बुटवल-आज मे १ तारिख, अर्थात अन्तर्रा्ष्ट्रिय श्रमिक दिवस । संसारभरिका मजदुरहरुले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् । मजदुरको संघर्षलाई सम्झाउने यो मजदुरले एकीकृत हुने र शोषणविरुद्ध लड्ने प्रेरणा हासिल प्राप्त गरेको दिन हो । त्यसैले मजदुरहरुको सम्मानका लागि राज्यले मजदुर दिवसको उपलक्ष्यमा सार्वजनिक विदा पनि दिने गरेको छ । तर, यस पटक भने संसारभरिनै कोरोनाको कारण जनजीवन प्रभावित भएको छ । कोरोनाको प्रभाव सबैभन्दा धेरै श्रमजीवि र मजदुरनै परेको छ । कोरोनाको फैलावट रोक्नका लागि संसारभरिका धेरैजसो देशले लकडाउनको साहरा लिएका छन् । नेपाल पनि गत एक महिनाभन्दा लामो समयदेखि कडाउनमा छ । लकडाउनका कारण कोरोना संक्रमण फैलिनबाट केही हदसम्म त रोकिएको छ तर अर्कोतर्फ कडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने व्यक्तिहरु भने थप पीडामा छन् । लकडाउनकोे सबैभन्दा बढी प्रभाव पनि श्रमजीवि र मजदुर वर्गमा नै परेको छ । लकडाउनका कारण मजदुरले श्रम वा ज्याला मजदुरी गर्न पाएका छैनन् । कलकारखाना, उद्योगधन्दाका साथै निर्माणका काम पनि ठप्प छ । त्यसैले श्रमजीवि र मजदुर वर्ग भोकभोकै रहनुपर्ने अवस्थामा पुगेको छ ।
प्रदेश ५ अन्तर्गत बुटवल उपमहानगरपालिकाको वडा नम्बर, १७ केहि व्यक्तिहरू पनि यस्ता समस्यासँग जुध्दै छन् । करीब ४० दिनदेखि यहाँका कामकाज र व्यापार व्यवसाय पूर्णरुपमा ठप्प छन् । यसको प्रत्यक्ष मारमा मजदुरहरु परेका छ । दैनिकरुपमा ज्याला मजदुरी गरी खानेहरुका लागि लकडाउन ‘रोगले भन्दा भोकले मर्ने’ अवस्था सिर्जना भएको छ । एकातिर उनीहरु कोरोना संक्रमणको त्रासमा छन् भने अर्कोतिर बिहान बेलुकी खाने गाँसको समस्यामा छन् ।
घर बनाउने काम गर्दै आएका बुटवल वडा नं. १७ का राम मिलन हरिजन भन्छन्, ‘काम नगरी जीविका चल्दैन । म एकजनाले काम गरेर परिवार चलाउनुपर्छ । काम नगरेको यतिका दिन भइसक्यो । अब त के खुवाएर परिवारलाई बचाउने भन्ने चिन्ताले सताउन थालेको छ ।’ उनले थपे, ‘कोठामा भएको खानेकुरा सकिन लाग्यो, न त काम गर्न पाइएको छ न त कसैले उदारो नै दिन्छन् । कसरी बाँच्ने होला अब त चिन्ताले धेरै सताउन थालिसक्यो ।’ मिलनजस्तै यस्ता दैनिक जीविकाको समस्या भोगिरहेका मजदुरको निकै ठूलो संख्या बुटवल र वरपरका बजारमा छन् ।
मिलनजस्तै लकडाउनका कारण समस्याग्रस्त जीवन बाँचिरहेका अर्का श्रमिक हुन्, रामेछापका सुसिल खड्का । पाँचमहिना अगाडि कामको खोजिमा बुटवल आएका उनी बुटवल—१७ मा बस्छन् । घर निर्माणकै काम गर्न रामेछापबाट बुटवल आएका खड्काले दैनिक छसय रुपियाँ ज्याला पाउँथे । तर, अलिअलि भएको रकम पनि सकिएको बताउने उनी भन्छन्, ‘बाहिरको मान्छे उदारो पाईंदैन । के खाएर बाँच्ने भन्ने समस्या भइसक्यो । घरबेटीलाई भाडा तिर्न नसकिने अवस्था छ । घरबेटीले पनि निकालिदिए भने त न बस्ने ठाउँ हुन्छ न खाने उपाय नै ।’ यतिमात्रै होइन, रामेछापमै रहेका आमा, श्रीमती र बहिनी पनि उनकै कमाइमा निर्भर छ । उनी दुखेसो गर्दै भन्छन्, ‘परिवार मेरै भरमा बाँच्ने हो । यहाँ मेरो हालत यस्तो छ, उता परिवारको पनि उस्तै अवस्था छ । हामी जस्ता मजदुरका समस्या हेरिदिने बुझिदिने कोही भएनन् ।’ गत तीन दिनदेखि घर बनाउने काममा लेबर काम पाएर जोखिम मोलेरै काम गर्न थालेको उनले बताए ।
बुटवल—१७ मै बस्ने सुमन चौधरीको समस्या पनि उस्तै छ । कमाउन भारत गएका श्रीमान डेढ वर्षदेखि सम्पर्कमा छैनन । सम्पूर्ण बालबच्चा र परिवारका अन्य सदस्यलाई कमाइ गरी खुवाउने जिम्मा उनीमाथि नै छ । यी दुःख कसलाई सुनाउनु ? बेल्चामा बालुवा उठाउँदै उनले भनिन्, ‘छोराछोरी पाल्नु प¥यो, खानु प¥यो, त्यसैले आज (बिहिबार) बिहानैदेखि बालुवा चाल्न आएकी हुँ ।’
उनको जस्तै पीडा ४५ वर्षिया निर्मला चौधरीको पनि । घरमा श्रीमान र दुई छोरासँग बस्दै आएकी छन् । श्रीमान खासै केही काम नगर्ने र दुई छोराको पालन पोषण गर्ने जिम्मा आफैंले लिइरहेको बताउने निर्मला भन्छिन्, एउटा फ्याक्ट्रिमा काम गर्दा जेनतेन गगुजरा चलेको थियो । बच्चालाई कसरी पढाउने चिन्ता त छँदैथियो । अहिले लकडाउन भएपछि त बिहान साँझ के खाने भन्ने समस्या थपियो, कतैबाट सहयोग पाइएको छैन ।’
बुटवलका बिष्णु सुनार पनि लकडाउन भएपछि कामबिहीन भएका छन् । काम नपाएपछि परिवारको जीविका चलाउन एकदमै गाह्रो भएको उनी बताउँछन् । उनी भन्छन्, ‘घरमा श्रीमती, भाई र छोरासहित ४ जनाको परिवार छ । श्रीमति बिरामी छन् । लकडाउनका कारण काम बन्द भएपछि न त श्रीमतीको उपचार सकिएको छ न त परिवारलाई खुवाउने खाना नै जोहो गर्न सकिएको छ ।’ उनी थप्छन्, ‘लकडाउनमा सरकारले १० किलो चामलत दियो तर कति दिन पु¥याउने ? भोकभोकै दिन काट्नुपर्ने बाध्यता आइलागेको छ । खै के गर्ने के केही मेसो पाउन सकिएन ।’
सुशिला मगर पनि ज्याला मजदुरीकै काम गर्छिन । दुई बालबच्चा सहित बस्दै आएकी उनले खानै नपाउने अवस्था आएपछि जोखिम मोलेरै हिजोबाट मजदुरी गर्न थालेको बताउँछिन् । संक्रमणबाट बच्नका लागि आवश्यक माक्स समेत नलगाइ काममा खटिएकी उनी भन्छिन्, ‘साह्रै गाह्रो भएपछि बल्लबल्ल काम पाएकी छु । जसरी हुन्छ काम गर्ने र परिवार पाल्ने मात्रै मेरो चाहना हो ।’
नेपालमा पनि कोरोनाका संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । जोखिम न्यूनीकरणका लागि सरकारले लकडाउन लम्ब्याइरहेको छ । किसान, व्यापारी, व्यवसायीलाई आम्दानीबाट बञ्चित छन् तर ज्याला मजदुरी गर्ने श्रमिक र मजदुरहरुको त चुल्होनै बल्न नसक्ने भइरकेको छ । सरकार र केही संघसंस्थाले राहत वितरण गरे पनि दैनिक ज्याला मजदुरी गर्ने श्रमिकको पहुँचसम्म पुगेको छैन । कोरोनाविरुद्ध सरकारले लकडाउन गरिरहेको यो बेला मजदुर र श्रमिकको दैनिक जीवन सहज बनाउने गरी राहतको प्याकेज घोषणा गर्ने र लागू गर्ने दायित्व सरकारको हो ।
प्रकाशित मिति : शुक्रबार, बैशाख १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्