नेपालगञ्ज: नेपाल नेत्रज्योति सङ्घअन्तर्गत यहाँ सञ्चालित फत्तेबाल आँखा अस्पतालले ३२ वर्षको अवधिमा दुई लाख २८ हजारभन्दा बढीको आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालका प्रबन्धक कौशलकुमार बर्माका अनुसार त्यस अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ ।
अस्पतालमा विभिन्न समयमा अलग÷अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच तथा ३८४ जनाको शल्यक्रिया गरेको बर्माले जानकारी दिए ।
सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी आठ आँखा उपचार केन्द्र सञ्चालन हुँदै आएको छ ।
“आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी थालेका छौँ”, सङ्घका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले भने ।
विसं २०४३ फागनुमा १० शय्याबाट सेवा शुरु गरेको सो अस्पताललाई हाल २५० शय्यामा विस्तार गरिएको छ । अस्पतालले पूर्णकालीन ओपीडी, पेइङ क्लिनिक, द्रुतगतिमा शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ ।
सङ्घका सचिव शान्ति श्रेष्ठले भारतीय दूतावासको रु पाँच करोड तथा जिल्ला समन्वय समितिको परिपूरक सहयोग रु एक करोड ४५ को लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजीकक्ष, चिकित्सक आवासलगायत संरचना निर्माण गरिएको जानकारी दिए ।
चर्को आवाजमा डिजे बजाउन प्रतिबन्ध
बाँकेमा अबदेखि चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने निर्णय गरिएको छ । मङ्गलबार नेपालगञ्जमा भएको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको बाँके जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैठकमा सहभागी धर्मगुरु, राजनीतिक दलका पदाधिकारी, अधिकारकर्मी, नागरिक समाजका अगुवा, प्रहरी र सरोकारवाला पक्षबीच मठमन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, विवाह, भोजभतेर तथा अन्य कुनै पनि प्रकारका कार्यक्रममा चर्को आवाजमा लाउडस्पिकर र डिजे बजाउन नपाइने सहमति भएको हो ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको बैठकमा सहभागीले चर्को आवाजमा बजाइने गरेको लाउडस्पिकर र डिजेले विद्यालय, अस्पताल, घरपरिवारलगायत क्षेत्रमा असर परेकाले यसलाई रोक्नुपर्नेमा सहमति जनाएका थिए ।
पाँच बुँदे प्रतिबद्धता
बाँकेको डुडुवा गाउँपालिकाका जनप्रतिनिधिले पाँच बुँदे लिखित प्रतिबद्धता गरेका छन् ।
सो गाउँपालिको सेवा, सुविधाको प्रभावकारिताका विषयमा गरिएको सार्वजनिक सुनुवाइमा उपस्थित जनप्रतिनिधिले मदरसाको स्तरोन्नति, एक महीनाभित्र एम्बुलेन्स खरीद, गाउँपालिकाको वडा नं ५ मा ल्याब सञ्चालन, शैक्षिक सुधार अभियान सञ्चालन र योजनाको पारदर्शिता तथा प्रभावकारिताको अनुगमन गर्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् ।
प्रकाशित मिति : बुधबार, मंसिर १९ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्