शान्ति खोज्दै लुम्बिनीमा

शान्ति खोज्दै लुम्बिनीमा

रुपन्देही । म्यान्मारका भिक्षु प्रज्ञाश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । बुद्ध जन्मस्थल आउँदा उहाँलाई साक्षात बुद्धकै दर्शन गरेर पवित्र भएको अनुभूति हुन्छ ।

म्यान्मारको वर्मामा जन्मिनुभएका भिक्षु प्रज्ञाश्री नेपाली मुलका बर्मेली हुनुहुन्छ । उहाँका जिजुबुबा छविलाल भट्टराई नेपालबाट म्यान्मारको बर्मा बसाइँ सर्नुभएको थियो तर उहाँलार्ई नेपाल र लुम्बिनीप्रति अथाह स्नेह छ । “म बर्मामा भए पनि बुद्धको देश सधैँ मेरो मनमा हुन्छ”, उहाँ भन्नुहुन्छ, “हरेक वर्ष नेपाल नआई मनले मान्दैन ।”

लुम्बिनी नजिकै पर्ने शङ्करनगरको सुख शान्ति विहार र परियत्ति विहारमा उहाँले विभिन्न धार्मिक गतिविधि सञ्चालन गरी बुद्ध दर्शनको प्रचार गर्नुहुन्छ । “बुद्ध जन्मिएको देश भएर पनि नेपालमा बुद्धका अनुयायीको कमी हुँदा उहाँलाई दुख लाग्छ ।” “मैले बर्माको मोगोकबाट आएर आठ वर्षदेखि निरन्तर बौद्ध जागरण अभियान चलाएको छु, भिक्षु भन्नुहुन्छ, “पहिलोपटक आउँदा मेरो प्रवचन सुन्ने कोही हँुदैनथे, अहिले त उपासक उपासिका आउनुहुन्छ, थोेरै व्यक्तिलाई भए पनि बुद्धको शिक्षा बुझाउन पाउँदा खुशी छु ।”

लुम्बिनीलाई बुद्ध जन्मस्थल भनेर प्रचार गर्न अब जरुरी छैन बरु बुद्ध शिक्षाको प्रचार गरौँ–भिक्षु प्रज्ञाश्री भन्नुहुन्छ । म्यान्मारकै याङ्गुनबाट लुम्बिनी आउनुभएका भिक्षु चन्द्रश्रीलाई पनि लुम्बिनी अत्यन्तै मन पर्छ । याङगुनमा नेपाल गोर्खा विहार बनाएर त्यसैको संरक्षण गर्दै आउनुभएका भिक्षु चन्द्रश्री हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा ध्यान बस्ने, प्रार्थना गर्ने र विभिन्न विहारका आध्यात्मिक गतिविधिमा सहभागी हुने गर्नुहुन्छ । लुम्बिनी जस्तो पवित्र तीर्थस्थल संसारमा सायदै होला, उहाँको भनाइ छ ।

गौतमबुद्धले महापरिनिर्वाणको बेला आफ्नो जन्मस्थल लुम्बिनी एकपटक सबैले घुम्नु पर्ने पवित्र तीर्थस्थलका रुपमा व्याख्या गर्नुभएको थियो । जसका कारण आफूजस्ता लाखौँ भिक्षु वर्षेनी लुम्बिनी आउन आतुर रहेको उहाँको सन्देश छ ।

भिक्षुहरु मात्रै होइन म्यान्मारबाट सयौँ बौद्धमार्गी बुद्ध जन्मस्थल खोज्दै नेपाल आउने गरेका छन् । उनीहरु महीनौँसम्म लुम्बिनी बस्ने र बौद्ध दर्शनको प्रचारका गतिविधि गर्ने गर्दछन् । म्यान्मारको मोगोककै उपासिका राधिका तिवारी पनि हरेक वर्ष लुम्बिनी आउनुहुन्छ । विगत १५ दिनदेखि उहाँ लुम्बिनी नजिकै सुख शान्ति विहारमा आयोजित आध्यात्मिक कार्यक्रममा सहभागी भएर श्रद्धालुको सेवा गरिरहनुभएको छ । लुम्बिनीजस्तो पवित्रस्थलमा आएर बौद्ध अनुयायी तथा भिक्षुको सेवा गर्न पाउनु हाम्रा लागि ठूलो पूण्यको विषय हो, उहाँको भनाइ छ ।

लुम्बिनी क्षेत्रमा बौद्ध धर्मका गतिविधि सञ्चालन गर्ने, बौद्ध अनुयायीको सङ्ख्या अभिवृद्धि गर्ने र विहार तथा ध्यान केन्द्रको निर्माण गर्ने अभियानमा म्यान्मारका हजारौँ बौद्धमार्गी सहभागी छन् । विगत १५ दिनदेखि १५० भन्दा बढी अनुयायी लुम्बिनी क्षेत्रमा बसेर बौद्ध जागरण अभियान सञ्चालन गरिरहेका छन् । म्यान्मारमा सङ्कलन गरेको दान दौलत ल्याएर लुम्बिनी क्षेत्रका बौद्ध गतिविधिमा सदुपयोग गर्ने गरेको उनीहरुको भनाइ छ ।

वर्षेनी लुम्बिनी आउँदा नेपालप्रति उनीहरु दुईवटा गुनासो गर्न भने बिर्सिदैनन् । जुन कुराले उनीहरुलाई दुःख लाग्छ रे । एउटा हो, मन्दिरमा हुने पशुबलि रोक्न नसक्नु र अर्को बुद्धको देश भएर पनि नेपालमा अहिलेसम्म बुद्ध शासनका लागि आवाज उठाउन नसक्नु । रासस

प्रकाशित मिति : बुधबार, फाल्गुन १५ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij