काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज (मङ्गलबार) राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेटेको भोलिपल्ट प्रधानमन्त्री ओलीले बैठक आह्वान गरेका हुन् । मुलुकमा कुनै गम्भीर सुरक्षा चुनौती देखिँदा यस्तो बैठक बोलाउने गरिएको छ । तर बिहान ९ बजे बोलाइएको बैठकलाई नियमित भनेर ओलीको सचिवालयले जानकारी दिएको छ ।
रक्षा मन्त्रालयका सचिव एवम् सुरक्षा परिषद्का सदस्य सचिव रेश्मीराज पाण्डेका अनुसार बैठक नियमित हो । प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता भएको भोलिपल्ट आह्वान गरिएको बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ ।
नियमित बैठक भनिए पनि बैठकलाई महत्त्वका साथ हेरिएको छ । सचिव पाण्डेका अनुसार मुलुकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम र आउँदो वैशाखमा हुने चुनावलगायतका विषयमा बैठकमा छलफल हुने छ । बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापा लगायत सहभागी हुने बताइएको छ ।
समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ । परिषद्मा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव, प्रधानसेनापति सदस्य र रक्षा मन्त्रालयका सचिव सदस्य सचिव रहने व्यवस्था छ ।
प्रकाशित मिति : मंगलबार, फाल्गुन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्