तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

तिलोत्तमा मेलामा दर्शकको ध्यान खिचेको ‘विजयासार’को गिलास

 

रुपन्देहीको तिलोत्तमामा जारी औद्योगिक व्यापार मेलामा विभिन्न औद्योगिक उत्पादन, घरेलु सामग्री र नयाँ प्रविधिसँगै विजयासारको काठबाट बनेको गिलासले पनि दर्शकको ध्यान खिचेको छ । प्राकृतिक काठबाट तयार गरिएको यो गिलास स्वास्थ्यप्रतिको चासो राख्ने अवलोकनकर्ताका लागि आकर्षण बनेको छ ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित मंसिर ३ देखि सञ्चालित मेलामा गुल्मीकाे रेसुङ्गा नगरपालिकामा इना सप्लार्यसले उत्पादन गरेकाे विजयासारको गिलास प्रदर्शनी तथा बिक्रीका लागि राखिएको छ ।
मेलामा रहेका करिब ३२५ स्टलमध्ये यसले परम्परागत जडीबुटी र प्राकृतिक सामग्रीमा रुचि राख्ने दर्शकको ध्यान तानेको हो ।
विजयासार (प्टेराेकर्पस मार्सुपियम) लाई औषधीय गुण भएको वनस्पति मानिन्छ । आयुर्वेदमा यसको काठलाई विभिन्न स्वास्थ्य समस्यामा उपयोगी मानिँदै आएको छ । यही काठबाट बनाइएको गिलासमा पानी राखेर पिउने चलन पनि पछिल्लो समय बढ्दै गएको छ ।
आयुर्वेदिक मान्यताअनुसार विजयासारको प्रयोगले रगतमा चिनीको मात्रा नियन्त्रण, खराब कोलेस्ट्रोल घटाउन तथा पाचन प्रणाली सुधारमा सहयोग पुर्‍याउन सक्छ । त्यस्तै, यसमा पाइने एन्टिअक्सिडेन्ट तत्वले छालाको स्वास्थ्य र शरीरमा हुने सूजन कम गर्न सहयोग गर्ने उत्पादन कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार जोर्नी दुखाइ, बाथ तथा कलेजोको स्वास्थ्यमा पनि यसको उपयोगिता छ ।
प्राकृतिक काठबाट बनेको गिलास भएकाले यसको वातावरणमैत्री पक्षले समेत उपभोक्ताको ध्यान आकर्षित गरेको छ । प्लास्टिक तथा कृत्रिम सामग्रीको प्रयोग घटाउँदै प्राकृतिक वस्तुको प्रयोग गर्न चाहनेका लागि यो एउटा विकल्प हुनसक्छ ।
विजयासारको गिलास तथा अन्य सामग्री इना सप्लायर्सले उत्पादन गर्दै आएकाे मेला स्टलका प्रतिनिधी नारायण पाेखरेलले बताए ।
मेलामा व्यापारिक गतिविधिसँगै उद्यमशीलता, पर्यटन, संस्कृति र मनोरञ्जनलाई समेत जोडिएको मेला मुल आयाेजक समितिका संयाेजक, तिलाेत्तमा उद्याेग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले बताए । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती तथा पर्यटन ग्यालरी पनि दर्शकका आकर्षण बनेका छन् । आयोजकले मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

प्रकाशित मिति : शुक्रबार, मंसिर ११ २०८३

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij