निर्मला प्रकरण : पक्राउ परेका प्रदीपका आफन्त भन्छन्, जबरजस्ती फसाउन खोजियो

निर्मला प्रकरण : पक्राउ परेका प्रदीपका आफन्त भन्छन्, जबरजस्ती फसाउन खोजियो

कञ्चनपुर : निर्मला हत्याकाण्डमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका भीमदत्त नगरपालिकाका प्रदीप रावलका आफन्तले उनलाई प्रहरीले फसाउन खोजेको आरोप लगाएका छन् ।

प्रदीपकी दिदी इन्दु रावलले भाइ निर्दाेष भएको बताएकी हुन्। इन्दु प्रदीपको काकाकी छोरी हुन्।

‘कुखुरा चोरीको आरोपमा साउन १० गते प्रहरीले पक्राउ गरेको मान्छे त्यसै दिन कसरी हत्यामा संलग्न हुन सक्छ’ इन्दुले भनिन्।

चुरोट, बिँडीजस्ता अम्मल भए पनि प्रदीप बलात्कार र हत्याजस्तो गम्भीर अपराधमा संलग्न हुनै नसक्ने उनको दाबी छ।

‘प्रदीपलाई १० गते पक्राउ गरेर प्रहरीले कहिले छाड्यो भन्नेचाहिँ थाहा भएन’, उनले भनिन्। निर्मलाको हत्यापछि भएको आन्दोलनमा समेत प्रदीप सहभागी भएको र प्रहरीले पक्राउ गरेर छाडेको इन्दुको भनाइ छ।

‘प्रहरीले त्यसैवेला समेत समातेको हो । पछि छोडयो।’ आफ्नै बाबाले प्रदीपलाई दुई हजार महिनाको पाउने गरी बसपार्क नजिकको मोटर ग्यारेजमा काम लगाइदिएको उनको दाबी छ। प्रदीप भदौसम्म गाउँमै रहेको उनले बताइन्।

‘भारततिर भाग्यो भन्ने हल्ला पनि चलाइएको छ। त्यो सबै झूटो हो’, उनले भने, कयान्टिनमा काम गर्न एकजनाले बोलाएपछि भनेर मेरै बाबासँग दुई हजार मागेर काठमाडौं गएको हो।’

प्रहरीले टर्चर गरिराखेको भन्ने आफूहरूले सुनेको भन्दै भाइको जीनरक्षाको माग गरिन्। प्रदीपका काका बलबहादुर रावलले पनि भतिजाले हत्या गर्नै नसक्ने दाबी गरे।

‘ऊ निर्दोष छ’, उनले भने, ‘ठूला मान्छेलाई बचाउन निरीह केटोलाई फसाउन खोजिँदै छ।’ भीमदत्त नगरपालिकाको भगतपुरका मासु पसल सञ्चालक पाले चौधरीले पसलमा चोरी भएपछि साउन ९ गते प्रहरीमा उजुरी गरेको बताए।

उनका अनुसार शंकाको आधारमा बाटोमा हिँड्दै गरेको बेला प्रदीपलाई प्रहरीले पक्राउ गरेको हो। मैले होइन, विशालले चोरी गरेको हो भनेपछि सालघारीको प्रहरी बिटले उनलाई छोडेको चौधरीले बताए।

उनले भने, ‘हामी साउन १० गते वडा प्रहरी कार्यालयमा जाँदा प्रदीपलाई त्यहाँ देखेनौँ। हिरासतमा विशाल चौधरी र रोशन चौधरी मात्रै थिए।’ पसल तोडेर भित्र राखिएको माछा मासु, दुई वटा ग्यास सिलिण्डर र कुखुरा पोल्ने मेसिन सहित १५ हजार नगद चोरी भएको थियो। ती समान आजसम्म नपाएको उनले बताए।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले भने निर्मलाको हत्या भएको बेला प्रदीप प्रहरीको हिरासतमा नभएको दाबी गरे। हत्या भएको आशंका गरिएको दिन र शव फेला परेको दिन प्रदीप नाम गरेको कुनै पनि व्यक्ति हिरातमा नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : सोमबार, मंसिर २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij