तराईमा डुबान, पहाडमा पहिरो

तराईमा डुबान, पहाडमा पहिरो

बुटवल । लगातारको वर्षाका कारण पहाडमा पहिरो र तराईमा डुबानले जनजीवन प्रभावित बनाएको छ। वर्षाका कारण घर भत्कँदा रोल्पामा एक शिशुसहित सोमबार तीन जनाको मृत्यु भएको छ । तराईका अधिकांश जिल्लामा डुबान भएको छ।
वर्षापछि घरमाथिबाट आएको पहिरोमा घर पुरिँदा उद्धारपछि उपचार हुनु अघि नै रोल्पाका तीन जनाको ज्यान गएको हो । प्रहरीका अनुसार अधिक वर्षापछि पहिरो खस्दा दक्षिण रोल्पाको रुन्टीगढी गाउँपालिका– ५ स्थित सैबाङ गाउँका युवा राजकुमार विकको घर पहिरोले भत्काएको हो । पहिरो घरमाथिबाट आएपछि कच्ची घर पुरिएको थियो ।

पहिरो खस्दा घरैमा रहेका राजकुमारकी २२ वर्षकी सुत्केरी पत्नी कमला र १८ दिने छोरी आयुषाको पहिरोमा पुरिएर ज्यान गएको हो । घटनामा उनीहरुका छिमेकी दाइकी १५ वर्षीया छोरी चित्रा विकको समेत ज्यान गएको हो । घटनापछि पुगेको प्रहरीको उद्धार टोली उद्धारमा खटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

घरमाथि पहिरो खस्दा सुत्केरीसहितले भान्सा कोठामा आगो ताप्दै गरेकी थिइन् । अघिल्लो दिनदेखि निरन्तर भइरहेको अधिक वर्षाका कारण घर भत्कनुअघि कसैले पनि जानकारी पाएनन् । ‘एक्कासी घर भत्किएपछि दुर्घटना हुन पुगेको हो,’ प्रहरी निरीक्षक पन्थीले भने, ‘सुत्केरी र शिशुको ज्यान जोगाउन सकिएन ।’

सुत्केरी कमला दुर्घटनापछि घाइते भएकी थिइन् । लामो समय भत्किएको घरभित्रै रहेकी कमलालाई उपचार गर्न होलेरीस्थित प्राथमिक सेवा केन्द्रतिर लैजान खोजिएको थियो । त्यही क्रममा कमलाको मृत्यु बाटैमा भएको हो । कमलाका श्रीमान राजकुमार वैदेशिक रोजगारीको क्रममा खाडी मुलुक पुगेका छन् । उनीहरुको घरमाथि लगाइएको देवाल भत्किएपछि घरमाथि क्षति पुगेको हो । पहिरोका कारण छिमेकीको अर्को घर पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।

अधिक वर्षाले ग्रामीण क्षेत्रका कच्ची सडक भत्किएका छन् । प्रहरीले भारी वर्षातका कारण ग्रामीण भेगमा यातायात आवागमनमा अवरोध भएको जनाएको छ ।

रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा
लगातरको वर्षासँगै रुपन्देहीका विभिन्न क्षेत्र डुबानको जोखिममा परेका छन् । वर्षाका कारण बुद्ध जन्मस्थल लुम्बिनीको मुख्य प्रवेशद्वार मानिने सिद्धार्थनगर नगरपालिकाका अधिकांश भूभाग डुबानमा परेको छ । भैरहवाको मुख्य बजार बैंकरोड, कमलपथ, जनकपथ, भैरहवा गाउँ, मालटोल, ज्योतिपथ, बेलहियाको ज्ञानपथ, कोटहमीमाई पथ, अन्नपूर्ण टोल, गल्लामण्डी, गोलीगढ, बुद्धपथ, गौमुखी क्लोनी, बैंक कलोनी क्षेत्र बढी डुबानमा परेका छन् । डुबानमा नगर उपप्रमुख उमा काफ्लेको घरसमेत परेको छ ।

लगातारको वर्षा र नेपाल–भारत सीमा क्षेत्र फरेनामा भारतीय पक्षले निर्माण गरेको बाँध समयमा नखोलिदिँदा भैरहवा जलमग्न हुन पुगेको हो । अहिले नेपाली पक्षले धेरै प्रयास गरेपछि बाँध खुलेको छ ।
सिनपामा केही वर्षदेखि अर्बौ रकम खर्चेर एसियाली विकास बैंकले ढल निकास र नाला बनाएको भएता पनि त्यसको वैज्ञानिकता नहुँदा समस्या निम्तिएको बताइएको छ ।
नगरमा धेरै निर्माणका कार्य भइरहेकाले केही क्षेत्र जलमग्न भएको प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

वस्तीहरु डुबानको जोखिममा पर्ने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय प्रशासनले उद्धार कार्यलाई पूर्वतयारी अवस्थामा राखेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले जिल्लाका दक्षिणी क्षेत्र डुबानबाट प्रभावित हुन सक्ने खतरा रहेको बताए । बाढी प्रभावित भएकाहरुका लागि तत्कालै उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय तहका जनप्रतिनिधिलाई तयारी अवस्थामा राखिएको समेत प्रजिअ रानाले बताए ।

आइतबार साँझदेखि परेको लगातारको वर्षाले दक्षिणी क्षेत्रका कतिपय स्थानमा सामान्य डुबानको समस्या देखिन थालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पानी परिरहेकाले स्थानीय बासिन्दा त्रसित भए पनि डुबानका कारण समस्या भने अझै नदेखिएको प्रहरी कार्यालयले जनाएको छ ।

रुपन्देहीका विभिन्न क्षेत्र हुँदै बग्ने तिनाउ, दानव र रोहिणी खोलामा आएको बाढीले जिल्लाका दक्षिणी क्षेत्र डुबानको बढी जोखिममा रहेका छन् । जिल्लाका मर्चवार र धकधहीलगायत ग्रामीण वस्तीमा डुबानको जोखिम रहेकाले उद्धारका सबै संयन्त्र सतर्कताको स्थितिमा राखिएको प्रशासनले जनाएको छ ।

व्यवस्थित ढल निकास नहुँदा बुटवलका विभिन्न क्षेत्र पनि जलमग्न भएको छ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्डको सिद्धबाबा मन्दिर क्षेत्रमा पहिरो खस्दा सोमबार बिहान केहीबेर अवरुद्ध बनेको बुटवल–तानसेन सडकखण्डसञ्चालनमा आएको छ ।

बर्दघाटमा ७० घर परिवार विस्थापित, प्रतापपुरमा एक सय घर डुबान
आइतबारराति देखि परेको बर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिका का ७० घर परिवार विस्थापित भएका छन् ।
बर्दघाट नगरपालिकाको वडा नम्बर ३ लगुनाहाको विसई टोलमा बाढीको कारणले घरमा भएका अन्नपात, खाद्यान्न, लत्ताकपडा, हाँस, कुखुरा समेत बगाएको बडा नं. ३ का बडा अध्यक्ष रुद्र प्रसाद न्यौपानेले जानकारी दिए ।

डुवानमा परेकाहरुलाई ईलाका प्रहरी कार्यालय बर्दघाटको टोलि र ससस्त्र बल वेसक्याम्प सेमरीको टोलीले उद्धार गरि सोहि ठाउमा उच्च स्थानमा रहेको महिला भवनमा राखिएको छ ।
त्यसैगरी बर्दघाट नगरपालिका ६ को विद्युतटोल, शिवालय टोल र बेताहानी गाउ डुवानमा परेको छ । जसमा २५ घरपरिवार विस्थापित भएको बडा नं. ६ का बडा अध्यक्ष रोहित थारुले जानकारी दिए ।

त्यसैगरी बडा नं. ४, १० र १३ मा समेत डुवान परेको छ । बर्षाको कारणले सरावल गाउपालिकाको भुजहवा, रामपूर खडौना, मझौलिया, र बडसारीमा बाढी पसेको छ ।
गाउपालिकाको वडा नं. ४, ५, ६ र ७ मा बाढीले समस्या निम्त्याएको हो भने सबै भन्दा बढी वडा नं. ७ भुजहवामा बढी जोखिम अवस्थामा रहेको गाउपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिए ।
भारतीय नहर ड्यामको कारणले निकास नपाएको खजुरी खोला र भलुहि खोला गाउमा पस्दा जलमग्न बनेको छ ।
यता सुस्ता गाउपालिकामा बडा नं. १ बरुवाबजार र आसपासको क्षेत्रमा बढि पसेको र क्षतिको विवरण आउन बाकि रहेको गाउपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताए ।

बाढीले सडक बगायो
अविरल बर्षाका कारण नवलपरासीको बर्दघाट बरुवा सडकखण्ड अन्तरगत खजुरी खोलामा बाढीले सडकको सतह बगाएपछि त्यस सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको छ ।
खजुरी खोलामा मोटरसाईकल समेत चलाउन नमिल्ने गरी खालोको सतहले सडक बगाएको छ ।

पहिले खोला ठेक्का लगाउदासडक देखि २ सय मिटर तल र २ सय मिटर माथी सम्म खोलाजन्य पर्दार्थ निकासीका लागि रोक लगाउने गरेकोमा यसपटक नगरबाट ठेक्का लगाएपछि ठेकेदार पक्षले सडक भन्दा तल्लो सतहबाट गहिरो बनाई खोलाजन्य पदार्थ झिकेकोले बाढिले सडक बगाएर लगेको स्थानिय ईन्द्र गुरुङले बताए ।

खोलाको बाँध फुट्यो, एक सय भन्दा बढी घर डुवानमा
नवलपरासीको प्रतापपुर गाउपालिका वडा नम्बर ३ मा धनेवा खोलाको बांध फुटेर बाढी बस्तीमा पस्दा एक सय भन्दा बढी घर डुवानमा परेका छन् ।
बर्षाका कारण धनेवा खोलामा पानीको सतह बढेर सोमबार विहान १० बजे तिरको समयमा उत्तर पश्चिमको बांध फुटेपछि अमहवा, नन्दपुर, धनेवा, बरगदवा लगायतका क्षेत्र डुवानमा परेको प्रतापपुर ३ का वडा अध्यक्ष दिवाकर चौधरीले जानकारी दिए ।

डुवानमा परेका परिवारलार्ई शसस्त्र प्रहरी र स्थानियको सहयोगमा उद्धार गरिएको शसस्त्र प्रहरी निरिक्षक तेज बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ । बाढि प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

पहाडी मार्ग अवरुद्ध
लगातारको बर्षाका कारण नवलपरासीका पहाडी मार्गहरु अवरुद्ध भएका छन् । पूर्वी नवलपरासीको कावासोती, दलदले, अरुणखोला, चोरमाराबाट पहाड जाने कृषिमार्गहरु अवरुद्ध भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीका अनुसार बुलिङ्गटार जाने पहाडी मार्ग ठाउंठाउंमा साना तथा ठूला पहिरोले अवरुद्ध भएका छन् ।

त्यस्तै पूर्वी नवलपरासीको रहजरको बोटे टोलमा डुबानमा परेको छ । रहजर प्रहरीले उक्त क्षेत्रमा उद्दार गरेपछि अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नावय उपरीक्षक सुवेदीले बताए ।

नारायणी नदी आसपासका बासिन्दालाई सतर्क रहन प्रशासनको आग्रह
लगातारको पानीले नारायणी नदीमा पानीको सतह बढ्न थालेको छ । चेतावनी लेवलसम्म पानीको बहाब नपुगेपनि मौसम पूर्वानुमान शाखाले नारायणीमा पानीको सहत बढ्ने बताएपछि नवलपरासीको गण्डक आसपासका बासिन्दा र नवलपुरको धजाहा, सेहेरी, ब्रम्हस्थान लगायतका बासिन्दाहरु सतर्क अवस्थामा रहेका छन् । त्यस क्षेत्रमा सम्भावित विपद्लाई ध्यानमा राख्दै सुरक्षाकर्मी पनि परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

नारायणी नदीसंग जोडिएको चितवनको रिउ खोलामा पानीका सतह खतराको संकेत भन्दा माथि पुगेपछि नारायणी नदी आसपासका नवलपरासीका बासिनदा पनि थप सतर्क भएका छन् ।

बर्षाका कारण नवलपुर क्षेत्रका विभिन्न भाग जलमग्न भएका छन । अविरल वर्षाका कारण देवचुली नगरपालिकाको केही भाग जलमग्न भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
यसैगरी नदीनालामा आउन सक्ने बाढिका कारण हुन सक्ने जनधनको क्षतिलाइ मध्यनजर गर्दै सतर्क रहन जिल्ला प्रशासन कार्यालय नवलपुरले आग्रह गरेको छ । नवलपुर क्षेत्रमा रहेका विभिन्न विपद व्यवस्थापन समितिहरुले सुचना संकलन कार्य जारी राखेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए ।

अहीले सम्म नवलपुर क्षेत्रको खोलानालाको सतह खतराको लेवल भन्दा कम रहेको सुचना प्राप्त भएको उनले बताए । वर्षायामको समय भएको कारणले गर्दा हुनसक्ने सम्भावित क्षतिलाइ मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयको समन्वयमा उद्धार कार्य तयारी अवस्थामा राखिएको सहायक प्रमुख जिल्ला प्रमुख पौडेलले बताए ।
विशेष गरी नारायणी नदी आसपास बसोबास गर्ने बासीन्दा तथा पहाडी क्षेत्रमा बसोबास गर्ने बासीन्दालाइ सतर्क रहन जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी श्रीनाथ पौडेलले आग्रह गरेका छन् । रातको समयमा स्थानिय जनतालाइ सुरक्षीत स्थानमा रहन पनि उनले आग्रह गरे ।

कुनै विपद आइपर्ने सम्भावना रहेमा नजिकको प्रहरी कार्यालय अथाव विपद व्यवस्थापन समीतिलाइ तुरुन्त खबर गर्न समेत सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले स्थानियलाइ आग्रह गर्नुभएको छ ।
नवलपुर क्षेत्रको पहाडि क्षेत्रमा पहीरो तथा तल्लो तटिय क्षेत्रमा नारायणी नदि, अरुणखोला, विनयी खोला, केरुगे खोला आसपास बसोबास गर्ने बासिन्दा बढि जोखिममा रहेका छन ।
यसैबीच जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमले आज सूचना जारी गरी जिल्ला भित्र रहेका नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

सूचनामा जिल्ला भित्रका चुरे, महाभारतबाट बहने नदीहरुमा समेत जलसतह सतर्कता तह आसपास पुग्ने र केहीमा खतराभन्दा माथि समेत हुने अनुमान भएको हुँदा नदी तथा तटीय क्षेत्र र अन्य क्षेत्रहरुमा समेत उच्च सतर्कता अपनाउनु हुन आग्रह गरिएको छ ।
त्यस्तै बहाब वृद्धि हुने क्रम जारी रहंदा आफूलाई सुरक्षितरुपमा रहने अग्लो स्थाको पहिचान तथा अन्य सुरक्षा व्यवस्था मिलाई समयमै सुरक्षा सतर्कता अपनाउनु सबैलाई आग्रह समेत गरेको छ ।

बाढीले बगाउँदा एकजना बेपत्ता
अविरल वर्षाले बाँकेको वैजनाथ गाउँपालिकाको वनकटुवास्थित जेठी नालामा आएको बाढीले बगाउँदा आज एकजना बेपत्ता भएका छन् ।
नालाको बाढीले बगाउँदा वैजनाथ गाउँपालिका–३ का ६५ वर्षीय तुलबहादुर बुढा बेपत्ता भएको प्रहरी उपरीक्षक टेकबहादुर तामाङले जानकारी दिए।
बुढाको खोजी भइरहेको छ । आइतबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँ जलमग्न भएका छन् ।

टवाङखोलाले बस बगायो
पश्चिम दाङको बबई गाउँपालिका–५ मा पर्ने टवाङखोलामा आज आएको बाढीले ना१ख १८६१ नंको यात्रुबाहक बस बगाएको छ ।
स्थानीयवासी तथा प्रहरीले उद्धार गरेकाले बस बगाएपनि मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । सो बस बगालेबाट तुलसीपुरतर्फ आउँदै थियो ।

दुई दिनदेखि परेको अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण तुलसीपुर, घोराही र लमही सडकखण्डमा पर्ने एक दर्जन खहरे खोलामा बाढी आउँदा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

ठूला गाडी छिटफुटरूपमा सञ्चालन भए पनि दिउँसो भने खोलामा पानीको बहाव बढेपछि बन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । उता दाङको राप्ती र बबई नदीमा पानीको बहाव बढेपछि त्यस आसपासका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले बबई र राप्तीमा पानीको बहाव बढेको हुँदा बाढी र पहिरोको जोखिम बढेको भन्दै म्यासेज पनि पठाएको छ ।

प्रकाशित मिति : मंगलबार, असार १९ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij