अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

अमेरिकाको सिनेटमा नेपालको कोरोना भाइरसको असरका बारेमा छलफल

एजेन्सी – अमेरिकी सिनेटअन्तर्गतको वैदेशिक मामिला समितिमा बुधबार नेपालमा कोरोना भाइरसले पारेको असरका बारेमा छलफल भएको छ । कोभिड–१९ महामारी र अमेरिकाको अन्तर्राष्ट्रिय ‘रेसपोन्स’का बारेमा भएको सुनुवाइ कार्यक्रममा कनेक्टिकट राज्यबाट अमेरिकाको सिनेटमा प्रतिनिधित्व गर्नुहुने सिनेटर क्रिस मुर्फेले नेपाल लक्षित भएर जिज्ञासा राखेका थिए ।

उनले नेपालको करिब तीन करोड जनसङ्ख्या कोरोना भाइरसको मारमा परेको भन्दै युएसएआइडीले हालै गरेको सहयोगका बारेमा समेत चर्चा गरेका थिए । सिनेटर क्रिसले नेपालमा स्वास्थ्य सामग्रीको निर्यातमा भारतले बन्देज लगाएकाले अवस्था झन नाजुक भएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

कोभिड महामारीको लागि युएसएआइडीका लागि वरिष्ठ सल्लाहकार जेरेमी कोन्डयाकले नेपालको अवस्था भयावह भएको उल्लेख गर्दै परीक्षण गरिएका अधिकांशमा कोरोनाको सङ्क्रमण पाइएको बताए । यो दर उच्च भएको उनको टिप्पणी छ । उनले नेपाललाई अतिरिक्त सहायताका लागि योजना बनाइरहेको पनि सिनेटलाई जानकारी दिए ।

अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले सिनेटमा नेपालको विषयले प्रवेश पाएकोमा खुशी व्यक्त गर्दे भने, “अहिले नेपाललाई स्वास्थ्य आपतकालसँग जुध्न मित्रराष्ट्र अमेरिकाले सहयोग गर्नु विगतमा अन्य तरिकाको गरिएको सहयोगभन्दा पनि महत्वपूर्ण हुने बताए । उनले अमेरिकाका सम्बन्धित निकायहरुलाई नेपालको महामारीको असरको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउँदै नेपाललाई विभिन्न तरिकाले सहयोगको खाँचो रहेको र त्यसका लागि अमेरिकी सरकारसँग दूतावासले अनुरोध गरिरहेको जनाए ।

अमेरिकाको मेरिल्याण्ड राज्यका लागि नेपाली मूलका पहिलो विधायक ह्यारी भण्डारीले अमेरिकी सरकारलाई सहयोग गर्न अपिल गर्दै राष्टपति जो वाइडेनको प्रशासनलाई दबाब दिन हस्ताक्षर अभियान चलाएका थिए । उनले मेरिल्याण्डबाट प्रतिनिधित्व गर्ने सिनेटरहरु क्रिस भ्यान होलान र वेन कार्डेनको कार्यालयलाई समेत नेपालको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै सहयोगको लागि सङ्घीय सरकारसँग अनुरोध गर्न पहलकदमी गरेको बताए । रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै भण्डारीले भने, “सिनेटरहरुले गर्नुभएको पहलकदमीले हामीलाई उत्साहित बनाएको छ ।”

अमेरिकाले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि स्वास्थ्य उपकरणहरु सहयोग गर्दै आएको छ । विगत एक बर्षको बीचमा युएसआइडीले तीन करोड ६८ लाख अमेरिकी डलर सहयोग गरेको छ भने डिपार्टमेन्ट अफ डिफेन्समार्फत ३१ लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गरिसकेको छ ।

अमेरिकामा २५ करोड जनसङ्ख्याले कोरोना भाइरसको खोप लगाइसकेको छ र खोपको उत्पादन तीव्रगतिमा हुँदै गएकाले कोभ्याक्समार्फतको खोप केही साताभित्र नेपाल पुग्ने अपेक्षा गरिएको छ ।

रासस

प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij