तिलोत्तमा-रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नंं. १७ लाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको छ । योसँगै नगरपालिकाका १७ वटा मध्ये १० वटा वडा शुन्य पोलिथिन क्षेत्र घोषणा भएका छन् । नगरपालिकालाई शुन्य पोलिथिन र पूर्णसरसफाईयुक्त नगर बनाउने अभियान अन्तर्गत मंगलबार सिमसारमा विशेष कार्यक्रम आयोजना गरी वडा नंं. १७ लाई शुन्य पोलिथिन वडा घोषणा गरिएको हो ।
शुन्य पोलिथिन अभियानको मुख्य उद्देश्य जल, जंगल र जमिन जोगाउने भएकोले त्यसैको सांकेतिक रुपमा पकडीहवाको सिमसार खेतमा घोषणा कार्यक्रम आयोजना गरिएको अभियन्ता निपेश ढाकाले बताउनुभयो । सिमसारमैं मञ्च निर्माण गरी घोषणा कार्यक्रम गरिएको हो ।
समारोहमा वडाभित्रका टोल विकास संस्था, विद्यालय, क्लव, आमा समूहका अध्यक्ष तथा वडाध्यक्ष दानबहादुर चौधरीलगायतका जनप्रतिनिधिहरुले प्लेकार्ड प्रदर्शन गर्दै घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने सामूहिक संकल्प गरेर वडालाई शुन्य पोलिथिन क्षेत्र घोषणा गरिएको हो । सो अवसरमा नगर प्रमुख बासुदेव घिमिरेले शुन्य पोलिथिन अभियान टोल, बस्ती, नगर सफा राख्ने मात्र नभई जल, जमिन र जंगल जोगाउने अभियान पनि भएको बताउनुभयो ।

अभियान अन्तर्गत् कयौं वर्षदेखि जमिनमा रहेको पोलिथिनलगायत नकुहिने फोहोर उठाइएको बताउँदै उहाँले यो अभियानलाई निरन्तरता दिन नगरबासीलाई आग्रह गर्नुभयो । उपप्रमुख जागेश्वरी चौधरीले वातावरण संरक्षण र माटोको उर्बराशक्ति जोगाउन नगरपालिकाले समुदायमा आधारित यो अभियान चलाएको बताउनुभयो । उहाँले हरेक व्यक्तिले आफूले गरेको फोहोर आफैं व्यवस्थान गर्नुपर्नेमा जोड दिँदै जथाभावी फोहोर फाल्नेलाई प्रचलित कानुनअनुसार कारवाही गरिने स्पष्ट पार्नुभयो ।

वडाध्यक्ष दानबहादुर चौधरीले वडालाई शुन्य पोलिथिन घोषणामा टोल विकास संस्था, क्लव, आमा समूह, विद्यालयको यथेष्ट सहयोग मिलेको बताउँदै यसको सफल कार्यान्वयनमा पनि सबैको साथ चाहिने बताउनुभयो । नगर प्रवक्ता सुरेन्द्र श्रीको सञ्चालनमा भएको कार्यक्रममा वडाबासीहरुले खुशीयाली मनाउँदै बाजागाजाका साथ नाचगान गरेका थिए । यसअघि तिलोत्तमाका वडा नंं. १, २, ४, ५, ६, ७, ८, ९, १६ वडा शुन्य पोलिथिन क्षेत्र घोषित भैसकेका छन् ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन २० २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्