चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक विस्तार तथा माटो कटानको काम गर्न आदेखि दैनिक विभिन्न समयमा सवारी आवागमनमा आंशिक रोक लगाइएकाे छ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार सूचना जारी गर्दै भदौ २२ गतेदेखि अर्को सूचना नभएसम्म तोकिएको कार्यतालिकाअनुसार सवारी साधन सञ्चालनमा रोक लगाइने जनाएको हो।
मुग्लिन–काठमाडौं सडकखण्डको कृष्णभीर क्षेत्रमा सडक मर्मतको काम जारी रहेको तथा उक्त स्थानमा नयाँ ट्र्याक खोलेर आवागमन सुचारु गर्न केही समय लाग्ने भएकाले अहिले उक्त सडकमा सवारी आवागमन बन्द छ। त्यसका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा पनि सवारी चाप कम भएको प्रशासनले जनाएको छ।
यही अवस्थाको सदुपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला परियोजनामा माटो कटानको काम अघि बढाउन लागिएको हो। न्यून संख्यामा सवारी साधन प्रभावित हुने गरी काम गर्न विभिन्न समयमा सडक बन्द र खुला गर्ने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सवारी बन्द हुने समय:
बिहान ६:०० देखि ८:०० बजेसम्म
बिहान ८:३० देखि १०:३० बजेसम्म
बिहान ११:०० देखि दिउँसो १:०० बजेसम्म
दिउँसो १:३० देखि ३:३० बजेसम्म
दिउँसो ४:०० देखि साँझ ६:०० बजेसम्म
यसबीच सवारी साधनलाई बिहान ८ देखि ८:३०, १०:३० देखि ११, दिउँसो १ देखि १:३० र ३:३० देखि ४ बजेसम्म सञ्चालन गर्न दिइनेछ। साँझ ६ बजेपछि भने नियमित रूपमा सवारी सञ्चालन हुने सूचनामा उल्लेख छ।
कृष्णभीर सडकखण्डको मर्मत सम्पन्न भई सवारी आवागमन पूर्ण रूपमा सुचारु नभएसम्म उक्त कार्यतालिका लागू हुने प्रशासनले जनाएको छ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यात्रु तथा सवारी चालकलाई तोकिएको समयतालिकालाई ध्यानमा राखेर यात्रा गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति : सोमबार, भाद्र २२ २०८३
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्