनमा युद्धले पश्चिम एसियामा हुने निर्यात २ प्रतिशत र आयात ५ प्रतिशतले घटेको देखाएको थियो ।

यस्तै, दोहा, दुबई र अबुधा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ट्रान्जिटहरू प्रभावित हुँदा पर्यटक आगमनमा १.५ प्रतिशतले कमी आएको देखिएको थियो ।

युद्धले गर्दा पश्चिम एसियामा रहेका नेपालीका आश्रित परिवारलाई आफन्तको जीवको रक्षा तथा रोजगारी गुम्न सक्ने दोहोरो त्रास उत्पन्न भएको प्रविवेदनमा जनाइएको थियो ।

युद्धका कारण नेपाल भित्रिने रेमिट्यान्स घट्दा उपभोग र खर्चमा दबाब सिर्जना हुनुका साथै गरिबीको रेखामुनिबाट भर्खर उक्सिएका कतिपय परिवार पुनः गरिबीको दुष्चक्रमा पर्ने जोखिम बढेको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : सोमबार, कार्तिक १० २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij