सीमा व्यवस्थापन,नियन्त्रण र स्वास्थ्य जाँचलाइ प्रभावकारी बनाउने
बुटवल- प्रदेश नं. ५ मा कोरोना संकट व्यवस्थापन केन्द्रले कोभिड १९ को जोखीम न्युनीकरणकालागि सीमा व्यवस्थापन ,नियन्त्रण तथा स्वास्थ्य जाँचलाइ प्रभावकारी बनाउने भएको छ ।
मुख्य मन्त्री शंकर पोखरेलको अध्यक्षतामा आज बसेको केन्द्रको बैठकले लकडाउन खुलेसंगै संक्रमणको जोखीम बढेको भन्दै कैन्द्रले नेपाल भारत सिमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने,हेल्थडेक्स राखी चेकजाँचको व्यवस्था गर्ने निर्णय गरेको हो । केन्द्रले संक्रमण फैलन नदिन तयारीमा जुटन प्रदेश मातहतका सरकारी निकाय, तथा स्थानीय तहहरुलाइ आग्रह पनि गरेको छ ।
नेपाल भारतबिचको छोटो आवागमनलाइ नियन्त्रण गर्ने,कम्तीमा १४ दिन क्वारेन्टिन नराखेको व्यक्तिलाइ काममा नलगाउने,अन्तरप्रदेश आवागमनलाइ पनि व्यवस्थित र सुरक्षित गराउन जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रलाइ निर्देशन दिएको छ । संक्रमण र जोखीमको अवस्था अनुसार सम्बन्धित पालिका वा जिल्लामा शिल गर्ने निर्णय पनि बैठकले गरेको छ । यसअघिको निर्णय बमोजिम तराइका जिल्लामा हरेक स्थानीय तहमा क्वारेन्टाइन र २ सय बेडका आइसोलेसन र पहाडी जिल्लामा २ सय बेडको आइसोलेसन र रुकुम पुर्वमा कम्तीमा ५० बेडको आइसोलेसन सेन्टर निर्माण गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोभिड १९ को थप जोखीमको विश्लेषण गरी हाल कोरोना विशेष अस्पतालहरुमा खटाइएको जनशक्तिलाइ थप तीन महिनाकालागि निरन्तरता दिन बैठकले सामाजिक विकास मन्त्रालयलाइ निर्देशन दिएको छ । मास्क खरीद गर्न नसक्नेहरुकालागि पालिकाले नै मास्कको व्यवस्थापन गरीदिनु पर्ने निर्णय पनि गरीएको छ ।
यी हुन् प्रदेश कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले गरेका निर्णयहरु
१। कोभिड १९ को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै सीमा व्यवस्थापन र नियन्त्रणलाई प्रभावकारी बनाउने । नेपाल भारत बीचका तोकिएका सीमा नाकाबाट सुरक्षित आवागमनको व्यवस्था गर्ने, अभिलेख राख्ने र हेल्थडेस्क राखी चेकजाँचको प्रभावकारी व्यवस्था समेत मिलाउने ।
२।नेपाल भारतबीचको छोटो खालको आवतजावतलाई नियन्त्रण गर्ने । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले कम्तिमा १४ दिन क्वारेन्टाइनमा नराखेको व्यक्तिलाई काममा नलगाउन सम्बन्धित रोजगारदाताहरुलाई समेत सुसूचित गर्ने व्यवस्था मिलाउने ।
३।अन्तरप्रदेश आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउने सम्बन्धमा स्वास्थ्य सुरक्षाका मापदण्ड र हेल्थडेस्कको व्यवस्थालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने व्यवस्था जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले मिलाउने ।
४। संक्रमण जोखिमको अवस्था हेरी समुदायमा संक्रमण देखिएमा सिल गर्ने । यस्तो स्थानको परिक्षणको कार्यलाई छरितो र प्रभावकारी बनाउने ।
५।हरेक पालिकाहरुले पूर्ववत निर्णय बमोजिम नै तराईका जिल्लामा कम्तिमा २ सय बेड, पहाडका जिल्लामा कम्तिमा २ सय बेड र रुकुम पूर्व जिल्लामा कम्तिमा ५० बेड क्षमताको आइसोलेसन सेन्टर निर्माण गरी सञ्चालनमा ल्याउने ।
६ पालिकाहरुले विगतमा क्वारेन्टाइन निर्माणका क्रममा खरिद गरेका सामग्रीहरुको अत्यावश्यक समयमा उपयोगमा ल्याउन सक्ने गरी व्यवस्थापन, भण्डारण र अभिलेखीकरण प्रभावकारी रुपमा गर्ने ।
७। सामाजिक विकास मन्त्रालयले कोभिड १९को थप जोखिमलाई विश्लेषण गरी हाल कोरोना विशेष अस्पतालमा खटिएको जनशक्तिलाई थप तीन महिनाका लागि निरन्तरता दिने ।
८। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालालाई कोभिड १९ को परिक्षणका लागि सञ्चालनमा ल्याउन सामाजिक विकास मन्त्रालयले आवश्यक पहल गर्ने ।
९। स्वास्थ्य तथा सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्न गराउन सुरक्षा निकायले अभियानकै रुपमा कार्य सञ्चालन गर्ने । साथै जनचेतना वृद्धि गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आवश्यक समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने ।
१०। पालिकास्तरमा मास्क खरिद गर्न नसक्ने व्यक्तिहरुलाई पालिकाले व्यवस्था गर्ने । मास्क प्रयोग नगरी हिड्नेहरुलाई मास्क प्रयोग गर्न अनुरोध गर्ने । अटेर गर्ने वा वेवास्ता गर्नेलाई जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रले नियमानुसार जरिवाना गरी प्रदेश कोरोना रोकथाम तथा उपचार कोषमा रकम जम्मा गर्ने ।
११। सुरक्षा निकायको जनशक्तिमा संक्रमण देखिएमा आइसोलेसनमा राख्ने व्यवस्थाका लागि आवश्यक स्थान र सामग्रको अग्रिम व्यवस्था गर्ने ।
१२ प्रदेशमा थप संक्रमण र जोखिम हुन नदिन सबै निकाय र पदाधिकारीहरुले अग्रसरता लिई आवश्यक समन्वय सहित कार्य गर्ने ।
१३। आगामी दिनमा प्रदेशमा कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयले आवश्यक जनशक्ति, औषधी र अन्य स्वास्थ्य सामाग्रीहरुको प्रभावकारी प्रवन्ध गर्ने ।
प्रकाशित मिति : सोमबार, साउन २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्