सैनामैनाको करिब ७१ करोडको बजेट सार्वजनिक

सैनामैनाको करिब ७१ करोडको बजेट सार्वजनिक

सैनामैना- रुपन्देहीको सैनामैना नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ७० करोड ८३ लाख ७७ हजार ५ सय ४६ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख बिना रानाले बुधबार नगर सभामा उक्त बजेट सार्वजनिक गर्नुभयो ।
जस अनुसार कुल विनियोजित बजेटमध्ये चालू खर्चमा तलब, भत्ता तथा अन्य सुविधा, कार्यालय सञ्चालन लगायत प्रशासनिक खर्च र अन्य व्यवस्थापन समेतको लागि ४५ करोड ९४ लाख ८७ हजार ५ सय ४६ विनियोजन गरिएको भने पूँजीगत खर्च तर्फ कुल २४ करोड ८४ लाख ७ हजार विनियोजन गरिएको छ ।
उक्त बजेट चालु अ.व.को भन्दा करिव २० करोडले कमी हो । चालु आ.व.मा ९१ करोड बढीको बजेट प्रस्तुत भएको थियो । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये संघीय सरकारबाट प्राप्त अनुदान रु ५६ करोड ९२ लाख ८७ हजार २ रुपैया, प्रदेश सरकारबाट प्राप्त अनुदान १ करोड ५७ लाख, आन्तरिक स्रोतबाट १३ करोड ३१ लाख ९० हजार ५ सय ४४ आयको अनुमान गरिएको छ ।
स्रोत साधनको सिमितता, कोभिड १९ को महामारीको विद्यमान परिस्थिति, न्युन आयस्रोत र नगरवासीको उच्च आकांक्षालाई मध्यनजर गरी महामारीले नकारात्मक प्रभाव पारेका सामाजिक र आर्थिक क्षेत्रको पुनर्उत्थान गरी समृद्धिको यात्रालाई जारी राख्न यो बजेट सार्थक हुने नगरप्रमुख कार्कीले विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसैगरी नगरको क्षेत्रगत र भौगोलिक सन्तुलन कायम हुनेगरी दीर्घकालीन रुपमा प्रतिफल दिन सक्ने योजनाहरु कार्यन्वयन गर्न स्रोत, साधन, प्रविधि र जनशक्ति आदिको प्रभावकारी र कुशल रुपमा बजेटको उपयोग गर्ने रणनीति अवलम्बन गरिएको प्रमुख कार्कीको भनाई छ ।
नगर उपप्रमुख रानाले प्रस्तुत गरेको बजेटमा बेरोजगार युवा युवतीहरुलाई रोजगारीका अवसर सिर्जना गर्ने, भूमि बैंकमार्फत निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक कृषि प्रणालीको रुपमा विकास गरी एकिकृत कृषि प्रणालीलाई अवलम्बन गर्न कृषकलाई प्रोत्साहन गर्ने, उद्यमशील कृषि र पशुपंक्षीजन्य उत्पादनमा आत्मनिर्भर वनाउन सहयोग गर्ने, ब्यवस्थित शहरीकरणको लागि दीर्घकालीन नीति तथा मापदण्ड बनाई ‘कृषि, पर्यटन, उद्योग र पूर्वाधार, सु–संस्कृत, समृद्ध नगर सैनामैनाको आधार’ भन्ने अभियानलाई पूर्णता प्रदान गर्ने, प्राविधिक शिक्षा र सिपमूलक तालिमको माध्यमबाट स्वरोजगार बनाई जनताको जीवनस्तर सुधार गर्ने, बेरोजगार युवा तथा महिलालाई कृषि, पशुपंक्षि व्यवसायमा आबद्ध गरि आत्मनिर्भर गराउने उल्लेख छ ।
त्यसैगरी बजेटमा नगरपालिकाको नगर गुरुयोजना तुर्जमा गरी नगरको अल्पकालीन, मध्यमकालीन तथा दीर्घकालीन विकासका लक्ष्यहरु निर्धारण गर्ने नीति लिइए अुनुरुप गुरुयोजना निर्माणको कार्य अन्तिम चरणमा छ । गुरुयोजनाले समेट्न नसकेका नगर यातायात गुरुयोजना, नगर पाश्र्वचित्र, स्थानीय तहको सूचनाप्रणाली र भू–उपयोग योजना समेत तयार भइसकेको उल्लेख छ ।
त्यसैगरी स्थानीय तहमा एक अस्पताल बनाउने कार्यक्रम अनुरुप यस नगरपालिकाको वडा नं. ४ मुर्गियामा सुविधा सम्पन्न अस्पतालको निर्माण गर्ने, सुत्केरी महिलाहरुलाई स्वास्थ्य चौकीमा नियमित चेकजाँच गरी प्रसुति समेत स्वाथ्य चौकीमा गराउन प्रोत्साहित गर्न सुत्केरी पोषण कोशेली कार्यक्रमको लागि ४ लाख विनियोजन गरिएको छ । आधारभूत स्वास्थ्य संस्था र २४ घण्टे प्रसुती सेवा सञ्चालन र व्यवस्थापनको लागि आवश्यक बजेटको विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
नगर प्रमुख कार्कीले भूमी बैँकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि, सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियानलाई साकार पार्न भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायिक खेती गर्ने प्रबन्ध मिलाईने बताउनु भएको छ ।
त्यसैगरी शुन्य उपयोगबिहिन भूमिको नीति अवलम्बन गर्दै सडक छेउ, नदि, खोला किनारको जग्गा र उपयोग विहिन सार्वजनिक जग्गामा टोल विकास संस्था मार्फत आफ्नो टोलमा फलफूल लगायतका नगदे बालीको विरुवा रोप्ने र त्यसरी रोपिएका विरुवाको उत्पादनको हकभोग समेत टोल विकास संस्थाले गर्ने व्यवस्था मिलाउदै समग्र टोल विकास संस्थालाई अनुदान स्वरुप रु.१७ लाख ५५ हजार बजेट विनियोजन गरिएको छ ।
कोरोना भाईरसको कारण बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी व्यवसायमा आबद्ध गर्न विविध कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ । बैक तथा वित्तिय संस्थासंग समन्वय गरी बैदेशिक रोजगारबाट घर फर्किएका बेरोजगार युवा र कृषि तथा पशु उद्यमी व्यवसायीमध्ये १६५ जना सामुहिक वा निजी व्यवसायीलाई प्राथमिकताको आधारमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई श्रममा आधारित न्यूनतम रोजगारीमा संलग्न गराउने व्यवस्था मिलाइएको बजेटमा उल्लेख छ । त्यसैगरी बजेटमा साना कृषि औजार तथा यन्त्र उपकरण, कोभिड प्रभावित भई गाँउ फर्केका कृषि व्यवसाय गर्ने उद्यमीहरुलाई उत्पादन सामाग्री उपलब्ध गराउने तथा एक स्थानिय तह एक उत्पादन कार्यक्रम र नगरपालिका स्तरिय कोशेली घर लगाएतका अन्य कार्यक्रमहरु सञ्चालनको लागि ६८ लाख ५० हजार बजेटको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : बुधबार, असार १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij