काठमाण्डाै – रुसी सेनामा भर्ती हुन गएका थप तीन जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरीको ज्यान गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्याङ्जाकाे वालिङ नगरपालिका–१४ का हरिप्रसाद अर्याल गएको कात्तिक ३ गते मात्रै रुस जानुभएको थियो । अर्यालको मृत्यु भएको विषय वडा कार्यालय र परिवारलाई सरकारी संयन्त्रले जानकारी गराएको छ । योसँगै रुस–युक्रेन युद्धमा गएर ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ ।
परराष्ट्र मन्त्रालयले औपचारिक रूपमा पुस ४ गतेसम्ममा ज्यान गुमाउने नेपालीको सङ्ख्या सात जना पुगेको जनाएको थियो । यसअघि ज्यान गुमाउनेमा स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्की, इलाम–५ का गंगाराज मोक्तान, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार कार्की, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की, कास्कीका देवान राई, गोरखाका सन्दीप थपलिया र कुन्दन सिंह नागल रहेका छन् ।
यस्तै रुसी फौजमा भर्ना भएका चार जना नेपालीलाई युक्रेनी सेनाले कब्जामा लिएको भन्दै उद्धारका लागि परराष्ट्र मन्त्रालयमा गुनासो पुगेको छ । सरकारले नेपालीको रिहाइका लागि युक्रेन सरकारसँग कुराकानीको प्रयास भइरहेको जनाएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले केही दिनअघि राष्ट्रिय समाचार समितिसँगको एक अन्तर्वार्तामा नेपालबाट झन्डै दुई सय जना युवा रुसी फौजमा भर्ना हुन गएको हुनसक्ने भन्दै एक सय जना सम्पर्कविहीन भएका खबर आएको बताउनुभएको थियो ।
प्रकाशित मिति : मंगलबार, पुष १७ २०८०
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्