भत्ता पाइने आशमा धेरै सन्तान, प्रतिव्यक्ति मासिक दुई हजार भत्ताको लोभ

भत्ता पाइने आशमा धेरै सन्तान, प्रतिव्यक्ति मासिक दुई हजार भत्ताको लोभ

बाँके : यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् ।
सो समुदायका ४६ घर छन् ।

सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ ।

ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनले काखमा छोरालाई च्यापिरहेकी थिइन् ।

“तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उनले भनिन्, “हजुर मेरो छोराको राम्रो नाम राखिदिनुस् न ।”

हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्माइसक्नुभएको छ । उनलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन ।

उनले भनिन्, “खै उमेर त्यस्तै ३० वर्ष कटेजस्तो लाग्छ, मलाई त उमेर पनि थाहा छैन ।” यस्तै छ सन्तानकी आमा गीता कुचबधियाले भनिन् “अब बच्चा जन्माउदिन, पाँच वर्षे औषधि नरप्लान्ट राखेकी छु ।”

इन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् ।

ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताइन् । लैँगीका पनि सात सन्तान छन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उनी पैसावाला गनिन्छिन् ।

उनका पाँच छोरी र दुई छोरा छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्छन ।

बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताइन् । “अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ”, उनले भनिन् ।

इन्द्रपुर, फुल्टेक्रा र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच-छ वर्षमै टीकाटालो गर्ने र १२-१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ ।

घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नामसमरियाले भनिन् “दुई-तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।” कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् ।

बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताइन् ।

सो समुदायमा अहिलेसम्म एकजना रेखा कुचबधियाले मात्रै अस्पतालमा बच्चा जन्माइन् । उनले भनिन्, “तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगि शल्यक्रिया गरेर बच्चा जन्मियो ।”

उहाँको अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । “अस्पतालमा जन्मिने शौभाग्य पाएको भन्दै छोराको नाम सूर्या राखियो”, रेखाले भन्नुभयो । कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ ।

नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई÷चार जना महिलाले श्रीमान्लाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।

प्रकाशित मिति : मंगलबार, पुष २४ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij