उपनिर्वाचनको पूर्व सन्ध्यामा आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

उपनिर्वाचनको पूर्व सन्ध्यामा आयोगले दियो लुम्बिनीका चार सांसदलाई मत हाल्ने अधिकार

दाङ ।

लुम्बिनी प्रदेशमा एक जना राष्ट्रिय सभा सदस्यका लागि सोमबार हुन लागेको मतदानमा ४ जना मतदाता थपिएका छन्। पार्टीले प्रदेश सांसदबाट हटाएका ४ जनालाई मतदान सुरू हुनु १६ घन्टाअघि निर्वाचन आयोगले मतदानको अधिकार दिएको हो।

निर्वाचन आयोगले आइतबार जनता समाजवादी पार्टीबाट मन्त्री बनेका ४ जना सांसदलाई पनि पूरक मतदाताको अधिकार दिएको जिल्ला निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए। योसँगै लुम्बिनी प्रदेशमा ८३ जना प्रदेश सभा सदस्यले मताधिकार पाएका छन्।

पाँच बजेपछि मात्रै निर्वाचन आयोगले थप ४ जना सांसदलाई पूरक मतदाताको रूपमा अधिकार दिएको हुँदा प्रदेश सभामा कूल मतदाता संख्या ८३ पुगेको हो,’ कुँवरले भने।

यसअघि जसपाको एक समूहले सांसदहरू कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयवहादुर यादवलाई कारबाही गरेको थियो। उनीहरू मुख्यमन्त्री शंकर पोखरेलको सरकारमा मन्त्री छन्। उनीहरूलाई पार्टीको सिफारिसमा सभामुखले पदमुक्त गरेका थिए। ४ जनाले सर्वोच्चम मुद्दा हालेका थिए। सर्वोच्चले उनीहरूलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको थियो।

पार्टीले कारबाही गरेको हुँदा उनीहरूले मतदान गर्न नपाउने भनिएको थियो। त्यसैले प्रदेश सभामा त्यसअघिसम्म कूल मतदाता ७९ जनामात्रै रहेको निर्वाचन कार्यालयले जानकारी दिएको थियो।
यो निर्वाचनमा एक जना प्रदेश सभा सदस्यको मतभार ४८ रहन्छ।

निर्वाचनको पूर्वसन्ध्यामा आयोगले गरेको यो निर्णयलाई विपक्षी गठबन्धनले जालझेलको संज्ञा दिएको छ।

अर्घाखाँचीमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य निर्वाचित चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि उनलाई पार्टीले कारबाही गरेको थियो। उनी पदमुक्त भएपछि सोही ठाउँमा सोमबार उपनिर्वाचन हुन लागेको छ।

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा सोमबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने छ।

विपक्षी गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव र बाबुराम भट्टराई समूह, राष्ट्रिय जनमोर्चा र नेकपा एमालेभित्रको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कपिलवस्तुका दृगनारायण पाण्डेलाई उम्मेदवार बनाएको छ।

उनी हालै मात्र प्रदेश सभा सदस्यबाट राजीनामा दिँदै एमाले परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका थिए।

त्यस्तै माओवादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका खड्कालाई एमालेको समर्थन छ। उनलाई जसपाको महन्थ ठाकुर पक्षको समर्थन छ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij