ब्राजिलविरूद्ध बेल्जियमः को बाहिरिन्छ ?

ब्राजिलविरूद्ध बेल्जियमः को बाहिरिन्छ ?

विश्वकपअघिका दुई उपाधि दाबेदार टोलीहरु ब्राजिल र बेल्जियममध्ये एक आज प्रतियोगिताबाट बाहिरिनेछ। उनीहरुबीच आज राति पौने १२ बजे क्वार्टरफाइनलमा भिडन्त हुदैँछ।

ब्राजिल लगातार सातौंपटक विश्वकपमा क्वार्टरफाइनल खेल्न लागेको हो। यीमध्ये २००६ र २०१० मा मात्र ब्राजिल सेमिफाइनलमा पुग्न असफल भएको छ।

बेल्जियमविरुद्धको खेलअघि ब्राजिललाई मार्सेलो फिट हुन्छन् कि हुँदैनन भन्ने चिन्ता थियो। ब्राजिलका प्रशिक्षक टिटेले बेल्जियमविरुद्ध खेल्न मार्सेलो टोलीमा हुने बताइसकेका छन्। सर्बियाविरुद्धको अन्तिम क्वार्टरफाइनल खेलमा ढाडको समस्याका कारण उनी मैदानबाट बाहिरिएका थिए।

‘मेले मार्सेलो र फिलिप्पे लुईससँग कुरा गरिसकेको छु,’ टिटेले भने, ‘लुईसले पनि राम्रो खेलेका छन् तर बेल्जियमविरुद्ध मार्सेलो मैदान उत्रदैछन्। यो उत्कृष्ट खेल हुनेछ।

दुवै टोली राम्रो फुटबल खेल्दै यहाँ आइपुगेका छन्। बेल्जियमसँग राम्रा खेलाडी र राम्रा प्रशिक्षक छन्। मैले समूह चरणदेखि नै उनीहरुलाई उपाधिको दाबेदार मान्दै आएको छु।’ ब्राजिल र बेल्जियमबीच यो पाँचौ भेट हो। बेल्जियमले यी दुईबीच १९६९ मा भएको पहिलो भेटमा जित हात पारे पनि त्यसपछिका तीन खेलमा ब्राजिलले जित हात पारेको छ।

विश्वकपमा भने यी दुई टोलीबीच २००२ मा एक पटक भेट भएको थियो। जसमा ब्राजिलले बेल्जियममाथि २–० को जित हात पारेको थियो। ब्राजिल पछिल्ला १५ खेलमा अपराजित छ भने बेल्जियम २३ खेलमा अपराजित छ।
बेल्जियमका प्रशिक्षक रोबिर्टो मार्टिनेजले आफ्नो टोली ब्राजिलको सामना गर्न तयार भएको बताएका छन्।

‘दुवै टोलीहरु समान क्षमताका हुन्,’ उनले भने, ‘फरक भनेको हामीले विश्वकप जितेका छैनौं त्यही मात्रै हो। हामी ब्राजिलसँग डराउनुपर्ने केही कारण छैन। हामी आफ्नो खेल खेल्नेछौ र पाएका अवसरहरुलाई सदूपयोग गर्नेछौं। हामीले जतिसक्दो रक्षात्मक बन्दै बल पाएका बेला उनीहरुलाई दुःख दिनेबारे सोच्नुपर्छ।’

ब्राजिल पछिल्ला तीन विश्वकपमा युरोपियन टोलीहरुबाट बाहिरिँदै आएको छ। २००६ मा फ्रान्ससँग पराजित भएर बाहिरिएको ब्राजिल २०१० मा नेदरल्याण्ड्स र २०१४ मा जर्मनीसँग पराजित हुँदै बाहिरिएको थियो।

बेल्जियम भने लगातार क्वार्टरफाइनलमा पुगेको यो पहिलो पटक हो। यसअघि २०१४ मा अर्जेन्टिनासँग क्वार्टरफाइनलमा पराजित भएको थियो।

सुपरस्टारहरुको शो
रसिया विश्वकपमा सर्बाधिक गोल गर्ने देश बेल्जियम हो। उसले १२ गोल गरेको छ ब्राजिल भने गोल गर्ने मामलामा पाँचौ स्थानमा छ। उसले अहिलेसम्म सात गोल गरेको छ।
ब्राजिल र बेल्जियम दुवै विश्व फुटबलका सुपरस्टारहरुले भरिएका टोली हुन्। ब्राजिलको टोलीमा नेमार, फिलिप्पे कौटिन्हो, थियगो सिल्भा, पाउलिन्हो, ग्याब्रिअल जिसस, मार्सेलोजस्ता स्टारहरु छन्। बेल्जियमसँग रामेलु लुकाकु, इडेन हाजार्ड, केभिन डी ब्राउनी, भिसेन्ट कोम्पनी जस्ता खेलाडीहरु छन्।

फरवार्ड नेमार ब्राजिलका पछिल्ला १९ खेलका २० गोलमा संलग्न छन्। जसमा उनले ११ गोल गरेका छन् भने ९ मा सहायकको भूमिका निर्वाह गरेका छन्। यस विश्वकपमा पनि उनले दुई गोल गर्नुका साथै एकमा सहायकको भूमिका निर्वाह गरेका छन्।
ब्राजिलकै कौटिन्हो राम्रो लयमा छन्। यस विश्वकपमा २ गोल र एकमा सहायकको भूमिका निर्वाह गरिसकेका छन्।

बेल्जियमका रामेलु लुकाकु ४ गोलसहित गोल्डन बुट अवार्डका लागि ६ गोल गरेका ह्यारी केनलाई पछ्याइरहेका छन्। यस विश्वकपमा उनले प्रहार गरेका पाँच सटमध्ये चारमा गोल भएको छ।

बेल्जियमका १८ खेलमा इडन हाजार्ड १९ गोलमा संलग्न छन्। जसमा उनले १० गोल गरेका छन् भने ९ मा सहायकको भूमिका निर्वाह गरेका छन्। यस विश्वकपमा पनि उनले २ गोल र २ मा सहायकको भूमिका निर्वाह गरिसकेका छन्।

यस्तै ब्राजिलका थियगो सिल्भा, पाउलिन्हो र रोबोर्टो फिर्मिनोले तथा बेल्जियमका माराउनी फिलानी, अदनान जानुजाज, जान भिर्टोन्गोहन, मिकी बात्सुयी, डेरिस मार्टिन्स, नसिर चादिलले यसविश्वकपमा १–१ गोल गरेका छन्।

प्रकाशित मिति : शुक्रबार, असार २२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij