‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

‘भुइँमान्छे’ पुस्तक समीक्षा : कम्युनिस्ट आन्दोलनका बिर्सिएका नायकहरूको दस्तावेज

 

बुटवल – डा. बिन्दा पाण्डेद्वारा लिखित पुस्तक ‘भुइँमान्छे’ माथि मंगलबार गहन छलफल गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको संघर्ष, त्याग र योगदानलाई केन्द्रमा राखेर लेखिएको पुस्तकलाई समीक्षकहरूले इतिहासको बिर्सिएको अध्याय पुनः लेख्ने प्रयासका रूपमा लिएका छन्।

समीक्षाको क्रममा वक्ताहरूले नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वसाधारण कार्यकर्ताहरूले खेलेको भूमिकालाई पुस्तकले सशक्त रूपमा उजागर गरेको बताए। उनीहरूले जनताको बलिदानबिना कुनै पनि आन्दोलन सफल नहुने तर्क राख्दै, इतिहास लेख्दा तल्लो तहका संघर्षशील पात्रहरूलाई उपेक्षा गर्न नहुने धारणा व्यक्त गरे।

कार्यक्रममा समीक्षक ऋषि आजादले भने, “कम्युनिस्ट आन्दोलनका सफलता नेताहरूको मात्र योगदान होइन, तर वास्तविक नायकहरू त ती भुइँमान्छेहरू हुन्, जसले आफ्नो घरबार गुमाएर, ज्यानकै बाजी लगाएर आन्दोलनलाई जीवित राखे। यो पुस्तक त्यही उपेक्षित इतिहासको दस्तावेज हो।” उनले समतलिय सोचाइले मात्रै सबैको सम्मान हुने बताए ।

साहित्यकार दलबहादुर गुरुङले पुस्तकलाई ऐतिहासिक पुनर्लेखनका रूपमा लिँदै भने, “कम्युनिस्ट आन्दोलनको इतिहास नेताहरूले मात्र लेख्न सक्दैनन्। तल्लो तहका कार्यकर्ताहरूको कथा समेट्नु जरुरी छ। इतिहासमा सधैं ठूलो नाम भएका व्यक्ति मात्र प्रमुख हुँदैनन्, कहिलेकाहीँ आन्दोलनका असली पात्रहरू ओझेलमा परेका हुन्छन्। यो पुस्तकले त्यही वर्गको आवाज बुलन्द गरेको छ।” उनले यस पुस्तकलाई वास्तविकतासंग जोड्न छोटो अडियो भिडियो मार्फत सबै माझ पुर्‍याउनु पर्ने बताए ।

कार्यक्रममा समीक्षक इन्दिरा अर्यालले पुस्तकभित्र उल्लेख गरिएका भूमिगत महिलाहरूको संघर्षलाई विशेष रूपमा उजागर गरिन्। उनले भनिन्, “तत्कालीन भूमिगत आन्दोलनमा महिलाहरूले पुर्‍याएको योगदानलाई नेतृत्वले सधैं उपेक्षा गर्‍यो। उनीहरू घर छोडेर, परिवारलाई जोखिममा पारेर आन्दोलनमा होमिए। तर, जब सत्ता परिवर्तन भयो, तिनै महिलाहरू भुले। यो पुस्तकले तिनै महिलाहरूको योगदानको पुनर्मूल्याङ्कन गर्न मद्दत गर्नेछ।”

पुराना कम्युनिस्ट नेता देवेन्द्र घिमिरेले इतिहास नबुझी भविष्य सुरक्षित गर्न नसकिने उल्लेख गर्दै ‘आजको पुस्ताले बुझ्नुपर्छ, पार्टी निर्माण कसरी भयो? कुन वर्गको त्यागका कारण आन्दोलन सम्भव भयो? इतिहास बुझ्न नसक्ने पार्टीले भविष्य निर्माण गर्न सक्दैन।’ उनले भने ।

लेखक डा. बिन्दा पाण्डेले ‘आश्रय, सुरक्षा र सम्पर्कका सारथि भुइँमान्छे’ पुस्तक ०२८ सालको झापा विद्रोहदेखि ०४६ सालसम्मको कम्युनिस्ट आन्दोलनमा तल्लो तहका कार्यकर्ताहरूको भूमिकालाई समेटेर लेखिएको बताइन् । उनले भनिन्, “हिजो पार्टीलाई जोगाउन हजारौं जनताले आफ्नो ज्यान जोखिममा राखे, भूमिगत नेताहरूलाई आश्रय दिए, खाना खुवाए, सुरक्षाको प्रत्याभूति गरे। तर, जब सत्तामा पुगियो, तिनै आधारस्तम्भ बनेका कार्यकर्ताहरूलाई बिर्सिए।”

पुस्तकमा पार्टीको संरचना कसरी परिवर्तन हुँदै गयो, ‘कोअर्डिनेसन केन्द्र’ देखि माले हुँदै नेकपा (एमाले) सम्मको यात्रा कस्तो रह्यो, कसरी तल्लो तहका कार्यकर्ताहरूको त्यागले आन्दोलनलाई अघि बढायो, तर पछि तिनै कार्यकर्ताहरूलाई कसरी ओझेलमा पारियो भन्ने कुराहरू गहिरो रूपमा उल्लेख छन् ।

पत्रकार महिलाहरूको संस्था संचारिका समूहद्वारा आयोजित कार्यक्रममा लेखक, विश्लेषक, साहित्यकार, पत्रकार, सामाजिक अभियन्ता तथा राजनीतिकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा संचारिका समूहकी अध्यक्ष अमृता अनमोलले पुस्तक समीक्षा गर्न सहयोग पुर्‍याउने सबैप्रति आभार व्यक्त गरिन्। उनले भनिन्, “हिजो क्रान्तिका लागि लड्नेहरू आज बिर्सन मिल्दैन। पुस्ताले सही इतिहास पढ्नुपर्छ। यही उद्देश्यले हामीले यो समीक्षा कार्यक्रम आयोजना गरेका हौं।”

सहभागीहरूले पुस्तकलाई नेपाली कम्युनिस्ट आन्दोलनका अदृश्य नायकहरूको दस्तावेजको रूपमा लिँदै हरेक राजनीतिक विद्यार्थी, इतिहासविद्, कार्यकर्ता र जनसाधारणले पढ्नुपर्ने पुस्तक भएको निष्कर्ष निकाले।

प्रकाशित मिति : मंगलबार, चैत्र १२ २०८१

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij