विराटनगरका उद्याेगीकाे घरमा प्रहरीको ५ घन्टे अपरेसनमा उपलब्धि शून्य, व्यवसायिक क्षेत्र आतङ्कित

विराटनगरका उद्याेगीकाे घरमा प्रहरीको ५ घन्टे अपरेसनमा उपलब्धि शून्य, व्यवसायिक क्षेत्र आतङ्कित

 

विराटनगर । विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाको निवास र कार्यालयमा सोमबार बिहान प्रहरीले सञ्चालन गरेको व्यापक खानतलासी अभियान कुनै उपलब्धिविना सकिएको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङको नेतृत्वमा बिहान करिब ४ बजेदेखि सुरु गरिएको अपरेसन साढे पाँच घण्टासम्म चलेको थियो। विराटनगर महानगरपालिका–७ स्थित मुन्दडाको निवास तथा कार्यालय क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सघन खानतलासी गरिएको भए पनि कुनै नगद, कागजात वा अन्य शंकास्पद सामग्री बरामद हुन नसकेको प्रहरीले जनाएको छ।

अपरेसनमा जिल्ला प्रहरी कार्यालय मोरङ, वडा प्रहरी कार्यालय विराटनगर तथा इलाका प्रहरी कार्यालय रानीबाट ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो। एक दर्जनभन्दा बढी प्रहरीका सवारीसाधन प्रयोग गरिएको उक्त अभियानको नेतृत्व मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले गरेका थिए। टोलीमा विभिन्न प्रहरी अधिकृतहरू समेत सहभागी रहेका थिए।

खानतलासीका क्रममा घर वरपरको क्षेत्रलाई सुरक्षा घेरामा राखिएको थियो। केही समयका लागि सर्वसाधारणको आवतजावत तथा सवारी सञ्चालनमा समेत रोक लगाइएको थियो। जिल्ला प्रशासन कार्यालय मोरङ र गोल्छा मोडतर्फ जाने सडकसमेत केहीबेर अवरुद्ध भएको थियो।

प्रहरी स्रोतका अनुसार मुन्दडाले अवैध रूपमा ठूलो परिमाणमा नगद संचित गरी राखेको भन्ने सूचनाका आधारमा खानतलासी गरिएको थियो। पछिल्लो समय उनको नाम अवैध हुण्डी कारोबारसँग जोडिएर चर्चामा आए पनि यसअघि औपचारिक अनुसन्धान भएको सार्वजनिक भएको थिएन।

उद्योग तथा व्यापार क्षेत्रका केही व्यक्तिहरूले चाँदी कारोबारसँग सम्बन्धित विषय पनि अनुसन्धानको दायरामा हुन सक्ने अनुमान गरेका थिए। यद्यपि, प्रहरीले त्यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन।

मोरङ प्रहरी प्रमुख एसपी कटवालले विशेष सूचनाका आधारमा छापा मारिएको तर कुनै सामग्री फेला नपरेपछि टोली फर्किएको बताए। उनका अनुसार प्रहरीलाई प्राप्त हुने सबै सूचना सही नहुन सक्ने भएकाले अनुसन्धानका क्रममा यस्ता अवस्था पनि देखिने गर्छन्।

घटनापछि विराटनगरको उद्योग तथा व्यापारिक क्षेत्र तरंगित भएको छ। प्रतिष्ठित उद्योगीको घरमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सञ्चालन गरिएको अभियान निष्कर्षविहीन बनेपछि सूचनाको विश्वसनीयता र अपरेसनको औचित्यमाथि समेत प्रश्न उठ्न थालेका छन्।

यसैबीच, मुन्दडा पछिल्लो समय विभिन्न राजनीतिक वृत्तसँग निकट रहेको चर्चा उद्योगी–व्यवसायी समुदायमा सुनिँदै आएको छ। यद्यपि, यस सम्बन्धमा कुनै आधिकारिक पुष्टि भएको छैन।

मुन्दडामाथि विगतमा कर छली, हुण्डी कारोबारलगायतका आरोपहरू सार्वजनिक बहसमा आउने गरे पनि ती आरोपहरूबारे सम्बन्धित निकायबाट ठोस निष्कर्ष सार्वजनिक भएको छैन।

प्रकाशित मिति : सोमबार, साउन १८ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij