पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

पर्यटकीय गन्तव्य बन्दै जखेरा ताल

दाङ : चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ ।

अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को सङ्ख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको जखेरा ताल संरक्षण समितिका कर्मचारी ओमभगत चौधरीले जानकारी दिए ।

साढे पाँच बिघा क्षेत्रफलमा ताल फैलिएको छ । त्यस वरपर वनजङ्गल रहेको छ । सो तालको गहिराइ ६ फिट छ । तालको उत्तरतर्फ गणेशको तथा पूर्वमा सिद्धेश्वर महादेवको मन्दिर छ ।

यहाँ आउने पर्यटक ढुङ्गा चढेर मन्दिरको दर्शन गर्ने गरेका छन् । तालको मुख्य आकर्षण वनभोज स्थल, जलविहार, प्राकृतिक पदयात्रा, चरा तथा अन्य जीवजन्तुको अवलोकनलगायत हो । तालमा ढुङ्गा चढ्नका लागि पर्यटक निकै उत्साहित हुन्छन् । “एउटा मात्र डुङ्गा भएकाले पालो कुनुपर्ने हुन्छ,” चौधरीले भने ।

तालमा ढुङ्गा चढेर जलविहार गरेमा प्रतिव्यक्ति रु ५० तथा मन्दिर दर्शनका लागि रु २० शुल्क निर्धारण गरिएको छ । जखेरा तालको अवलोकन गर्न कोहपुरबाट आउनुभएकी ४१ वर्षीया कालिका रेग्मीले पहिलो पटक आउँदा निकै आनन्द आएको बताए । शिक्षण पेशामा संलग्न रेग्मी आफूले यति ठूलो ताल होला भनेर नसोचेको बताए । ताल सफा राख्न स्थानीयवासी जुट्नुपर्ने उनको सुझाव छ ।

तुलसीपुर उपमहानगरपालिका–१० पशुपति माध्यामिक विद्यालयबाट शैक्षिक भ्रमणमा विद्यार्थीसहित पुग्नुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु रेग्मीले विद्यार्थीको जखेरा ताल अवलोकन गर्ने पहिलो रोजाइ भएको बताए । “एक हप्ताको शैक्षिक भ्रमणका लागि हिँडेका हाै, विद्यार्थीले जखेरा तालबाट शुरुआत गर्नुपर्छ भन्न थाले त्यसैले यहाँ आएका हौँ”, उनले बताए।

तालको संरक्षण संवद्र्धन गर्नसके दाङको देउखुरी क्षेत्रको मुहार नै फेरिने रेग्मीले बताए । उनले भने- “ताल त धेरै लोभ लाग्दो रहेछ । तालको छेउमा जाली, पर्यटकका लागि आवश्यक शौचालय तथा फोहरको उचित व्यवस्थापन गर्नु जरुरी छ ।”

जखेरा ताल संरक्षण समितिका उपाध्यक्ष रामसिंह केसीले तालको संरक्षणका लागि सबैले पहल गर्नुपर्ने बताए। उनले विगतका वर्षमा नागरिकको अथक श्रमदान र राज्यका निकायले गरेको सहयोगले नै अहिले ताल जिल्लाकै मुख्य पर्यटकीय केन्द्रका रुपमा परिचित रहेको बताए ।

विगतका वर्षमा ताल जलकुम्भी झार र माटोले पुरिएको थियो । जिल्ला भू–संरक्षण कार्यालय, कृषि विकासलगायतका कार्यालय, संरक्षण समिति तथा स्थानीयवासीको सहयोगले तालको संरक्षण गर्न सकिएको केसीले बताए ।

ताल अवलोकन गर्न आउनेका लागि आवश्यकपर्ने शौचालय, खानेपानीको उचित व्यवस्था, फोहर व्यवस्थापन, सुरक्षाका लागि तालको छेउछेउमा जाली, पर्यटकलाई तालमा घुम्नका लागि ढुङ्गाको पर्याप्त व्यवस्था हुन नसक्नु यहाँको समस्या रहेको उनको भनाइ छ । तालसम्मको करीब डेढ किलोमिटर सडक कालोपत्र नहुँदा समस्या भएको छ ।

“तालको विकासका लागि लमही नगरपालिकाले गुरुयोजना बनाएको छ,” उनले भने। तालको आफ्नै ऐतिहासिक पृष्ठभूमि छ ।

विसं २०३० मा साविकको सोनपुर गाविस हालको लमही नगरपालिका–३ का स्वं दिपु चौधरीको नेतृत्वमा सोनपुर, टीकुलीगढ, फल्कापुर र श्री गाउँका स्थानीयवासी मिलेर खेर गइराखेको आकाशे पानी तथा वन क्षेत्रबाट बगिरहेको पानी सङ्कलन गरी चुरे पहाडको फेदमा खाडल खनी ताल बनाइएको थियो । रासस

प्रकाशित मिति : मंगलबार, मंसिर १८ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij