बुटवल -सफा र स्वस्थ नगर निर्माण गर्ने उद्देश्यसहित मोतीपुर क्षेत्रमा बृहत् सामूहिक सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सरसफाइ अभियानसँगै क्यालेण्डर विमोचन कार्यक्रम पनि सम्पन्न भएको छ।मोतीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अगुवाइमा बुटवल उपमहानगरपालिका–१७, १८ र १९ का ३५ वटा टोलमा एकैपटक सरसफाइ अभियान सञ्चालन गरिएको हो।
अभियानअन्तर्गत नाली सफा गर्ने, प्लास्टिक तथा अन्य फोहर संकलन गर्ने र सार्वजनिक स्थानमा रहेका फोहर व्यवस्थापन गर्ने कार्यहरू सम्पन्न गरिएको संस्थाले जनाएको छ। एकैपटक ३५ टोलमा गरिएको सरसफाइले स्थानीय स्तरमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।
कार्यक्रमका क्रममा झण्डै ३,५०० भन्दा बढी स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूको सक्रिय सहभागिता रहेको थियो। मोतीपुर क्षेत्रलाई स्वच्छ र व्यवस्थित बनाउन समुदायको उल्लेखनीय सहभागिता देखिएको आयोजक संस्थाले जनाएको छ।
बुटवल १७ रानिगंजमा भएको कार्यक्रमका सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे ले झण्डै ३,५०० स्थानीय दिदीबहिनी तथा दाजुभाइहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यक्रम उदाहरणीय रहेको बताउनुभयो।उहाँले मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले सञ्चालन गरेको अभियानलाई नमुना कार्यका रूपमा व्याख्या गर्दै यस्ता जनसहभागितामूलक कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिने र “आफ्नो ठाउँ आफैं सफा गर्ने” संस्कारको विकास हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले मोतीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सञ्चालन गर्दै आएको अभियानलाई उदाहरणीय र अनुकरणीय कार्यका रूपमा उल्लेख गर्नुभयो।कार्यक्रममा बुटवल–१७ का वडा अध्यक्ष ज्ञानबहादुर रेस्मीले स्थानीय तहको समन्वयमा यस्ता कार्यक्रमले समुदायमा जागरण ल्याउने बताउनुभयो. संस्थाका संस्थापक अध्यक्ष भीमप्रसाद न्यौपाने ले यस्तो अभियानले समुदायमा सचेतना वृद्धि हुने र सरसफाइप्रति जिम्मेवारी भावना विकास हुने उल्लेख गर्नुभयो।सरसफाइलाई अभियानकै रूपमा निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।संस्थाका अध्यक्ष खोमराज ढकालले सरसफाइ अभियानमा सहभागी सम्पूर्ण नागरिक, टोल विकास संस्था तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।
उहाँले समुदायलाई निरन्तर सरसफाइमा सक्रिय रहन आग्रह गर्दै संस्थाले हरेक महिनामा नियमित रूपमा सरसफाइ अभियान सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। उहाँले यस्ता कार्यक्रमलाई दीगो बनाउँदै स्वच्छ वातावरण निर्माण गर्ने लक्ष्य रहेको बताउनुभयो।
कार्यक्रममा संस्थाका सह सचिव मिन प्रसाद श्रेष्ठको स्वागत एवम संस्थाका सचिव केशवराज पाण्डेले कार्यक्रमको उद्देश्य, तयारी तथा समन्वयबारे प्रकाश पार्दै स्थानीय नेतृत्व र जनसहभागिताकै कारण अभियान सफल भएको उल्लेख गर्नुभयो।
प्रकाशित मिति : आइतबार, चैत्र २९ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्