कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा भन्सार छली

कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा भन्सार छली

बुटवल । पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छली गरेको आशंकामा दुईवटा ट्रक नियन्त्रणमा लिएको छ । भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ख ७३८३ नम्बरका यी दुई ट्रकमा एक/एक एक्साभेटर र एक/एकवटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए ।

भारतबाट आयात गरिएका यिनी मेसिनरी सामान भैरहवाबाट काठमाडौं जाँदैगर्दा गोप्य सूचनाका आधारमा नवलपरासीको दाउन्नेबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय बुटवल ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले बताए ।

पाण्डेका अनुसार ना.७ख ९३२८ र ना.५ख ७३८३ नम्बरका दुईवटा एक्साभेटरको प्राज्ञापन पत्र भए पनि दुईवटा ह्यामरको भने प्रज्ञापन पत्र छैन । ह्यामरको भ्याट बिल मात्रै काटिएको छ । एकचोटि भन्सार पास गरिएको सामानमा एउटाको पज्ञापन हुनु र अर्को सामानको प्रज्ञापन नहुनु आफैमा शंकास्पद विषय बनेको छ ।

स्रोतका अनुसार भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा उक्त ह्यामर भन्सार छली गरी ल्याइएको हो । एउटा ह्यामरको भन्सार मूल्य १७ लाख बढी छ । यसरी दुई ह्यामरको मूल्य ३४ लाख हुन आउँछ । ट्रकमा लोड गरिएका ह्यामर बतास ट्याक्टर प्रालि गौरीधारा काठमाडौंको भ्याट नम्बर ३०४००६८७७ बाट बैशाख २४ गतेको मितीमा काटिएको छ । सिरियल नम्बर नभएको र फोटोकपी गरिएकोे उक्त भ्याट बिल नक्कली समेत हुन सक्ने आशंका समेत उब्जिएको छ ।

भ्याट बिलमा एउटा ह्यामर कार्की रोड्स ढुंगा उद्योग प्रालि बनेपाका नाममा काटिएको छ भने अर्को ह्यामरको भ्याट बिल हङपाङ निर्माण सेवा प्रालि अत्तेरिया त्रिबेणीका नाममा काटिएको छ ।

बतास कम्पनीले ह्यामर १३ प्रतिशत भ्याटसहित २० लाखमा विक्री गरेको देखाएको छ । पूर्व/पश्चिमका दुईवटा कम्पनीका नाममा भ्याट बिल काटेर सामान काठमाडौतिर लैजानु भन्सार छली सँगै नक्कली भ्याट बिल प्रयोग गरिएको हुनसक्ने राजश्व कार्यालयले जनाएको छ ।

स्रोतका अनुसार खरिदार कम्पनी कार्की रोड्स ढुंगा उद्योग प्रालि र हङपाङ निर्माण सेवा प्रालिले बैशाख २४ गते नै बतास कम्पनीबाट एक÷एक ओटा ह्यामर खरिद गरेका थिए । तर विक्रेता कम्पनीले तिनै भ्याट बिललाई फोटोकपी गरी आइतबार भन्सार छलेर ल्याइएका ह्यामरको बिल भनी प्रयोग गरेका थिए । कम्पनीले उक्त ह्यार स्टक रहेकाले भ्याट बिल काटेर लान लागिएको दावी गरेको छ ।

भन्सार पास भएका दुईवटा एक्साभेटरको प्रज्ञापन पत्रमा हस्ताक्षर गर्ने भन्सार अधिकृतको नाम गोप्य राखिएको छ । एजेन्टकोतर्फबाट भने मधुप्रसाद पन्थीको हस्ताक्षर छ । एजेन्ट पन्थीले लामो समयदेखि बतास ट्याक्टर प्रालिको मालसामान भन्सार पास गराउँदै आएका छन् । उनले उक्त कम्पनीको भैरहवा क्षेत्रको व्यवस्थापन गर्ने कामसमेत गर्छन् । यसरी विना प्रज्ञापन पत्र सामान भन्सार पास गराउन एजेन्ट पन्थीलाई भैरहवाका मुक्तर अली पठानले सहयोगीको रूपमा सघाउँदै आएका छन् ।

पठानले बतास कम्पनीको सामान लोड/अनलोड र सम्बन्धित ठाउँमा पु¥याउन सहयोग समेत गर्दै आएका छन् । बतास कम्पनीका संचालक देवेन्द्र श्रेष्ठले भन्सारमा सेटिङ मिलाई एजेन्ट पन्थी र पठानमार्फत् काम गर्दै आएको स्रोतको भनाइ छ । एक कर्मचारीका अनुसार उनीहरूले यसरी लामो समयदेखि ह्यामरको भन्सार छली गर्दै आएका छन् ।

ह्यामर आयात प्रक्रियाबारे बुझ्दा संचालक श्रेष्ठ र भन्सार एजेन्ट पन्थी र उनका सहयोगी पठानबीचको कुरा बाँझिएको छ । श्रेष्ठले ह्यामर पुरानो खरिद गरेको, भन्सारले लिलामी निकालेर खरिद गरेको र स्टक भएकाले भ्याट बिल काटेर काठमाडौं ल्याउन लागेको प्रत्येक पटक फरक–फरक प्रतिक्रिया दिए । एजेन्ट पन्थीले भने पहिला नै आयात भएको भन्दै स्टक भएको दावी गरे । भैरहवा भन्सार कार्यालयले भने ह्यामरको लिलामी ननिकालेको बताएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २ २०७५

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij