यूएई– विश्वकर्मा समाज नेपाल यूएईको आयोजनामा दशैँ तथा तिहारको अवसरमा शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ। यूएईको बर दुबईस्थित SK7 होटलमा आयोजित कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूले विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।

विश्वकर्मा समाज नेपाल यूएईका केन्द्रीय अध्यक्ष दुर्गा सुनारले प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृति र परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभएको छ। उहाँले नेपाली चाडपर्वले विदेशमा रहेका नेपालीहरूलाई आफ्नो संस्कृति र पहिचानसँग जोड्ने अवसर प्रदान गर्ने उल्लेख गर्नुभयो। अध्यक्ष सुनारले कार्यक्रम सफल बनाउन सहभागी हुने नेपाली दाजुभाइ तथा दिदीबहिनी, कलाकार, सहयोगी र शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो। उहाँले आगामी दिनमा पनि नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धनसँगै नेपाली समुदायबीच सामाजिक एकता र सहकार्य बढाउने गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो।

नेपाली समुदायको साथ, सहयोग र सहभागितामा कार्यक्रम सम्पन्न भएको समाजका दुबई क्षेत्रीय कोषाध्यक्ष टीकाराम विक ‘अमित’ले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रमले यूएईमा रहेका नेपालीहरूलाई एकै ठाउँमा भेला भएर चाडपर्वको खुसी साटासाट गर्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रममा सहभागीहरूले एकअर्कालाई दशैँ तथा तिहारको शुभकामना आदानप्रदान गर्नुका साथै टीका–जमरा र नेपाली परिकारसहितको खानपिनमा सहभागिता जनाएका थिए।

यूएईमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्नुका साथै नेपाली कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार, प्रवासमा नेपाली संस्कृति र परम्पराको निरन्तरता कायम राख्नुका साथै समुदायबीच आपसी सद्भाव र एकता अभिवृद्धि गर्नु कार्यक्रमको प्रमुख उद्देश्य थियो।

विश्वकर्मा समाज नेपाल यूएईले नेपाली समुदायको सहभागितामा आयोजना गरेको यस कार्यक्रममार्फत दशैँ तथा तिहारको शुभकामना साटासाट गर्नुका साथै नेपाली मौलिक संस्कृति र परम्पराको प्रवर्द्धनमा जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्