बुटवल : नगरकार्यपालिकाको निर्णयप्रति असहमति जनाउँदै रुपन्देहीको एक नगरपालिकाका वडाध्यक्षले राजीनामा दिएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नम्बर ७ का अध्यक्ष दुर्गाप्रसाद पाण्डेले इमेल गरेर राजीनामा दिएको जानकारी गराएका हुन्।
बुधबार नगरकार्यपालिकाको बैठकमा बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने विषयमा आफ्नो प्रस्ताव अस्वीकार गरेको उनको तर्क छ।
उनले कार्यपालिकाको बैठकमा अस्पतालले माग गरेअनुसार जग्गा नदिई ५ बिगाहा जग्गा दिनुपर्ने प्रस्ताव राखेका थिए।
तर उनको राजीनामा कार्यालयमा आइनपुगेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी दिए।
उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् ।
बुधबार तिलोत्तमा नगरपालिकाले गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो।
नगर कार्यपालिकाको ४८ औं बैठकले अस्पताललाई वडा नं. ४ स्थित दश नम्बरमा रहेको दश विगाहा सार्वजनिक जग्गा उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको छ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले तिलोत्तमा नगरपालिकालाई मंसिर ३ गते मुटु अस्पताल भवन निर्माणका लागि जग्गाको व्यवस्था मिलाइदिन पत्र पठाएको थियो।
विगत पाँच वर्षदेखि बुटवल—१० रामनगरमा भाडाका घरहरुमा सञ्चालन भैरहेको अस्पताल आफ्नै भवन निर्माणका लागि उपर्युक्त जग्गाको खोजीमा रहेको भन्दै १२ बिगाहा जग्गा मागेको थियो।
कार्यपालिका बैठकले वडा नं. ४ को कित्ता नम्बर ६४ को सार्वजनिक जग्गा आठ बिगाहा पाँच कठ्ठा १९ धुर र त्यससँग जोडिएको नदी उकास क्षेत्रसमेत गरी दश बिगाहा जग्गा उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो।
प्रकाशित मिति : बिहिबार, मंसिर ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्