राष्ट्रपति पौडेलको आग्रह : लोकतन्त्रको रक्षा निर्वाचनमै, दलहरूलाई फागुन २१ मा केन्द्रित हुन आह्वान

राष्ट्रपति पौडेलको आग्रह : लोकतन्त्रको रक्षा निर्वाचनमै, दलहरूलाई फागुन २१ मा केन्द्रित हुन आह्वान

काठमाडौँ —राष्ट्रपति रामचन्द्र पौडेलले देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन नै एक मात्र विकल्प भएको बताएका छन्। उनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा सबै दलहरू केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रपति पौडेलले शुक्रबार शीतल निवासमा अन्तरिम सरकारसहित राजनीतिक दलहरूको सर्वदलीय बैठक आह्वान गरी देशको राजनीतिक अवस्था र आगामी निर्वाचनबारे छलफल गरेका थिए। बैठकमा उनले शान्ति–सुरक्षाको उचित प्रबन्ध गरी निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने विश्वास नागरिकमा दिलाउन सरकारलाई सुझाव दिएका छन्।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, राष्ट्रपतिले लोकतन्त्रको संरक्षणका लागि सबै राजनीतिक शक्तिहरू मिलेर निर्वाचन सम्पन्न गराउनुपर्नेमा जोड दिएका थिए। उनले राजनीतिक दलहरूलाई कुनै भ्रम वा द्विविधा नराखी निर्वाचनतर्फ अघि बढ्न आह्वान गर्दै भने, “निर्वाचन बाहेक अन्य विकल्प खोज्न थालियो भने देशलाई अस्थिरतामा धकेलिने खतरा हुन्छ।”

राष्ट्रपतिले दलहरूलाई जनतामाझ स्पष्ट सन्देश दिन आग्रह गर्दै भने, “जेन–जी (Gen-Z) को मागहरू पनि हाम्रो समाजकै आवाज हुन्, उनीहरूको असन्तुष्टि बुझेर जिम्मेवार रूपमा सम्बोधन गर्नुपर्छ।”

बैठकमा सहभागी राजनीतिक दलका नेताहरूले लोकतन्त्रप्रति आस्था राख्ने दलहरू सधैँ निर्वाचनका पक्षमा रहेको बताए। तर, उनीहरूले अहिलेको सुरक्षा व्यवस्थाले निष्पक्ष र स्वतन्त्र वातावरणमा निर्वाचन हुने सुनिश्चितता नदिलाएको भन्दै शंका व्यक्त गरे। नेताहरूले सरकारले यो संशय हटाएर नागरिकलाई भयरहित वातावरणमा मतदान गर्ने विश्वास दिलाउनुपर्नेमा जोड दिए।

त्यस्तै, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूको सहभागिताबिना निर्वाचन सम्भव नहुने विषयमा सरकार स्पष्ट रहेको बताइन्। उनले भनिन्, “सरकार निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउन प्रतिबद्ध छ। जेन–जी हाम्रै सन्तान हुन्, उनीहरूको आवाजलाई सुनेर परिवर्तनलाई आत्मसात गर्दै अघि बढ्नुपर्छ।”

बैठकमा सहभागी सबै दलहरूले लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचन सफल बनाउन सहकार्य गर्ने आश्वासन दिएका छन्।

प्रकाशित मिति : शुक्रबार, असोज २४ २०८२

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij