काठमाण्डाै – अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै वाग्लेले २०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनदेखिको आफ्नो संलग्नता एवम् ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको छ ।
उहाँले कांग्रेसमा बसेर ३० वर्षदेखि परोक्ष र गएकाे १० वर्षदेखि प्रत्यक्षरूपमा आर्थिक नीति र योजना, विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरेको स्मरण गर्नुभएको छ । उहाँले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउनका लागि स्वर्गीय सभापति सुशील कोइराला र वर्तमान सभापति शेरबहादुर देउवा दुवैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर देशको मान राख्न सकेकोमा गर्व लागेको बताउनुभएको छ ।
तर पछिल्ला वर्षहरूमा कांग्रेस पार्टीभित्रका गतिविधिहरू नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको र जननायक वीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ/भाउजु, साला/भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा रहेकाले दल छाड्न बाध्य भएको वाग्लेले उल्लेख गर्नुभएको छ ।
उहाँले अब कांग्रेस कम्युनिस्टका असल व्यक्ति, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका एवम् विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरू मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताउनुभएको छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेन्डा बोक्दै २०८० सालको सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुने उल्लेख गर्दै उहाँले आम नैराश्य चिरेर यो देश बन्छ भन्ने आशा जगाउने बनाउनेसमेत प्रण गर्नुभएको छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र १६ २०७९
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्