बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ । नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमुलक, मितव्ययी, छिटो-छरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए ।
नगरकार्यपालिकाको २२ औं बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । निर्देशिकामा कार्यक्रम तोकिएको समयमैं सुरु गर्नुपर्ने, वक्ताहरुले सम्बन्धित विषयमा बुँदागत रुपमा मन्तव्य राख्नुपर्ने, उद्घोषकले आफ्नो मन्तव्य नराखी कार्यक्रम मात्र सञ्चालन गर्नुपर्ने, एउटा वक्ताले गरेको कुरा अर्को वक्ताले दोहोर्याउन नहुने उल्लेख गरिएको छ ।
मञ्चमा अध्यक्ष, प्रमुख अतिथि र वक्ता अतिथिहरुलाई मात्र स्थान दिनुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीय स्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
साधारणसभा, अधिवेशनलगायतका संस्थाको आन्तरिक विषयमा बढी केन्द्रित हुनुपर्ने कार्यक्रमका उद्घाटन सत्रहरु बढीमा डेढ घण्टामा सक्नुपर्ने, विद्यालयहरुले अतिथिहरुको स्वागत तथा सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ ।
‘सार्वजनिक महत्वका सबै प्रकारका कार्यक्रम, बैठक, सभा, समारोह, उत्सवलाई समयमा नै सम्पन्न गरी अन्य कार्यमा प्रतिकुल प्रभाव पर्न नदिने व्यवस्था मिलाउन र बैठक तथा कार्यक्रम विषयबस्तुमा केन्द्रीत भई छलफल तथा निर्णयमा पुग्न सक्ने व्यवस्थ्ाा गर्न निर्देशिका जारी गर्नुपरेको हो’- नगरपालिकाले भनेको छ ।
निर्देशिकाको पालना नगरपालिका र यसअन्तर्गत्का सम्पूर्ण कार्यालय, सरकारी,सामुदायिक, गैरसरकारी सबै निकाय, संघ-संस्था, क्लव, सहकारी, वन, शिक्षण संस्था, टोल विकास संस्थालगायतले गर्ने नगरपालिकाले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०७५
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्