रोल्पा दुर्घटना मृतक सबैको पहिचान खुल्यो

रोल्पा दुर्घटना मृतक सबैको पहिचान खुल्यो

दाङ , रोल्पामा बिहीबार जिप दुर्घटनामा परी मृत्यु भएका सबैको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख बुढाथोकी, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीय सुदीप बुढाथोकी र ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगर–१६ रतनपुर बस्ने ५४ वर्षीया द्रौपति जिसी, ३२ वर्षीया तिला जिसी, सात वर्षीय जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, सात वर्षीय संयोग जिसी, २५ वर्षीया एलिना जिसी, उमेर नखुलेका लमजुङका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन् ।

त्यस्तै, दाङ शान्तिनगर गाउँपालिका स्थायी घर भई हाल रुकुम सिस्ने—५ बस्ने जिप चालक ४२ वर्षीय बेदबहादुर विक, सिस्ने—५ की ६० वर्षीया मीना कामी र ६० वर्षीया लक्ष्मी शाह, रुकुम पूर्वकै भूमे गाउँपालिका—५ का टेकप्रसाद बस्नेत र सिस्ने ५ कै २७ वर्षीया रुक्मिणा बस्नेत रहेका छन् ।

दुर्घटना स्थल अत्यन्तै अप्ठेरो भौगोलिक क्षेत्रमा रहेकाले उद्धार तथा शव निकाल्न केही ढिलाइ भएको प्रहरीले जनाएको छ ।

रुकुम पूर्वबाट रोल्पाको थबाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जिप बिहीबार दिउँसो ३ः०० बजे रोल्पाको थबाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा भिरबाट ८०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

जिपमा चालकसहित २१ जना सवार रहेका थिए । तीमध्ये २० जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतक सबैको शव परीक्षणका लागि थबाङस्थित आधारभूत अस्पतालमा ल्याइएको छ । छतमा बसेका रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय समीर कामी मात्रै जीवित रहेका छन् ।

उनले जिप दुर्घटना हुन लाग्दा छतबाट हामफालेर रूखको जरामा समातिँदै ज्यान जोगाएका हुन् । उनको थबाङ आधारभूत अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि गए राति पूर्वी रुकुम अस्पतालमा लगिएकामा अहिले उनलाई अस्पतालले घर पठाएको छ ।

उनको बायाँ खुट्टा, निधार र आँखामा चोट लागेको अस्पतालले जनाएको छ । दुर्गम भेग, निरन्तर वर्षा र कमजोर सञ्चार सञ्जाल, कच्ची सड्क लगायत कारण उद्धार कार्यमा कठिनाइ भएको रोल्पा प्रहरीले बताइएको छ ।

घटना भएको खबर लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि र स्थानीयवासीको बिहीबार उद्धारमा जुटेका हुन् । उनीहरूले अबेर रातिसम्म उद्धार कार्यमा लागे पनि बिहीबार उद्धार कार्य नसकिएपछि आज बिहानैदेखि सुरक्षाकर्मी र स्थानीयवासीको सहभागितामा उद्धार कार्य सम्पन्न गरिएको हो ।

मृतकको शव सडकसम्म ल्याउन निकै कठिनाइ भएको सुरक्षा अधिकारीले जनाएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार कच्ची तथा चिप्लो सडक, लगातारको वर्षा र क्षमताभन्दा बढी यात्रु बोकेका कारण जिप अनियन्त्रित भई दुर्घटना भएको अनुमान गरिएको छ । मृतक सबै वैशाख पूर्णिमाको अवसरमा आज शुक्रबार जलजलामा लाग्ने बराह पूजामा सहभागी हुन जान लागका तीर्थयात्री हुन् ।

दुर्घटना छानबिनका लागि समिति गठन

रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडक खण्डमा बिहीबार दिउँसो भएको जिप दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ ।

मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका अनुसार सचिव स्तरीय निर्णयबाट लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक यादव ढकालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई घटनाको सत्य तथ्य अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

समितिमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, सशस्त्र प्रहरी बल रोल्पाका सशस्त्र प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सदस्य रहेका छन् । गृह मन्त्रालयले दुर्घटनाको कारण, सम्भावित लापरबाही वा कमजोरी पहिचान गर्न तथा भविष्यमा यस्ता दुर्घटना न्यूनीकरणका उपाय सुझाउन स्पष्ट कार्यादेश दिएको छ । उक्त समितिले आफ्नो कार्य थालिसकेको जनाएको छ ।

प्रकाशित मिति : शनिबार, बैशाख १९ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij