बुटवल –रुपन्देहीमा निर्माणाधिन एउटा सिंचाइ आयोजनाको संरचना तीन महिना नहुँदै भत्किन थालेको छ । जिल्लाको रोहीणी गाँउपालिका २ को बैरिहवामा निर्माणाधिन डिप ट्युवेल सिचाइ आयोजना संचालनमा नआउदै त्यसका संरचना भत्कीएका हुन । गुणस्तरहिन निर्माण सामाग्री प्रयोग गरीएका कारण संचरनाहरु भत्किएको स्थानीयको दावी छ ।
बैरीयाको ६० बिगाह क्षेत्रफलमा सिचाइ पुरयाउने भनिएको अयोजना प्रदेश सरकारको ८० लाखको लागतमा बनाउन लागिएको हो । भूमिगत जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख महेश पोख्रेलका अनुसार दुइ वटा प्याकेज अन्तरगत बोरीङ्ग गाडने,पम्पघर,ओभरहेड ट्याङ्की तथा वासआउट निर्माणकालागि पुषमा ठेक्का सम्झौता भएको थियो । डिभिजन प्रमुख पोख्रेलका अनुसार पहिलो प्याकेजको १८ लाख र दोश्रो प्याकेजकालागि ८ लाखमा सम्झौता भएको हो । बशन्त कन्स्ट्रक्सन प्रालिले त्यसको ठेक्का पाएको छ । तेश्रो प्याकेज अन्तर्गतको वितरण प्रणालीको काम आगामी आर्थिक बर्ष गरीने बताइएको छ ।
पहिलो र दोश्रो प्याकेजमा ठेक्का सम्झौता अनुरुप बोरिङ गाडीएको छ । ओभरहेड ट्याङ्की, पम्प घर तथा वासआउट लगायतका संरचना बनेका छन । तर निर्माण सम्पन्न भएका भनिएका ती संरचना दुइ साता नहुँदै चर्केका छन । ओभरफ्लो पानीको व्यवस्थापनकालागि बनाइएको वासआउट तथा पम्पघरको फाउण्डेशन दवेको छ । भित्ता चर्केको छ । वरपरको पेटी धँसीएको छ । फुटेको छ ।
बैरीहवाका स्थानीय बुनीयाद अलिले कमसल निर्माण सामाग्री प्रयोग गरीएकै कारण ती संरचना कमजोर भएको बताए । पम्पघर, वाल,पेटी मा सिमेन्टको मात्रा निकै कम मिसाइएको दावी उनले गरे। ‘थोरै र कमसल सामान सस्तो किनीएको छ तर बिल धेरैको बनाएर भ्रष्टाचार गरीएको छ’ अलिले भने । अर्का स्थानीय करन खाँनलेपनि गुणस्तरहिन काम भएको बताए । दलका नेता,ठेक्केदार, जनप्रतिनिधि तथा नियामक निकायका अधिकारीहरुकै मिलेमतोमा कमसल सामाग्री प्रयोग गरी संरचना निर्माण गरीएको दावी खाँनको छ ।
कमिसन खान पल्केका उपभोक्ता समितिका पदाधिकारी तथा सरकारी अधिकारीहरुले बर्षाको बहाना बनाएर ठेक्केदारको लापरबाही र गुणस्तरहिन कामलाइ ढाकछोप गरीरहेको आरोप बैरीहवाका स्थानीयले लगाएका छन । रोहीणी गाँउपालिकाका अध्यक्ष सनोज कुमार यादवले पनि सिचाइका संरचना तीन महिनामै चर्कीनु,भत्कीनुले भ्रष्टाचारको आशंका जन्माएको बताए । ‘जुन ठाँउमा डिप ट्युवेल छ त्यहाँ न बर्षाको भेल पस्छ न बाढी । अनि कसरी बर्षाले भत्कायो भन्न मिल्छ’अध्यक्ष यादवले भने । कमसल काम गर्ने ठेक्केदारलाइ कारबाही नगरीए यस्ता घटना अन्यत्र पनि दोहोरीने उनले बताए ।
त्यसो त ठेक्केदारले संचरना मात्रै कमजोर बनाएको छैन । डिप ट्युवेलकालागि साढे ४ सय देखि ६ सय फुट पाइप जमिनमुनी धसाउने भनिएपनि ३ सय ६० फुट पाइप धँसाइएको छ । ‘३सय ६० फुट पाइप धसाएको हामीले नै देखेका हौं तर कागजमा ४ सय ६० फुट धसाइएको लेखिएको छ’स्थानीय मकसुद खाँनले भने ।
मापदण्ड बिपरित काम भइरहेको गुनासो स्थानीयले गरीरहदा नियामक निकायका अधिकारीहरु भने बर्षालाइ दोष दिएर ठेक्केदारलाइ जोगाउने प्रयत्नमा लागेका छन । भुमीगत जलश्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रुपन्देहीका इन्जिनीयर तारा कँडेलले बर्षाको समय भएकाले प्यारापेट वाल र वासआउटमा क्षती पुगेको बताइन । ‘दिनभर काम भयो । साँझ पानी आइदियो अनि वासआउट र प्यारापेट वाल दवीयो, चर्कीयो’ इन्जिनीयर कँडेलले भनीन । ठेक्का सम्झौता अनुरुपको निर्माण सकिएपनि आयोजना हस्तान्तरण भइनसकेकाले निर्माण कम्पनीलाइ मर्मतकालागि निर्देशन दिने उनले बताइन ।
इ.कँडेलले असार लागेपछि ती संरचना बनाइएको र पानीले भत्काएको भनेपनि आयोजना नजिकै घर भएका स्थानीयले भने गत फागुनमै ती संचरना बनाइएको दावी गरेका छन । कम लागतमा कमसल सामाग्री प्रयोग गरी बनाइएका संचरना भत्कन थालेपछि बर्षालाइ दोष दिएर भ्रष्टाचार ढाकछोप गर्न इन्जीनियर र उपभोक्ता समितिका अध्यक्ष कान्छा कहार लागी परेको स्थानीय मकसुद खाँनले बताए ।
शुक्रबार तीनै भत्केका र चर्केका संरचना टालटुल गर्दै गरेका मिस्त्री रघुनाथ गुप्ताले पनि प्रयाप्त र गुणस्तरीय निर्माण सामाग्री भए यस्तो समस्या नआउने बताए । ‘सिमेन्ट,छड,बालुवा गिट्टी राम्रो र प्रयाप्त काम पनि टिकाउ हुन्छ नभए भत्कीन्छ’ गुप्ताले भने । मिस्त्री गुप्ताका अनुसार उपभोक्ता समितिका अध्यक्ष कान्छाले भत्केको ठाँउमा टालटुल गरी चिटिक्क बनाउन निर्देशन दिएको बताए । ‘बचेको गिट्टी बालुवा र इटा कान्छाले लिएर जानु भयो । मलाइ आधा बोरा सिमेन्ट दिएर भत्केको टालेर नयाँ बनाइदेउ भन्नु भएको छ’ गुप्ताले भने । रोहीणी गाँउपालिकाका अध्यक्ष यादवले प्रदेस सरकारका अयोजनाहरुमा स्थानीय तहसंग कुनै समन्वयन नगरीदा र अनुगमन निरीक्षण प्रभावकारी नहुँदा ठेक्केदारको लापरबाही बढेको बताए ।
रुपन्देहीमा बिगतमा जस्तै यसपालीपनि सिचाइ,खानेपानी,खेलमैदान,बाटो,साना पुल, कल्भर्ड जस्ता आम जनतासंग प्रत्यक्ष जोडीएका आयोजनाहरुमा असारे मेलो चलीरहेको छ । असारे विकासबाट दलका नेता,जनप्रतिनिधि तथा कर्मचारीहरुले ठुलो रकम चलखेल गर्न पाउने भएकाले ठेक्केदारको लापरबाहीलाइ सम्बन्धित निकायले नै ढाकछोप गरीदिने जानकारहरु बताउछन । स्थानीय स्तरमा गठन गरीएका उपभोक्ता समितिहरु समेत उपभोक्ताकालागि नभइ भ्रष्टाचारीकालागि मध्यस्थकर्ताको रुपमा प्रयोग भइरहेका छन ।
साभार : यो समाचार आजको नागरिक दैनिक पत्रिका र नागरिक अनलाइनमा प्रकाशित छ ।
प्रकाशित मिति : आइतबार, असार २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्