काठमाण्डौ , सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति निकालेर कपोलकल्पित समाचार सम्प्रेषण गर्ने व्यक्ति वा संस्थालाई विद्युतीय कारोबार ऐन र अन्य प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो । पछिल्लो समय विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आधिकारिकता पुष्टि नभएका सूचनाहरू प्रवाह भइरहेको भन्दै मन्त्रालयले यस्ता सामग्रीले आम नागरिकमा अनावश्यक भ्रम सिर्जना गरेको, समाजमा नकारात्मक र गलत मनोविज्ञान फैलाएको र हचुवाका भरमा सूचना प्रवाह गरी सामाजिक सद्भावमा आँच पुर्याएको उल्लेख गरेको छ ।
मन्त्रालयले सबै सञ्चारमाध्यम, सूचना प्रदायक संस्था तथा व्यक्तिलाई आधिकारिक निकायबाट पुष्टि नभएका समाचार तथा सूचना हचुवाका आधारमा प्रकाशन वा प्रसारण नगर्न सचेत गराएको छ । यदि आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन वा प्रसारण भएको पाइएमा त्यस्ता सामग्री प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई पहिचान गरी प्रचलित कानुनअनुसार कडा कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।
त्यसैगरी, मन्त्रालयले भ्रामक सूचना फैलाउन सहयोग पुग्ने कुनै पनि क्रियाकलापमा संलग्न नहुन आम नागरिकलाई पनि आग्रह गरेको छ । यस्ता भ्रामक सूचना वा समाचारबारे जानकारी भएमा वा गुनासो भएमा मन्त्रालयको आधिकारिक वेबसाइटमा रहेको ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ पोर्टलमार्फत विवरण उपलब्ध गराउन अनुरोध गरिएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १० २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्