विद्यार्थीले प्रहरी प्रमुखलाई सोधे : निर्मलाका हत्यारा समाउन कसले रोक्यो ?

विद्यार्थीले प्रहरी प्रमुखलाई सोधे : निर्मलाका हत्यारा समाउन कसले रोक्यो ?

बुटवल । ‘तपाइँले सुरक्षा अवस्थामा राम्रो सुधार भइरहेको छ भन्नुहुन्छ, तर किन निर्मलाका हत्यारा पक्रिन सक्नुभएन ?’–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी शान्ति सुरक्षामा कुनै कमजोरी नरहेको बताएपछि एक विद्यार्थीले प्रश्न गरिन् ।

महानिरीक्षक सर्वेन्द्रले घुमाउरो जवाफ दिए–घरेलु हिंसा, महिला हिंसाका घटनामा नेपाल प्रहरीले ९७.५ प्रतिशत केशहरुको समाधान गरिसकेको छ, केही घटनाहरु समाधानका क्रममा छन्, केही जटिलताका कारणले मात्रै भनेको समयमा अनुसन्धान पुरा हुन नसकेको हो, तर नेपाल प्रहरीले कुनै पनि अपराध र अपराधीलाई यत्तिकै छाड्दैन ।’

अर्की छात्राले उदाहरणसहित सोधिन्–दैनिक पत्रपत्रिकाका मुख्य समाचारहरु असुरक्षा, हिंसा र अपराधका घटनाकै हुन्छन्, समाजमा पनि यस्तै कुराहरुको चर्चा भइरहेको छ, केही भ्रमहरु पनि छन्, यसबारे के भन्नुहुन्छ ?

खनालले जवाफ दिए–म पत्रकारहरुको पेशालाई सम्मान गर्छु, अरु धेरै पेशाहरु छन्, सबैका आफ्ना आफ्ना प्रकृति छन्, म नेपाल प्रहरीको प्रमुखको हैसियतले भन्छु, नेपाल प्रहरी यस्तो एउटा संगठन हो, जसमा दक्ष र इमान्दार जनशक्ति छ, केही प्रविधिमा अभाव भएपनि हामीले पेशागत मर्यादाको पालना गर्दै देश र जनताको सुरक्षाका निम्ति खटिएका छौं, तर जसरी असुरक्षा भयो भनिएको छ, त्यस्तो छैन, समाजलाई सुरक्षित र मर्यादित बनाउनकै लागि हामी समुदाय प्रहरी साझेदारी अवधारणाअन्तरगत तपाइँहरुसँग आएका छौं ।’

नेपाल प्रहरी, प्रहरी प्रधान कार्यालयको आयोजना र प्रदेश ५ प्रहरी कार्यालयको संयोजनमा बुटवलस्थित दीप बोर्डिङ स्कुलमा विद्यालय सम्पर्क कार्यक्रमअन्तरगत विद्यार्थी र प्रहरी प्रमुख खनालबीच बुधबार केहीबेर सवाल–जवाफ चल्यो ।

विद्यार्थीहरुले प्रहरीका बारेमा भएका नकारात्मक धारणा, प्रहरीको व्यवहार, प्रहरीको आचरण, प्रहरीसँगको अपेक्षा जस्ता कुरामा जिज्ञासा राखे र अनुभव सुनाए ।
विद्यार्थीहरुले प्रहरीको भनाई र गराईमा फरक रहेको भन्दै प्रहरीले साथीसरह व्यवहार गर्नुपर्ने बताए । उनीहरुले प्रहरीले कतिपय काम राम्रा गरेपनि नराम्रा कुराहरु मात्रै अगाडि आइरहेको भन्दै दुःख पनि व्यक्त गरे ।

विद्यार्थीसँगको अन्तरक्रियामा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी सदैव समुदायसँग सामिप्यता बढाउँदै हातेमालो गरेर शान्ति सुरक्षा कायम गर्न तत्पर रहेको बताए । उनले विद्यार्थी र युवाअवस्थाका व्यक्तिहरु लागूऔषध र गैरकानुनी कामबाट टाढा रहेमा मात्रै समाज सुधार हुने बताए । उनले विद्यार्थीलाई लागूऔषधको प्रयोगले जीवन बर्बाद हुनेतर्फ सचेत गराए ।

खनालले प्रहरी समुदाय साझेदारी कार्यक्रमको कार्यान्वयनबाट समुदायलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने बताए । महिला हिंसा र घरेलु हिंसालाई नियन्त्रण गर्न समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महिला सञ्जाल, विभिन्न संघ संस्था लगायतको सहयोगमा सशक्त रूपमा अगाडि बढनुपर्ने उनले बताए ।

प्रहरी महानिरीक्षक खनालले लागुऔषध दुव्र्यसन, मानव वेचबिखन, चोरी, डकैती लगायतका अपराधिक गतिविधि विरुद्ध जनचेतनामुलक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिए । समाजका विकृति विसंगति रोकथामका लागि प्रहरीको साथै हरेक नागरिक र समुदायले चासो दिनुपर्ने उनले उल्लेख गरे ।

कार्यक्रममा ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक पिताम्बर अधिकारीले यस्ता कार्यक्रमले प्रहरी र समुदायको सम्बन्ध राम्रो भई शान्ति सुरक्षा थप प्रभावकारी हुने बताए ।

दीप बोर्डिङ स्कुल व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र प्रसाद ध्वजू, प्रिन्सिपल टिकाराम न्यौपानेले गर्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको उच्च प्रशंसा गर्दै अभियान सफल पार्न प्रहरीसँग हातेमालो गर्ने बताए ।

प्रकाशित मिति : बिहिबार, पुष १२ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij