जनता टुडे /बुटवल
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले पार्टी भित्र अन्तरघात गर्नेलाई कारवाही हुनुपर्ने बताउनुभएको छ । उहाले अन्तरघातीलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दावी गर्नुभयो। नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल÷ह्वील चियर वितरण कार्यक्रमलाई शनिबार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिनुभयो । देउवाले पार्टी भित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दावी गर्नुभयो ।
हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेष गरी धरानमा कम्युनिष्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताउनुभयो । कास्की र दाङमा सहानुभुतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरु निर्वाचित भएको उहाको भनाइ थियो ।सरकारको मुख ताकेर मात्र नहुने भएकोले नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरले विपन्न नागरिकहरुलाई साईकल तथा ह्वील चियर वितरण गरेर रचनात्मक कामको सुरुवात गरेको भन्दै देउवाले प्रशंसा गर्नुभयो । कांग्रेस सिद्धार्थनगर समितिको कार्यले अन्य जिल्ला तथा नगरका समितिहरुलाई पनि रचनात्मक कार्य गर्ने प्रेरणा मिल्ने उहाको भनाइ थियो ।कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक तथा पूर्व रक्षामन्त्री बालकृष्ण खांणले जनताको हित अनुकूल काम गर्ने बताउनुभयो । यो एउटा परिवर्तनशिल पार्टी भएकाले मुलुकका जनता नै मुलुकका मालिक रहेको बताउनुभयो । उहाले वर्तमान सरकार हरेक ठाउमा फस्दै गएको भन्दै सिमा नाकाको विषयमा सरकार सम्म चुप बसेको बताउनुभयो
।त्यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले व्यक्ति बलियो र पार्टीलाई कमजोर बनाउन नपाइने बताउनुभयो । उहाले वर्तमान कम्युनिष्ट सरकार संविधानलाई कमजोर बनाउने कार्यमा लागेको आरोप लगाउनुभयो । रज्जाकले कम्युनिष्टहरु लोकतन्त्रवादी हुन नसक्ने दावी गर्नुभयो ।कांग्रेस क्षेत्र नम्बर ३ का सभापति मातृका प्रसाद यादवले पार्टी एकढिक्का नहुँदा सरकारको नेतृत्वले अन्य दलले गर्नु परेको बताउनुभयो । उहाले पार्टीको संगठनलाई अझ मजबुत बनाउनुपर्ने बताउनुभयो ।कांग्रेस सिद्धार्थनगरका सभापति दिलिप धितालले उपनिर्वाचनमा कांग्रेसले लालकिल्ला भत्काउन सफल भएको बताउनुभयो । पार्टीका सिद्धार्थनगर समिति सदस्य कोशिष खड्काले अबको दिनमा सबै मिलेर गए कांग्रेसलाई कुनै पनि शक्तिले पनि हराउन नसक्ने दावी गर्नुभयो ।कांग्रेस सिद्धार्थनगर समिति समिति कोषाध्यक्ष एवं कार्यक्रम संयोजक राजकुमार गुप्ताको स्वागत तथा सचिव सञ्जिव शर्मा रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिका अन्तर्गत विभिन्न वडाका विपन्न तथा अपांगता भएका व्यक्तिहरुलाई ४४ वटा साइकल तथा ५ वटा ह्वील चेयर वितरण गरिएको थियो । त्यस्तै कार्यक्रम सफल बनाउन सहयोग पु¥याएको भन्दै विभिन्न व्यक्तित्वहरुलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।
प्रकाशित मिति : शनिबार, मंसिर २१ २०७६
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्