बुटवल । बुटवलमा शनिबारदेखि अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरू भएको छ ।
स्मृति स्पोर्टस् क्लब, तिलोत्तमाको आयोजनामा प्रथम स्मृतिकप अन्तरविद्यालय नकआउट छात्र फुटलब प्रतियोगिता सुरू भएको हो ।
प्रतियोगिताको शनिबार प्रदेश नम्बर पाँचमा सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै बरालले खेलकूदको विकासका लागि यस्ता प्रतियोगिता समय–समयमा हुन जरूरी रहेको बताए । बरालले प्रदेश सरकार खेलकूदको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको स्पष्ट पारे ।
कार्यक्रमको उद्घाटन सत्रमा जिल्ला फूटबल संघ, रूपन्देहीका अध्यक्ष दीर्घबहादुर केसी, नेकपा रुपन्देहीका नेता निर्मल जिसी, नेपाली कांग्रेस बुटवल नगर सभापति खेलराज पाण्डे लगायतले बोल्दै बुटवललाई खेलकूदको ‘हव’का रुपमा विकास गर्न सबै लाग्नुपर्ने बताएका थिए ।
स्मृति स्पोर्टस् क्लबका अध्यक्ष महेश खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रमेश न्यौपानेले गरेका थिए ।
यसैबीच शनिबार भएको उद्घाटन खेलमा स्मृति बोर्डिङ स्कूल विजयी भएको छ । स्मृति र लुम्बिनी बोर्डिङ स्कूलकाबीच भएको खेलमा स्मृति २÷० गोल अन्तरले विजयी भएको हो ।
स्मृतिका लागि रिजन पुन र एलिस बोहोराले गोल गरे । लुम्बिनी एक गोल पनि गर्न सकेन ।
यस्तै आइतबार बिहानको पहिलो खेल एक्सिस बोर्डिङ स्कूल र अक्फोर्ड माविबीच र दोस्रो खेल देवदह ईङलिस बोर्डिङ स्कूल र कुँवरवर्ती बोर्डिङ स्कूलकाबीच हुने स्मृति बोर्डिङ स्कूलका प्रिन्सिपल हरि ज्ञवालीले जानकारी दिए ।
प्रतियोगितामा रूपन्देहीको संस्थागत र निजी विद्यालयका गरी २८ विद्यालय सहभागी छन् ।
प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार एक सय ११ रूपैयाँ मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै द्वितीयले नगद २५ हजार एक सय ११ रूपैंयाँ प्राप्त गर्नेछ । प्रतियोगिता मंसिर २९ गतेसम्म चल्नेछ ।
प्रकाशित मिति : शनिबार, मंसिर १५ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्