गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशतभन्दा धेरै सकियो, भनेकै समयमा हुनेछ परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ८० प्रतिशतभन्दा धेरै सकियो, भनेकै समयमा हुनेछ परीक्षण उडान

भैरहवा । निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको पूर्वाधार तर्फको सबै काम तोकिएको समय डिसेम्बर ३१ २०१९ भित्रै सम्पन्न गर्ने गरी काम भइरहेको छ ।

२०२०को तिन महिना भित्रै क्यालिब्रेशन फ्लाईट गर्ने योजना अनुसार काम भैरहेको गौतमबुद्ध बिमानस्थल आयोजना कार्यालयका प्रमुख ईन्जिनियर प्रबेश अधिकारीले बताएका छन् ।

‘आईसिवी वानका कामहरु डिसेम्बर १ सम्म र साथसाथै आईसिबी टुका कामहरु बिद्युतिय र अन्य उपकरण यन्त्रहरु जडान गर्ने काम सम्पन्न गरी २०२०को मार्च भित्र क्यालिब्रेशन फ्लाईट गर्ने गरी अघि बढीरहेका छौ,–अधिकारीले भने ।

क्यालिब्रेशन फ्लाईट भनेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न सर्टिफाईड गरिने काम हो । क्यालिब्रेशन फ्लाईटका लागी आईसिबी टु अन्तरगतका प्राविधिक कामहरु समेत सम्पन्न हुनु पर्छ ।
आईसिबी टु को कामका लागि थाईल्याण्डको एरोथाई कम्पनीले ठेक्का पाएको छ । आईसिबी टुको लागत करीब ५२ करोड रुपैयाँ रहेको छ ।

यसमा कम्युनिकेशन, नेभिगेशन लगायत विद्युतीय उपकरण, सूचना संयन्त्र जडान गर्ने काम हुनेछ । एरोथाई कम्पनीले आवश्यक उपकरण आयात गरी विमानस्थलमा जडान गर्नेछ ।
उपकरणहरु अमेरिका, युरोप, थाईल्याण्ड र केही भारतबाट समेत आयात हुने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।

‘आवश्यक सबै उपकरणहरु ९० प्रतिशत तयार भैसकेका छन्, यो ल्याएर जडान गर्नका लागी हाम्रा ४ जना ईलोक्ट्रोनिक्स र कम्युनिकेशनका ईन्जिनियरहरु अमेरिकामा तालिममा हुनुहुन्छ । अब अमेरिका र युरोपमा अर्डर अनुसार बनिरहेका उपकरणहरुलाई पानी जहाजमा यहाँ ल्याउने काम बाँकी छ । कम्तिमा सिपिंग भएको मितिले १ महिनामा सामान आए त्यसपछि जडान गर्न खासै समय धेरै नलाग्ने र नोभेम्बर सम्म जडान उपकरण जडान गर्ने लक्ष्य रहेको छ–उनले भने ।

सिपिंग बाहेक पनि केही महत्वपूर्ण तर साना सामानहरु भने हवाईजहाजबाट कार्गो गरी ल्याईने बताईएको छ ।

त्यसै गरी धावनमार्गमा लाईट जडान कार्य पनि छिटै सम्पन्न हुने बताईएको छ । धावनमार्गका लाईटहरु चिनबाट ल्याउने तयारी भैरहेको छ ।

हाल सम्म विमानस्थलको भौतिक प्रगति ८० प्रतिशतभन्दा माथि छ । प्रशासनिक भवनमा अहिले फल्स सिलिंग र मार्बल हाल्ने तथा एसि जडान गर्ने काम भैरहेको छ । टर्मिनल तर्फको भवनको छाना हाल्ने काम भैरहेको छ । आगमन कक्षको प्रथम चरणको छानो हालिसकेको छ ।

के के काम भए ?
विमानस्थलमा हाल सम्म धावनमार्ग, ट्याक्सी वे, एप्रोन लगायतको काम सम्पन्न भैसकेको छ भने प्रशासनिक भवन, टावर, टर्मिनल बिल्डिङमा फिनिसिंङको काम भैरहेको छ ।

निर्माण भएका संरचनामा विद्युतीय उपकरणहरु जडान गर्ने, टर्मिनल बिल्डिङ अगाडि ट्याक्सी पार्क निर्माण, प्रबेश द्वार तथा तारबारको काम, विद्युतको डेडिकेटेड लाईन ल्याउन बाँकी रहेको छ ।
अस्थायी कार्गो भवन पनि तयार भैसकेको छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनमा सेन्ट्रल एसीका लागी डक्ट पाईप जडान गर्ने काम अहिले भैरहेको छ ।

२०७१ सालबाट निर्माण सुरु गरिएको विमानस्थल २०७४ सालमै सम्पन्न हुनु पर्ने थियो । तर निर्माण कम्पनीको ढिलासुस्ती, मुख्य ठेकेदार र स्थानीय आपूर्तिकर्ता बिचको आपसी मतभेद, तराई–मधेश आन्दोलन, भारतीय नाकाबन्दी, नदीजन्य सामग्रीको अभाव जस्ता कारणले आयोजना निकै पछि धकेलिदै आएको छ ।

यसअघि २ पटकसम्म म्याद थप गरिएको थियो । पछिल्लो समय तेश्रो पटक निर्माण सम्पन्न हुने समय थप गरी २०१९को डिसेम्बर ३१ सम्म पु¥याईएको हो ।

प्रकाशित मिति : बुधबार, भाद्र २५ २०७६

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij