काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई थप अनुसन्धानका लागि चार दिन प्रह अनुमति दिएको छ
मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रूपमा अतिरिक्त रकम असुली गरी विदेश पठाइएको प्रकरणमा पक्राउ परेका अर्याललाई प्रहरीले शुक्रबार अदालतमा उपस्थित गराएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार नेपाल–भारत सीमा क्षेत्रबाट उनलाई पक्राउ गरी काठमाडौं ल्याएको हो । पक्राउ पर्नुअघि उनी भारतमा रहेको बताइएको थियो । प्रहरीले पक्राउपछि उनको निवासमा समेत खानतलासी गरेको थियो ।
अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव रहँदा मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा अतिरिक्त शुल्क उठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । नेपाल र मलेसियाबीच भएको समझदारीविपरीत स्वास्थ्य परीक्षणका नाममा प्रतिश्रमिक थप १०० मलेसियन रिंगेट असुल गरिएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
प्रहरीका अनुसार सन् २०१९ देखि २०२४ सम्म उक्त शुल्क संकलन गरी १७ पटकमा एक अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम मलेसिया पठाइएको थियो । यसमा ८३ लाख ७० हजार अमेरिकी डलर र ३७ लाख १७ हजार बेलायती पाउन्डसमेत रहेको बताइएको छ । उक्त रकम संकलनमा मलेसियाली कम्पनीको स्थानीय प्रतिनिधि म्याक्रो टेक प्रालिको भूमिका रहेको प्रहरीको दाबी छ ।
यस प्रकरणमा प्रहरीले यसअघि पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित मन्त्रालयका तत्कालीन अधिकारी तथा व्यवसायीहरूलाई पनि पक्राउ गरिसकेको छ ।
प्रकाशित मिति : शुक्रबार, मंसिर ११ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्