गुल्मी /जनता टुडे
जिल्लामा सञ्चालित एक कार्यक्रमका सहभागीहरुले राष्ट्रिय किसान आयोगलाई कृषकका समस्याप्रति ध्यान दिन सुझाव दिएका छन् । जिल्लाको सदरमुकाम तम्घासमा राष्ट्रिय किसान आयोगको आयोजनामा जिल्ला स्तरीय किसान संघ, संगठन तथा संस्थाहरुको अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा सहभागीहरुले कृषिमा देखिएका विकृतिहरुको अन्त्य गर्दै कृषकहरुको समस्याप्रति ध्यान दिन सुझाव दिएका हुन् ।
उनीहरुले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी कृषकको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्नमा आयोगले चासो देखाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय कृषिमा थुप्रै समस्याहरु रहेकाले ति समस्याहरुको पहिचान गरी कृषिमा आत्मनिर्भर बनाउनतर्फ आयोगले ध्यान दिनुपर्ने बताए । कार्यक्रममा जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण पराजुलीले कृषि पेशालाई मर्यादित बनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाले कृषिमा देखिएका विकृतिहरुको अन्त्य गर्दै कृषकहरुको समस्यालाई उजागर गर्न आयोगलाई सुझाव दिनुभयो । तीन तहकै सरकारलाई रणनीतिक योजनाहरु बनाएर अगाडि बढ्न प्रमुख पराजुलीले सुझाव दिनुभयो । रेसुङ्गा नगरपालिकाका नगर–प्रमुख डिल्लीराज भुसालले कृषि क्षेत्रमा नीति, नियम र कानुन भए पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो । नगरपालिकाले कृषि उपज संकलन केन्द्रमार्फत कृषकहरुले उत्पादन गरेका उपजहरुलाई बजारीकरणमा ध्यान दिएको जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले विचौलीयाका कारण वास्तविक कृषकहरु समस्यामा परेको धारणा व्यक्त गर्नुभयो । उहाले वास्तविक कृषकहरु अनुदानबाट बञ्चित भईरहेको भन्दै अनुदानको दुरुप्रयोग गुल्मीमा पनि व्यापक देखिएको बताउनुभयो । गरिब कृषकहरुको जीवनस्तर माथि नउठेसम्म समृद्ध नेपालको परिकल्पना गर्न समेत नसकिने भन्दै सभापति श्रेष्ठले यस तर्फ सरकारले पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाले कृषि पेशा अपहेलित भएकाले श्रमको सम्मान गर्ने बानिको विकास गर्न आग्रह गर्नुभयो । देश अहिले बढ्दो व्यापार घाटासँग ग्रुजिरहेको बताउँदै कृषि उत्पादनलाई बढाएर परनिर्भताको अन्त्य गर्नुपर्ने सभापति श्रेष्ठले बताउनुभयो ।
कार्यक्रमलाई अखिल किसान महासंघ जिल्ला इञ्चार्ज शेषकान्त गौतम, राष्ट्रिय जनमोर्चाका जीवन राना लगायतले कृषकलाई सरकारले सम्मानजनक ढङ्गले हेर्नुपर्ने बताउनुभएको थियो । राष्ट्रिय किसान आयोगका सदस्य एवं कृषि विज्ञ उदयचन्द्र ठाकुरले आयोगका विविध विषयमा जानकारी दिनुभयो । उहाले किसान हक, हित अधिकार एवं किसानहरुको राज्यप्रतिको कर्तव्य र दायित्वका लागि नयाँ नीति ऐन वा नियमावली बनाउँन सरकारलाई सहयोग गर्ने आयोगको उद्देश्य रहेको बताउनुभयो ।
सोही अवसरमा जिल्ला समन्वय समितिका प्रमुख पराजुली एवं रेसुङ्गा नगरपालिकाका नगर प्रमुख भुसाललाई स्थानीयतहमा कृषि कार्यक्रम सञ्चालनका लागि कृषि नमुना कार्यक्रम समेत हस्तान्तरण गरिएको थियो । आयोगका सदस्य एवं प्रवक्ता रविन्द्र केसीले किसान अधिकार मैत्री वातावरण निर्माणमार्फत सबै किसानले आफूलाई प्राप्त अधिकारको निर्वाध उपभोग गर्न पाउने स्थिति निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो
। उहाले कृषकहरुसँग सुझाव लिने र केन्द्रमा विज्ञहरुसँग छलफल गरी नितिमा कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित हुने बताउनुभयो । आयोगले किसान अधिकारको अनुगमन, सुपरिवेक्षण गर्ने र सुधारका लागि सरकार समक्ष सिफारिस गर्ने छ । कार्यक्रममा आयोगका सदस्य बसन्ती घिमिरेको अध्यक्षता, वरिष्ठ कृषि अर्थ विज्ञ किशोर विष्टको सञ्चालनमा भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, पुष ४ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्