JanataToday.com

Advertisment

SKIP THIS

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला, पाँच हजार ३२६ जना सम्पर्कविहीन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् ।

प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् । बाढीपछि करिब पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ । सम्पर्कविहीनमध्ये रसुवाका दुई हजार ८६०, नुवाकोटका एक हजार ९८१ नेपाली र करिब ५८७ विदेशी पर्यटक रहेको प्राधिकरणले जनाकारी दिएको छ

प्राधिकरणको प्रवक्ता शान्ति महतले हालसम्म १३ हजार ५८३ जनाको उद्धार गरिएको र बाढीबाट घाइते भएका छ हजार ८२७ जनाको उपचार गरिएको जानकारी दिइन् । “तीमध्ये विभिन्न दश अस्पतालमा ३२७, नेपाली सेनामार्फत तीन हजार ४०४ र सशस्त्र प्रहरी बलमार्फत तीन हजार ९६ जनाको उपचार गरिएको छ”, उनले भने ।

प्राधिकरणले उपलब्ध गराएको विवरणअनुसार नेपाल प्रहरीका सात हजार ९१२, नेपाली सेनाका नौ हजार २८७ र सशस्त्र प्रहरी बलका चार हजार २०३ गरी २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रभावित क्षेत्रमा ३९ वटा होल्डिङ सेन्टर स्थापना गरी तीन हजार ५३३ जनालाई राखिएको प्राधिकरणले जनाएको छ । तीमध्ये रसुवामा ६६९, नुवाकोटमा दुई हजार ६५१ र धादिङमा २१३ जना रहेका छन् ।

उद्धार तथा राहतका लागि नेपाली सेनाले एक हजार १५७ पटक, काठमाडौँबाट निजी क्षेत्रले १२९ पटक र सशस्त्र प्रहरी बलले २०३ पटक हेलिकप्टर उडान गरेका छन् ।

सरकारले रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख नगद राहत उपलब्ध गराएको छ । प्रभावित १५ पालिकालाई रु १३ करोड ५० लाख राहत उपलब्ध गराइएको छ ।

प्रभावित क्षेत्रमा डिजेल ५० हजार लिटर, पेट्रोल १८ हजार लिटर र हवाई इन्धन १८ हजार लिटर मौज्दात रहेको छ भने ४५७ ग्यास सिलिन्डर अनुदानमा उपलब्ध गराइएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार विद्युत् आपूर्तितर्फ रसुवाका ७८ प्रतिशत, नुवाकोटका ९६ दशमलव ७ प्रतिशत र धादिङका ९९ दशमलव ८ प्रतिशत घरधुरीमा विद्युत् सेवा सुचारु भएको छ ।

बाढी प्रभावितका लागि स्वास्थ्य मन्त्रालयमार्फत १५० जनाभन्दा बढी जनशक्ति परिचालन गरी मनोसामाजिक परामर्श सेवा प्रदान भइरहेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र २३ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij