काठमाण्डौ , शिक्षामन्त्री सस्मित पोखरेलले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताउनुभएको छ ।
हिजो मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा उहाँले एसइइ दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताउनुभयो ।
यसअघि मन्त्रालयले अस्ति आइतबार विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्नाका लागि सञ्चालन हुँदै आएका प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स पूर्ण रूपमा बन्द गर्ने निर्णय सहितको सूचना सार्वजनिक गरेको थियो ।
तर त्यस्ता कक्षा सञ्चालन गर्ने व्यवसायीहरूले विरोध जनाएपछि हिजो बिहान त्यो सूचना मन्त्रालयको वेबसाइटबाट हटाइएको छ । मन्त्रालयले हिजो बेलुकी फेरि अर्को सूचना सार्वजनिक गरेको थियो । सूचनामार्फत उच्च शिक्षाका विभिन्न तह लक्षित कार्यक्रम प्रचलित कानुनबमोजिम सञ्चालन नभएको भए बन्द गर्न निर्देशन दिइएको छ ।
विद्यालय तहका विभिन्न कक्षामा भर्ना लिन प्रवेश परीक्षा तयारी कक्षा एवं ब्रिजकोर्सका नाममा विभिन्न संस्थाले सञ्चालन गर्दै आएका त्यस्ता कार्यक्रम बन्द गराउन मन्त्रालयको निर्देशन छ ।
आउँदो वैशाख १ गतेदेखि पूर्णरुपमा बन्द गराउने निर्णयबमोजिम यस्तो निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले निर्धारित कानुनी मापदण्डअनुरुप त्यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी प्रचलित कानुबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध पनि गरेको छ ।
प्रकाशित मिति : मंगलबार, चैत्र १७ २०८२
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्