बुटवल,जाडो मौसममा ‘सिजनल अफेक्टिभ डिसअर्डर’को समस्या अर्थात् मौसमी डिप्रेसन देखिन्छ । तर, जाडो महिनाको सुरुवाती समयमा यो समस्या धेरैमा देखिने गरेको पाइन्छ ।
रिदम न्युरोसाइक्याट्री अस्पताल तथा रिसर्च सेन्टरका मानसिक रोग विशेषज्ञ डा. रितेश थापाका अनुसार यसलाई ‘विन्टर डिप्रेसन’ पनि भनिने गरिन्छ । दिन लामो हुने र घामको अभाव भइरहने हुँदा हुने यो समस्या बढी देखिएको र मौसम परिवर्तन भएसँगै यसको असर पनि घट्दै जान्छ र पुनः त्यही मौसममा डिप्रेसनको समस्या बल्झिन थाल्छ ।
जाडोयामको सुरुवातसँगै घामको अभावले अल्छीपना बढ्ने, मुड परिवर्तन हुने, निराशा बढ्ने, सुतिरहन मन लाग्ने, काममा एकाग्र हुन नसक्ने, काम गर्न मन नलाग्ने र सामान्य डिप्रेसनको लक्षण देखा पर्न थाल्छ । साथै नकारात्मक भावना आउने, केही नगर्दा पनि थकान महसूस हुने, कार्बोहाइड्रेटजन्य खानेकुरा खान मन लाग्ने र तौल बढ्दै जाने हुन्छ ।
सूर्यको किरणको अभाव हुनु डिप्रेसनको मुख्य कारण हुन जान्छ । कदमै थोरै प्रतिशतमा वंशानुगत कारणले पनि सिजनल अफेक्टिभ डिसअर्डर हुन सक्ने पाइएको छ । सेरोटोनिन र मेलाटोनिन हर्मोनको कमी र गडबडीका कारण सिजनल अफेक्टिभ डिसअर्डर हुने गर्छ । शरीरको हर्मोन परिवर्तनमा सामान्यतया सूर्यको किरणको भूमिका मुख्य हुन्छ ।
पुरुषको तुलनामा हर्मोनमा आइरहने परिवर्तनका कारण युवती र महिलाहरू चारगुणा बढी प्रभावित हुने अध्ययनले देखाएको छ । आफैँ ठीक हुँदै जाने हुनाले कतिपयलाई डिप्रेसन भएकोसमेत पत्तो हुँदैन । सिजनल डिसअर्डरको उपचारका लागि थोरै मानिस मात्र चिकित्सककहाँ आउने गरेको पाइएको छ ।
मानसिक समस्या भएका साथै चिसो र घाम कम आउने ठाउँमा बस्ने व्यक्तिहरूमा रोगको जोखिम उच्च रहन्छ । मौसम परिवर्तनसँगै यो रोग आफैँ निको हुन्छ । तर, अर्को वर्ष पनि त्यही समयमा डिप्रेसनको समस्या बल्झिने भएकाले समयमै उपचार गर्नु शारीरिक स्वास्थ्यका लागि समेत राम्रो हुने गर्छ ।
प्रकाशित मिति : सोमबार, मंसिर ९ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्